ईपीएलः भैरहवाद्वारा पोखरा पराजित

रासस

काठमाडौँ — एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजलाई पराजित गर्दै सुःखद सुरुवात गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवाले पोखरालाई चार विकेटले पराजित गर्दै प्रतियोगितमा सुखद सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले भैरहवालाई २१६ रनको लक्ष्य दिएको थियो ।


दुई सय १६ रनको लक्ष्य पछ्याएको भैरहवाले १९ दशमलव ४ ओभरमा छ विकेट गुमाउँदै भेटायो । भैरहवाको जितमा भारतीय बयाट्सम्यान रवि इन्द्रर सिंहले अविजित १ सय २५ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २३ रन तथा पुनित मेहेराले अविजित १८ रन जोडे । पोखराका सुशन भारी, विक्रम सोब र पल कोगलिङले समान दुई/दुई विकेट झारे ।


त्यसअघि पहिलो ब्याटिङ गरेको पोखराले २० ओभर पूरै खेल्दै पाँच विकेट गुमाएर २ सय १५ रन जोडेको थियो । पोखराको उच्च स्कोरमा दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले ७९ रनको योगदन दिए भने केली जेम्स कोट्जरले ४७ रन जोड्दा सुनील धमलाले ३८ रन जोडे ।


भैरहवाका अविनास बोहोरा, कृष्ण कार्की, रायन टेन र पुनित मेहेराले एक÷एक विकेट लिए । जितसँगै भैरहवाले दुई अङ्क जोडेको छ । उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । जसमा पहिलो खेल चितवन टाइगर्स र काठमाडौँ किङसबीच हुनेछ भने दोस्रो खेल पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच हुनेछ ।

प्रकाशित : मंसिर २३, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?