कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एनपीएलदेखि ईपीएलसम्म

कर्पोरेट स्वरुपमा ईपीएल आयो । प्रतिस्पर्धा गर्ने त्यही ६ टोली थिए । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गरेर उपाधि जित्यो । त्यसको अर्को संस्करण ईपीएल सिटी अवधारणामा गयो । फ्रेन्चाइज टिमहरू सहरको नाममा आए ।
विनोद पाण्डे

काठमाडौँ — विश्व ट्वान्टी–२० खेलेर आएपछि धेरैको ध्यान नेपाली खेलाडीप्रति तानिएको थियो । नहोस् पनि कसरी, नेपालले पहिलोपल्ट विश्वकप जस्तो प्रतियोगितामा प्रतिस्पर्धा गर्दा उत्कृष्ट नतिजा निकालेको थियो ।

एनपीएलदेखि ईपीएलसम्म

सन् २०१४ को त्यो क्षण कसले बिर्सन सक्ला, जहाँ नेपालले हङकङ र अफगानिस्तानमाथि जित हात पारेको थियो । रनरेटमा मात्र बंगलादेशभन्दा पछाडि रहँदा नेपाल दोस्रो चरण पुग्न पाएन ।


विश्व ट्वान्टी–२० नेपाली क्रिकेटको कोसेढुंगा थियो । नेपाल विश्वकप खेलेर एउटा उचाइमा पुगे पनि घरेलु क्रिकेट जस्ताको तस्तै रहयो । वर्षमा एउटा प्रतियोगिता, त्यसमा पनि खेलाडीले खेलेर व्यक्तिगत रूपमा खासै केही नपाउने ।


यही पृष्ठभूमिमा झन्डै दुई दर्जन खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्दै नेपाली क्रिकेटको सर्वोच्च निकायमा थिति हुनुपर्ने माग गरे । विश्वकप खेलेर आए पनि आफूहरूले १० महिनादेखि तलब नपाएको खेलाडीहरू आफैंले खुलासा गरे ।


खेलाडी र संघबीचको फाटो बढ्दै गयो । विगतमा पनि दोहोरो सम्बन्ध खासै थिएन । खेलाडीले धम्क्याएपछि क्यान राष्ट्रिय खेलाडीबिनै पोखरामा राष्ट्रिय प्रतियोगिता गर्न तयार भयो । खेलाडी आफ्नो अडानमा अडिग रहे । उनीहरूले राष्ट्रिय प्रतियोगिता नै खेलेनन् । संघले राष्ट्रिय प्रतियोगिता जे जस्तो स्थितिमा आयोजना गरेरै छाड्यो ।


यहीक्रममा जोहरा स्पोर्टसले एनसेललाई प्रमुख प्रायोजक बनाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) लिएर आयो । एनपीएललाई क्यानले आड दिएको थियो । तर एसियाली क्रिकेट परिषद् (एसीसी) ले यसको वैधानिकतामा प्रश्न उठायो । निजी क्षेत्रले देशको नाममा प्रिमियर लिग गर्न नपाउने जनायो । जोहराले धनगढीमा एनपीएलको ट्वान्टी–२० तथा विराटनगर र राजविराजमा फ्रेन्चाइज वान–डे गर्ने जनाएको थियो ।


एसीसीको चेतावनीपछि क्यानले एनपीएलबाट हात झिक्यो । तर प्रतियोगिता सुरु हुने अघिल्लो दिन एनपीएलका कारण क्यानमा दुई चिरा परिसकेको थियो । अध्यक्ष टंक आङबुहाङको समूह एनपीएल सम्पन्न गर्न लागेका थिए । उपाध्यक्षहरू टीबी शाह, चतुरबहादुर चन्द, नरेशकुमार श्रेष्ठ, महासचिव अशोकनाथ प्याकुर्‍याललगायत एनपीएलबाट हात झिकेर आङबुहाङमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने स्थितिमा पुगेका थिए ।


अहिले चर्चामा रहेको धनगढीको फाप्ला मैदानलाई डोजरले सम्याएर एनपीएल आयोजना गरिएको थियो । एनपीएलका केही खेल कञ्चनपुरको महेन्द्रनगरमा पनि भए । खेलाडीको पारिश्रमिक आकर्षणको केन्द्रविन्दु थियो । ६ फ्रेन्चाइज टोलीका कप्तानलाई प्रतिखेल ५ हजार रुपैयाँ दिइएको थियो ।


राष्ट्रिय खेलाडी, नेपाली यू–१९ का खेलाडी र स्थानीय खेलाडीलाई त्योभन्दा मुनिको रकम दिइएको थियो । सबैभन्दा कम स्थानीय खेलाडीले प्रतिहजार १ हजार रुपैयाँ पाएका थिए । शरद भेषावकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले शक्ति गौचनको नेतृत्वमा रहेको जगदम्बा राइनोजलाई पराजित गरी ट्वान्टी–२० को एनपीएल जितेको थियो ।


प्रतियोगिताको अन्य टोलीमा विशाल वारियर्स, कान्तिपुर गोर्खाज, सगरमाथा लिजेन्ड्स, कलर्स एक्स फ्याक्टर्स थिए । पञ्चकन्याका भुवन कार्की म्यान अफ द सिरिजमा चुनिए । उनले १४ विकेट लिएका थिए ।


कान्तिपुरका प्रदीप ऐरीले सर्वाधिक २ सय १२ रन बनाए । घोषणा गरिएको एनपीएलको वान–डे प्रतियोगिता भने भएन । एसीसीको चेतावनीले पनि एनपीएलको अस्तित्वलाई अप्ठयारो पारिसकेको थियो । एसीसीले क्यानलाई पठाएको पत्रअनुसार एनपीएलकै नाममै अर्को प्रतियोगिता भएमा त्यसमा राष्ट्रिय खेलाडीको उपस्थिति नहुन सक्थ्यो ।


अन्तत: आमिर अख्तरको स्वामित्वमा रहेको जोहरा स्पोर्टस र एनपीएल दुवै अस्तित्वमा रहेनन् । उनले नै त्यसको विकल्पमा एभरेस्ट प्रिमियर लिग प्रालि बनाउँदै एभरेस्ट प्रिमियर लिग (ईपीएल) ल्याए । यसले उनलाई एसीसीको चेतावनी झेल्नु पर्दैनथ्यो । देशको नाममा नभएको लिगलाई त्यतिखेरको स्थितिमा सम्बन्धित देशको बोर्डले स्विकृति दिए पुग्थ्यो ।


कर्पोरेट स्वरुपमा ईपीएल आयो । एनसेलबाट वाइवाइ प्रमुख प्रायोजक बनेको थियो । प्रतिस्पर्धा गर्ने त्यही ६ टोली थिए । विजेता पनि उही थियो । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गरेर उपाधि जित्यो । सोमपाल कामी म्यान अफ द सिरिजमा चुनिएका थिए ।


त्यसको अर्को संस्करण अर्थात गत वर्ष ईपीएल सिटी अवधारणामा गयो । फ्रेन्चाइज टिमहरू सहरको नाममा भए । विदेशी खेलाडी यहींबाट आउन सुरु भए । अघिल्ला दुई प्रतियोगिताबाट पञ्चकन्या तेज र कान्तिपुर गोर्खाज हटेको थियो । विराटनगर किंग्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स ईपीएलमा सहभागी टोली थिए ।


पारस खड्काको कप्तानीमा रहेको विराटनगरले शरदको कप्तानीमा रहेको भैरहवालाई १ रनले पराजित गरी ईपीएल जितेको थियो । विशाल ग्रुपको स्वामित्वमा रहेको विराटनगरका लागि हङकङका खेलाडी बाबर हायत म्यान अफ द सिरिजमा चुनिएका थिए ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?