२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

ट्वान्टी–२० ले ल्याएको सम्भावना

नयाँ संस्करण थपियो ट्वान्टी–२० । क्रिकेटको यो कान्छो स्वरूप हो । यसले क्रिकेटलाई फेरि जीवन्त पारेको छ । क्रिकेटका तीन स्वरूपमध्ये सबैभन्दा लोकप्रिय यही साबित भएको छ । तुरुन्तै नतिजा अनि उत्तिकै सनसनीपूर्ण र रोमाञ्चक खेल ।

काठमाडौँ — क्रिकेटको पूरा इतिहास नै पल्टाउने हो भने पछिल्लो एक दशकमा जति परिवर्तन भएको छ । त्यो यसअघि कहिल्यै पनि भएको छैन । माथिल्लो दर्जाको क्रिकेट भनेपछि धेरै लामो समय टेस्ट क्रिकेटमात्रै थियो ।

ट्वान्टी–२० ले ल्याएको सम्भावना

सन् ७० दशक अगाडि पछाडि एउटा नयाँ संस्करण थपियो, वान–डेका रूपमा । त्यति बेला तर्क गरिएको थियो, क्रिकेट खेललाई नै बचाउने हो भने एकै दिनमा नतिजा आउने खेल त चाहियो । यसपछि मात्र यो खेलमा दर्शक झुम्मिने छन् ।


क्रिकेटको पारम्परिक मान्यताका समर्थकले सुरुमा त वान–डे क्रिकेटको अस्तित्वसमेत मान्न तयार भएनन् । उनीहरूको दाबी थियो, यो त क्रिकेटको वास्तविक रूप नै भएन । तिनै पारम्परिक सोच राख्नेले अहिलेको ट्वान्टी–२० बारे त्यही बेला त झन् के भन्दा हुन् ? यो त अनुमानमात्र गर्न सकिन्छ । वान–डे क्रिकेट विस्तारै लोकप्रिय हुन थाल्यो र यसले दर्शकलाई पनि उत्तिकै लोभ्यायो । तर यस्तो समय आउन थाल्यो, जति बेला वान–डे क्रिकेटमै दर्शक आउन छाडे ।


आखिरमा कोसँग मात्र पूरा दिन खेल हेर्ने समय हुन्छ र ? पाँच दिनको कुरै छाडौं । यस्तो क्रिकेटको फेरि नयाँ संस्करण थपियो, ट्वान्टी–२० का रूपमा । क्रिकेटको यो कान्छो स्वरूप हो, यसले यो खेललाई फेरि जीवन्त पारेको छ । क्रिकेटका तीन स्वरूपमध्ये सबैभन्दा लोकप्रिय यही साबित भएको छ । लगभग तीन घण्टाभन्दा बढी केही समय, तुरुन्तै नतिजा अनि यसबीचमा उत्तिकै सनसनीपूर्ण र रोमाञ्चक खेल । आमदर्शकले चाहने त यही न हो ।


सुरुका दिनमा यसका आलोचकले के सम्म भन्ने गरेका थिए भने क्रिकेटको यो नयाँ स्वरूपमा खेलाडी प्राविधिक रूपमा कमजोर हुन्छन् ।


ट्वान्टी–२० क्रिकेटले खेलाडीको बानी बिगार्छ, चाहे त्यो ब्याट्सम्यान होस् वा बलर । तर होइन, यो आलोचना पनि टिक्न सकेन । बरु भइदियो के भन्दा ट्वान्टी–२० क्रिकेटका कारण यसको सकारात्मक प्रभाव टेस्ट क्रिकेटमा समेत पर्न थाल्यो । हुँदा–हुँदा अब वान–डे क्रिकेटकै भविष्य अन्योल भइसकेको छ ।

अचेल नेपालमा पनि सबैभन्दा बढी लोकप्रिय संस्करण कुनै छ भने त्यो ट्वान्टी–२० भएको छ । यसले लोकप्रियता मात्र कमाएको छैन, समग्र नेपाली क्रिकेटलाई नै जीवन्त र गतिशील राखेको छ । एउटा तथ्य कल्पना नै गर्न सकिन्न, ट्वान्टी–२० क्रिकेट नहुँदो हो त अहिले नेपाली क्रिकेट कहाँ हुन्थ्यो होला । यो संस्करणको क्रिकेट छ र त नेपाली क्रिकेट पनि छ भनेर देखाउन सकिन्छ । त्यति मात्र होइन, ट्वान्टी–२० क्रिकेटले नेपालका लागि धेरै सम्भावनाको ढोका खोलिदिएको छ ।


ट्वान्टी–२० क्रिकेटका तीन ठूला प्रतियोगिता आजभोलि नेपालमा हुन थालेका छन् । सुरुमा धनगढी प्रिमियर लिग (डीपीएल) भएको थियो । पछि त्यसमा जोडियो एभरेस्ट प्रिमियर लिग (ईपीएल) । अहिले त्यसमा पनि थपिएको छ पोखरा प्रिमियर लिग (ईपीएल) ।


ट्वान्टी–२० क्रिकेटको माथिल्लो स्वरूप नेपालमा धनगढीबाट सुरु भएर काठमाडौं हुँदै पोखरासम्म पुगिसकेको छ । यी तीन प्रतियागिता र यसका आजोजकलाई जस दिनैपर्छ, नेपाली क्रिकेटलाई जीवन्त राखेकामा ।


सबैलाई थाहा भएकै तथ्य हो, नेपाल क्रिकेट संघ (क्यान) अहिले अस्तित्वमा छैन । लामै समय भयो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसलाई निलम्बनमा राखेको । यस्तोमा क्यानले औपचारिक रूपमा कुनै प्रतियोगिता नगरेको पनि लामै समय भइसकेको छ ।


यस्तो स्थितिमा नेपाली क्रिकेट त ठ्याक्कै शून्यमा झर्नुपर्ने थियो । तर ठीक विपरीत अहिले नेपाली क्रिकेट अझ बढी सक्रिय छ । यत्तिको सक्रियता यसअघि कहिल्यै देखिएको थियो र ?


यी तीनै प्रतियोगिताका कारण नेपाली क्रिकेटले धेरै सकारात्मक पक्ष देख्ने अवसर पाएको छ । सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आईपीएल) देखि अरु विदेशी व्यावसायिक लिगको यात्रा सबैभन्दा उल्लेखनीय पक्ष हो । अरु नेपाली खेलाडीले पनि राम्रै कमाइमा क्रिकेट खेल्न पाएका छन् । अनि उत्तिकै स्तरीय विदेशी खेलाडीले पनि नेपालमा खेल्न थालेका छन् । यसले कसैलाई सबैभन्दा बढी फाइदा भएको छ भने त्यो नेपाली क्रिकेट नै हो, नेपाली खेलाडीलाई नै हो ।


यसको लोकप्रियताले नै हो निजी व्यावसायिक संस्थाहरू यसतर्फ आकर्षित भएको । नेपालका जति पनि ठूला कर्पाेरेट हाउस छन्, तीमध्ये धेरै कुनै न कुनै रूपमा यी तीन प्रतियोगितासँग जोडिएका छन् । नेपालजस्तो देशका लागि वास्तवमै ट्वान्टी–२० क्रिकेट संजीवनी साबित भएको छ । नेपाली क्रिकेटले अब कस्तो स्वरूप लिन्छ, त्यो धेरै हदसम्म क्यानको पुनर्जीवनमा पनि भरपर्छ । यहाँनिर डीपीएल, ईपीएल र पीपीएलको योगदान बिर्सनुहुन्न ।

प्रकाशित : मंसिर २२, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?