३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाल इन्टरनेसनल सिरिज : सकियो नेपालको आस

काठमाडौँ — तेस्रो नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको पदक आशा सकिएको छ । बिहीबार भएको स्पर्धामा सबै नेपाली खेलाडी क्वाटरफाइनलभन्दा माथि जान सकेनन् ।

नेपाल इन्टरनेसनल सिरिज : सकियो नेपालको आस

मेन्स सिंगल्समा नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ भारतका कौशल धर्मामरसँग ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित भए । कौशलविरुद्ध रत्नजितले पहिलो सेट २१–१४ ले गुमाए । दोस्रो सेटमा २२–२४ ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेट २१–११ ले गुमाउँदै उनी क्वाटरफाइनलबाटै बाहिरिए ।


उनी पहिलो संस्करणमा पनि क्वाटरफाइनलमा पराजित भएका थिए । यस स्पर्धामा मलेसियाका तेक जी सो, भियतनामका काओ कुओन फाम र थाइल्यान्डका कुन्लाभुत भितिसर्न पनि आफ्नो खेल जितेर सेमिफाइनल पुगेका छन् ।


मेन्स डबल्समा रत्नजित र दीपेश धामीको जोडीले थाइल्यान्डका वारित सारापात र पनाचाई वरासाक्तायानानको जोडीसँग २१–१९, १६–२१, २१–१४ को सेटमा खेल गुमाएको थियो । भारतका भी हनुमाइया रंगनाथ र ए सूर्य तथा हेमान्थ गोबडा र मधुसुदन माधप्पाको जोडी सेमिफाइनल पुगेका छन् । थाइल्यान्डकै सुपाक जोम्को र वाचिरावित सोथानेले भारतीय खेलाडीलाई हराउँदै अन्तिम चारमा स्थान बनाए ।


वुमन्स सिंगल्समा इरानकी सोराया अघाइहाजियाघले बंगलादेशकी अख्तर साप्लालाई २–० को सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइन् । मलेसियाकी थेट चार हुजारले श्रीलंकाकी काभिदी सिरिमानाङे, भारतकी राशी त्यागीले आफ्नै देशकी दुर्भा गुप्ता र थाइल्यान्डकी चनान्चिदा जुचारोनले फ्रान्सकी डिनुक भिग्नेस वारानलाई २–० को सोझो सेटमा हराएर सेमिफाइनल पक्का गरे ।


वुमन्स डबल्सतर्फ जेशिका गुरुङ र सुनैना मुखियाको नेपाली जोडी माल्दिभ्सका अमिनाथ नबिहा अब्दुल रज्जाक र फतिमाथ नबिहा अब्दुल रज्जाकको जोडीसँग २१–१२, २१–११ को सेटमा पराजित भएको छ ।


यस स्पर्धामा भारतका अपर्णा बलान र श्रुथी केपीको जोडी, श्रीलंकाका थिलिनी प्रामोदिका हेन्दाहेवा र काभिदी सिरिमानाङे तथा इरानकी सोराया अघाइहाजियाघ र म्यानकारकी थेट टर हुजारको जोडी सेमिफाइनल पुगेका छन् । सोराया र थेटको जोडी नेपालका अमिता गिरी र रशिला महर्जनबाट वाकओभर पाएको थियो ।


मिक्स्ड डबल्समा नेपालका तीनै जोडी क्वार्टरफाइनलमै पराजित भए । दीपेश धामी र शोभा गौचनको जोडी सिंगापुरका ड्यानी बाबा क्रिस्नाता र टान वेई हानको जोडीसँग २१–११, २१–१० को सेटमा पराजित भयो ।


विजित थापामगर र पूजा श्रेष्ठको जोडी थाइल्यान्डका पानाचाई वरासाक्तायानान र पिचायानिन युङकाको जोडीसँग २४–२२, २१–१४ को सेटमा पराजित हुँदा विकास श्रेष्ठ र सीता राईको जोडीले भारतका राजु मोहम्मद रेहान र जे अनिश कोसारको जोडीसँग २१–१६, २१–८ को सेटमा खेल गुमाएको थियो ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?