कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मनाङलाई पेनाल्टीको साथ

काठमाडौँ — अन्जन विष्टको पेनाल्टी गोलको सहयोगमा मनाङ मस्र्याङदीले जावलाखेल युथमाथि १–० को जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार शतप्रतिशत जित कायमै राखेको छ ।

मनाङलाई पेनाल्टीको साथ

मनाङको चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारले पनि लिगको छैटौं चरणमा सरस्वतीमाथि २–१ को कठिन जित निकाल्यो ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अन्जनले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङलाई ३ अंक दिलाएका थिए । हल्चोक मैदानमा भिक्टर एमोबीको गोलसँगै चौथो मिनेटमै सरस्वतीले अविश्वसनीय अग्रता लिएको थियो ।


तर, रन्जित धिमाल र नीराजन खड्काले गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए । सातदोबाटोमा भएको अर्को खेलमा च्यासल युथले हिमालयन शेर्पामाथि २–१ को सफलता हात पार्‍यो । च्यासलको यो लिगमा दोस्रो जित हो भने हिमालयन शेर्पाले लगातार दोस्रो हार बेहोरेको हो ।


कीर्तिमान सातपल्टको च्याम्पियन मनाङ अधिकतम १८ अंकसहित शीर्षस्थानमा छ । उसले थ्रीस्टार र संकटामाथि ३ अंकको अग्रता लिएको छ । आर्मीले बिहीबार फ्रेन्ड्समाथि जित हात पार्न सके उसले मनाङसँगको दूरी २ अंकमा छोटयाउने छ ।


रेलिगेसन नहुने लिगमा १४ टिम सहभागी छन् । यसमा जावलाखेल ११ औं स्थानमा छ । सरस्वती ६ अंकसहित नवौंमा छ भने च्यासल ७ अंक बनाएर सातौं स्थानमा उक्लियो । हिमालयन शेर्पा १० अंकसहित छैटौंमा छ ।


मनाङले आक्रामक खेल पस्किएको थियो र त्यसमा जावलाखेलका गोलकिपर टकेन्द्र थापाले केही उत्कृष्ट बचाउ गर्दै उसलाई निरास पारिदिएका थिए । सातौं मिनेटमै फ्रि–किकमा विशाल राईले प्रहार बल टकेन्द्रले रोकेका थिए र त्यस रिबाउन्डमा अन्जनले प्रहार गरेको बललाई पनि उनले असफल बनाइदिए ।


उनले एडेलाजा सोमिडेको प्रयास पनि असफल पारे । कप्तान विराज महर्जन निलम्बनमा रहेको अवस्थामा ‘आर्मब्यान्ड’ लगाएका विशाल राईको सटिक पासमा हेमन गुरुङले गरेको प्रहारमा पनि टकेन्द्र बाधक बनिदिए ।


‘हामीले उच्च दबाब दिएर १५–२० मिनेटभित्रै गोल गर्ने योजना बनाएका थियौं । तर, यसले काम गरेन,’ मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘मिडफिल्डबाट फरवार्डलाई बल दिएको साथ राम्रो रहेन । यस्तो प्रदर्शन गरेर टिमले उपाधि जित्न सक्दैन ।’


जावलाखेलका प्रशिक्षक राजकुमार केसीले डिफेन्सले धैर्य गुमाउँदा पराजित हुनुपरेको बताए । ‘रक्षात्मक खेल्दै काउन्टरमा गोल गर्ने हाम्रो रणनीति थियो तर यसमा खेलाडीको फिटनेस स्तर कमजोर देखियो,’ उनले भने ।


अर्को खेलमा हिमालयन शेर्पालाई १५ औं मिनेटमै त्रिदेव गुरुङले अग्रता दिलाए । तर सन्तोष साहुखलले उत्कृष्ट रूपमा दुई डिफेन्स र गोलकिपर किशोर गिरीलाई उछिन्दै गोल गरेपछि च्यासल बराबरीको अवस्थामा पुगेको थियो । सब्स्टिच्युट सुनील खड्काको प्रहार क्लियर गर्ने क्रममा शेर्पाका निरज बस्नेतले आत्मघाती गोल गरेका थिए । ७३ औं मिनेटमा भएको उक्त गोलसँगै च्यासलको जित सुनिश्चित बन्यो ।


लिगमा दोस्रो पहेँलो कार्ड बेहोरेपछि साहुखलले सातौं चरणमा फ्रेन्डसविरुद्ध हुने खेल गुमाउने छन् ।

हल्चोकमा भिक्टर एमोबीले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै सरस्वतीलाई चौथो मिनेटमै अग्रता दिलाएका थिए । तर, डिफेन्डर रन्जित धिमालले १७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै थ्रीस्टारलाई १–१ मा पुर्‍याए । त्यसपछि नीराजनले ३६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

प्रकाशित : मंसिर २०, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?