कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एभरेस्ट प्रिमियर लिग : विदेशी खेलाडीमा सबैको भर

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदै छ । घरेलु क्रिकेटको ठूलो प्रतियोगिताका लागि सबै फ्रेन्चाइजी टोली तयार छन् ।

एभरेस्ट प्रिमियर लिग : विदेशी खेलाडीमा सबैको भर

आयोजक ईपीएल प्रालिले पनि तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यद्यपि पुरस्कार रकम अहिलेसम्म घोषणा गरिएको छैन ।

धेरैको ध्यान विदेशी खेलाडीले तानेका छन् । मुख्यत: भारत, हङकङ र यूएईका खेलाडीहरू आउने गरेको नेपाली क्रिकेट लिगमा यो संस्करणका लागि टोलीहरूले दक्षिण अफ्रिकी, आइरिस, डच र इंग्लिस खेलाडीहरू अनुबन्धित गरेका छन् । आईपीएल क्रिकेट खेलेकादेखि काउन्टी खेलिरहेका क्रिकेटरहरू नेपाल ल्याउन फ्रेन्चाइज टोली सफल भएका छन् । बिहीबार ईपीएलको ट्रफी सार्वजनिक गरिएको छ ।

अघिल्लो संस्करणमा भन्दा ईपीएलको ट्रफी केही ठूलो बनेको छ । सहभागी सबै टोलीका कप्तानको उपस्थितिमा ईपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तर र साबिक विजेता विराटनगर वारियर्सका मालिक विशाल अग्रवालले ट्रफी सार्वजनिक गरे ।

सहभागी सबै टोलीका कप्तानले ट्रफीमा आ–आफ्नो दाबी पनि पेश गरेका छन् । सबै नेपाली कप्तानको एक मत के छ भने ईपीएल अघिल्लो संस्करणको तुलनामा बढी रोचक बन्नेछ । स्तरीय विदेशी खेलाडी, मैदान, चियरलिडर्सको रौनक, सम्भवत: पुरस्कार रकमको हिसाबमा पनि यसपालिको ईपीएल फरक रहने उनीहरूको बुझाइ छ ।


के भन्छन् टोलीका कप्तान ?

पारस खड्का, विराटनगर वारियर्स

पहिलो संस्करणको उपाधि जितेकाले हामी यसपालि अझै उत्साही छौं । अघिल्लो वर्षभन्दा ईपीएल अझै परिस्कृत भएको छ । ट्रफीको साइज पनि बढेको छ । सम्भवत: पुरस्कार रकम पनि उल्लेख्य बढ्नेछ । स्तरीय विदेशी खेलाडीको आगमनले पनि यसपालि ईपीएल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । सबै टोली बराबरी स्तरका छन् ।


शरद भेषावकर, भैरहवा ग्ल्याडियटर्स

राम्रा विदेशी खेलाडीहरू आएका छन् । ठूला नामबाट हामी उत्साही छौं । प्रतिस्पर्धा पनि अघिल्लो संस्करणभन्दा बढ्ने अनुमान गरेको छु । पहिलो संस्करणको फाइनलमा चुकेका थियौं । अहिले तयारी राम्रो भएको छ । टिम सन्तुलित छ । आईपीएल खेलिसकेका खेलाडी छन् । त्यसैले प्रतियोगिता राम्रो हुने अपेक्षा छ ।


कायल कोएट्जर, पोखरा राइनोज

म केही अगाडि मात्रै टिमसँग मिसिएँ । तयारी राम्रो भएको छ । मैदान उत्कृष्ट देखिएको छ । नेपाली फ्रेन्चाइजी लिगमा आएर खेल्न पाउनु र यो जिम्मेवारी पाउनुमा मैले आफूलाई धन्य मानेको छु । हामीहरू केही दिनदेखि टिममा घुलमिल भइरहेका छौं । नेपालका प्रशंसकबारे धेरै सुनेका छौं । उनीहरूको अगाडि खेल्न प्रतीक्षारत छु ।


ज्ञानेन्द्र मल्ल, ललितपुर प्याट्रियट्स

हामीले अघिल्लो वर्ष पनि उपाधि लक्ष्य लिएका थियौं । तर, त्यसो हुन सकेन । यसपल्ट भने लक्ष्य पूरा गर्ने तयारीमा छौं । स्तरीय विदेशी खेलाडी र अन्य धेरै कारणले यसपालिको ईपीएल उत्कृष्ट हुनेछ । यद्यपि क्रिकेटरले खेलेरै नाम कमाउने हो । मेरो टिममा चाहिँ ठूला नाम नहोलान् तर ठूलो काम गर्न सक्षम खेलाडी छन् । उनीहरूप्रति हाम्रो पूर्ण विश्वास छ ।


पृथु बाँस्कोटा, चितवन टाइगर्स

विभिन्न कारणले अघिल्लो संस्करण राम्रो हुन सकेन । अहिले पनि युवा खेलाडीको बाहुल्य छ । हामीसँग काउन्टी क्रिकेटमा मिडिलसेक्सबाट खेलेका खेलाडी छन् । अर्का अनुभवी पाउल स्टर्लिङले पनि हाम्रो टिम अझै बलियो बनेको छ । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका नेपाली युवा खेलाडी छन् । टिम सन्तुलित बनेको छ । यति हुँदाहुँदै पनि प्रतियोगितामा हरेक खेलमा जसले राम्रो खेल्छ उसैले जित्ने हो ।


सोमपाल कामी, काठमाडौं किंग्स–११

यसपल्ट टिममा युवा खेलाडी धेरै छन् । हामीले अघिल्लो संस्करणमा कस्तो गर्‍यौं भनेर सोचेका छैनौं । भविष्यमा कसरी अघि बढ्ने भनेर योजना बनाइरहेका छौं । तयारी राम्रो भएको छ । सबैले शतप्रतिशत योगदान दिएमा पक्कै पनि हामीले राम्रो गर्नेछौं ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?