३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

संकटाको कठिन जित

काठमाडौँ — अन्तिम क्षणमा एलोन म्याक्सवेलले गोल गरेपछि संकटाले न्युरोड टिम (एनआरटी) लाई सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार पराजित गर्दै शीर्षस्थानको मनाङ मस्र्याङदीसँग अंक बराबरी गरेको छ ।

संकटाको कठिन जित

हल्चोकमा भएको खेलमा क्यामरुनी फरवार्ड म्याक्सवेलले चार मिनेटको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेर संकटालाई राहत दिलाए । संकटाको यो छैटौं जित हो । जितसँगै संकटा र मनाङको समान १८ अंक भएको छ ।


एक खेल कम खेलेको मनाङ गोलअन्तरको आधारमा शीर्षस्थानमा छ । उसले सोमबार मछिन्द्रलाई पराजत गर्नसके ३ अंकको अग्रता लिनेछ ।


पहिलो खेलमा आर्मीलाई १–१ मा रोकेको एनआरटीले लगातार छैटौं हार बेहोरेको हो । यससँगै सबैभन्दा धनाढय फुटबल क्लब सहभागी १४ टोलीमध्ये लिगको अन्तिम स्थानमा छ ।


यस लिगमा पुछारबाट दोस्रोमा रहेको मछिन्द्र (३ अंक) र एनआरटीले मात्र कुनै पनि खेल जितेका छैनन् । तर, पाँच वर्षपछि पहिलोपल्ट आयोजित ए डिभिजन लिगमा रेलिगेसन नहुने व्यवस्था गरिएकोले दुवै टिमले ठूलो घाटा भने बेहोर्नुपर्ने छैन ।


एनआरटी रक्षात्मक खेलमा केन्द्रित हुँदा, विपक्षीलाई कमजोर भएकाले सजिलो रूपमा लिँदा र फिनिसिङ फितलो हुँदा जित हात पार्न निकै गाह्रो भएको संकटाका प्रशिक्षक सल्यान खड्गीले बताए । ‘सजिलै जित हात पार्ने मानसिकताले एनआरटीविरुद्ध हाम्रा खेलाडी मैदान उत्रिएका थिए । विपक्षी रक्षात्मक रूपमा धेरै राम्रो रह्यो र प्राप्त अवसरमा हामीले पनि राम्रो फिनिसिङ देखाउन सकेनौं,’ उनले भने, ‘रेफ्रीले पनि गलत निर्णय दिए ।’


एनआरटीका प्रशिक्षक महेश्वर मुल्मी पनि निर्णायकमाथि रुष्ट देखिए । रेफ्रीले संकटालाई साथ दिएको दाबी गर्दै उनले भने, ‘हामीले १४ जनाको टिमविरुद्ध खेल्यौं ।’ खेलमा प्रकाश श्रेष्ठ रेफ्री र नानीराम थापामगर, शुक्र तामाङ सहायक रेफ्रीको भूमिकामा थिए ।


प्रशिक्षक मुल्मीले जितविहीन भए पनि अझै शीर्ष सातमा लिग टुंग्याउने महत्त्वाकांक्षा कायमै रहेको बताए । एनआरटीले अब ७ खेल खेल्न बाँकी छ ।


हल्चोकमा भएको दिनको पहिलो खेलमा हिमालयन शेर्पा र पुलिसले १–१ को नतिजा निकाल्दै अंक बाँडे । भरत शाहले विभागीय टोलीलाई पहिलो हाफमै अग्रता दिलाए पनि विश्वास श्रेष्ठले ७० औं मिनेटमा चलाखीपूर्ण रूपमा गोल गर्दै हिमालयन शेर्पालाई अंक दिलाएका हुन् । समान ११ अंकको अवस्थामा गोल अन्तरको आधारमा पुलिस छैटौं र हिमालयन शेर्पा सातौं स्थानमा छन् ।

प्रकाशित : मंसिर २३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?