२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फेरिएको दिल्ली

नेपाली युवा खेलाडी सन्दीप लामिछाने समावेश दिल्ली डेयरडेभिल्सले आफ्नो नाम फेरेको छ । योसँगै नतिजामा पनि परिवर्तन ल्याउने आस राखेको छ ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं सिजनमा दिल्ली क्यापिटल्सको जर्सी लगाएर मैदान ओर्लनेछन् । दिल्ली डेयरडेभिल्सले मंगलबार नाम फेरेर दिल्ली क्यापिटल्स राखेको घोषणा गरेको थियो । 

यो परिवर्तनसँगै आईपीएलको फ्रेन्चाइज क्लब दिल्ली डेयरडेभिल्सले आउँदो सिजनमा नयाँ परिचय दिल्ली क्यापिटल्सको नामले प्रतिस्पर्धा गर्नेछ । जीएमआरको पूर्ण स्वामित्वमा क्लबको आधा हिस्सा जेएसडब्लू स्पोर्ट्सले किनेको छ ।


भारतको राजधानी सहरको प्रतिनिधित्व गर्ने गरी क्लबको नाम मात्र फेरिएको छैन रङ, लोगोसमेत परिवर्तन गरिएको छ । नाम परिवर्तन भए पनि प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ नै रहनेछन् भने कप्तानमा श्रीयस ऐय्यर रहनेछन् ।


बराबरको साझेदार बनेको जेएसडब्लूले आगामी दुई वर्षका लागि प्रशासन, खेलाडीको फिटनेस, पोषण र अन्य आवश्यक सुविधा पनि हेर्ने जनाइएको छ । यसअघि इन्डियन सुपर लिग (फुटबल) र प्रो कबड्डी लिगमा आबद्ध जेएसडब्लूले दिल्ली क्यापिटल्समार्फत पहिलोपल्ट क्रिकेटमा पाइला हालेको हो ।


क्लबको पीआर एजेन्सी किप्पिस पिएरका तरुणदीप सिंहले दिल्ली राजधानी मात्र नभएर केन्द्र भएकाले क्लबलाई पनि आईपीएलको केन्द्रमा राख्ने रणनीतिसहित नाम र लोगो परिवर्तन गरिएको बताए ।

‘क्लबको नयाँ नाम र परिचयमात्र नभएर क्लबका प्रतिनिधित्व समावेशी रहेजस्तै लोगोमा पनि परिवर्तन गरिएको छ,’ सिंहले भने ।


उनले परिवर्तन एउटा सिजनका लागि मात्र नभएर राजधानीको अवधारणा र मूल्यमान्यतासँग जोडिने गरी दीर्घकालीन सोचसाथ गरिएको दाबी गरे । ‘अब भारत र भारतीयका लागि राजधानी नयाँदिल्ली सबै कुरामा केन्द्रमा रहेजस्तै आईपीएलमा पनि दिल्ली क्यापिटल्स सबै हिसाबले केन्द्रमा रहनेछ,’ उनले भने ।

आईपीएलको ११ औं संस्करणसम्म आइपुग्दा पनि दिल्ली उपाधिविहीन नै छ । गत संस्करणमा दिल्ली सहभागी आठ क्लबमध्ये अंक तालिकामा पुछार थियो । नाम र स्वामित्वमा भएको हेरफेरसँगै क्लबले आगामी सिजनमा कम्तीमा पनि प्लेअफमा पुग्ने लक्ष्य बनाएको छ ।


त्यसका लागि सोहीअनुसारको टिम निर्माण गर्ने रणनीति पनि अख्तियार गरिएको छ । क्लबले गत सिजनमा टिममा रहेका १२ खेलाडीसँग करार नवीकरण गरिसकेको छ भने भारतको राष्ट्रिय टिममा रहेका शिखर धवनलाई सनराइजर्स हैदराबादबाट लिएको छ ।


यसबाहेक बाँकी १४ खेलाडीलाई लिलामीबाट लिने क्लबले जनाएको छ । गत सिजनमा आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपलाई क्लबले निरन्तरता दिने निर्णय गरिसकेको छ ।


सन्दीपले आफ्नो पहिलो सिजनमा तीन खेल खेल्दै ४ विकेट लिएका थिए । मुम्बई इन्डियन्सविरुद्धका खेलमा ३ विकेट लिँदै उनले आईपीएलमा आफ्नो दह्रो उपस्थिति जनाएका थिए । साबिक विजेता मुम्बई दिल्लीसँग ११ रनले पराजित भएर प्रतियोगिताबाटै बाहिरिएको थियो ।


दिल्लीले सन्दीपलाई गत वर्ष २० लाख भारुमा अनुबन्ध गरेको थियो । आईपीएल खेलेयता सन्दीपले विश्वका आधा दर्जन प्रतिष्ठित क्रिकेट लिगमा खेल्ने अवसर पाइसकेका छन् ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?