२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मिसन बिग बास 

काठमाडौँ — बिग बास खेल्न युवा क्रिकेटर सन्दीप लामिछाने आइतबार अस्ट्रेलिया लागेका छन् । उनले मेलवर्न स्टार्सबाट यो सिजन बिग बास लिग खेल्नेछन् ।

मिसन बिग बास 

मेलवर्नबाट प्लेइङ सेटमा स्थान बनाएमा सन्दीप बिग बास लिग खेल्ने पहिलो एसोसिएट खेलाडी बन्नेछन् । मेलवर्नबाट उनले कम्तीमा ६० हजार डलर पारिश्रमिक पाउनेछन् ।


डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म हुने लिगका पूरै समय टिममा नरहने भएकाले उनको पारिश्रमिकको टुंगो नलागेको हो ।


सन्दीप आगामी जनवरी १५ मा सिलेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्न आउनेछन् । बिग बासभन्दा पहिलेकै सम्झौता भएकाले उनी आउनुपरेको हो । बीपीएल सकाएर उनी पुन: अस्ट्रेलिया जानेछन् ।


प्रतियोगिता सुरु हुनुभन्दा करिब १० दिनको समयमा सन्दीपले टिमसँग घुलमिल हुने, अभ्यास खेल खेल्ने तालिका छ । यसबीच नेपालको खेल भएमा उनी राष्ट्रिय टोलीका लागि नेपाल फर्कनेछन् । बिग बास खेल्ने आफ्नो सपना बताउँदै आएका १८ वर्षीय सन्दीपले यसअघि खेलेका फ्रेन्चाइज लिगको अनुभव बिग बासमा प्रयोग गर्ने बताए ।


अस्ट्रेलिया जानुअघि उनले भने, ‘आईपीएलदेखि अन्य थुप्रै लिग खेलेँ, राम्रो प्रदर्शन पनि भइरहेको छ । बिग बासमा पनि यस्तै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छु, नेपालको नाम अझै माथि उठाउने प्रयास गर्नेछु ।’


अस्ट्रेलियाको पिचबारे आफ्नो यसअघिको अनुभव प्रयोग गर्ने बताएका सन्दीपले प्लेइङ सेटमा पर्नका लागि शतप्रतिशत प्रदर्शनमा केन्द्रित रहने बताए । दुई वर्षअघि अस्ट्रेलियाका विश्वकप विजयी कप्तान माइकल क्लार्कले बोलाएपछि सिड्नीमा गएर ग्रेड क्रिकेट खेलेको अनुभव उनीसँग छ । ‘बिग बासमा २ जनामात्र विदेशी खेलाडी खेल्न पाउँछन्, यस्तोमा मलाई निकै कठिन हुन सक्छ, तर मैले राम्रो गर्न सकेँ भने अवश्य अवसर पाउनेछु ।’


ईपीएलमा ललितपुर प्याट्रिएट्सका लागि सन्दीपले दुई खेलमा पाँच विकेट लिए । पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध २ विकेट लिएका उनले चितवन टाइगर्सविरुद्ध ३ विकेट लिए भने म्यान अफ द म्याच चुनिए ।


पोखरा प्रिमियर लिगमा कप्तानका रूपमा असफल भएका उनले कप्तानीले थप बोझ नहुने धारणा राखे । ‘यो टिमवर्क हो, हामीले पाएको जिम्मेवारी पूरा गर्नैपर्ने हुन्छ चाहे कप्तान होस् वा नहोस्, फेरि पनि एक जनाले खेलेर म्याच जितिने पनि होइन,’ सन्दीपले भने ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?