कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रञ्जितको दुई गोल

थ्रीस्टार २–० जावलाखेल
एपीएफ ३–० सरस्वती
च्यासल ३–१ फ्रेन्ड्स

काठमाडौँ — डिफेन्डर रञ्जित धिमालले दोस्रो हाफमा दुई गोल गरेपछि एन्फा कम्प्लेक्समा आइतबार थ्रीस्टारले छिमेकी जावलाखेलमाथि २–० को जित रच्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको मनाङ–मस्र्याङ्दीसँग समान अंक बनाएको छ ।

रञ्जितको दुई गोल

रञ्जितले पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए भने उनले अर्को गोल फ्रिकिकमा गरे । सुनील बलले प्रहार गरेको बल जावलाखेलका डिफेन्डर कुलदीप कार्कीले हातले छोएपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो र ५२ औं मिनेटमा पाएको त्यस मौकामा रञ्जितको प्रहार सटीक रह्यो ।


थ्रीस्टारका फरवार्ड रञ्जन विष्टलाई डरलाग्दो ट्याकल गरेपछि रेफ्री सुदीश पाण्डेले कुलदीपलाई ६९ औं मिनेटमा रातो कार्ड देखाएपछि जावलाखेल दस खेलाडीमा सीमित भएको थियो ।


रञ्जितले ७० औं मिनेटमा पाएको कर्नरमा आकर्षक गोल गर्दै थ्रीस्टारको जित निश्चित गरेका थिए । डिफेन्डर रञ्जित ६ गोलसहित लिगको सर्वाधिक गोलको सूचीमा अगाडि छन् । उनले चार गोल पेनाल्टीमार्फत गरेका हुन् । मनाङका अञ्जन विष्टले पाँच गोल गरेका छन् ।


‘जावलाखेलले निकै रक्षात्मक खेल्यो र हामीलाई पहिलो हाफमा बल प्रहार गर्ने अवसर पनि दिएन,’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘दोस्रो हाफमा हामीले अवसर सिर्जना गरेपछि उसको रणनीति असफल भयो ।’ उनको टिमलाई उपाधि होडमा बलियो मानिएको छ तर उनले लिगका टिमहरूको स्तरमा खासै भिन्नता नभएको बताए ।


थ्रीस्टारले सात खेलबाट ६ जित र १ हारसँगै १८ अंक बनायो । एक खेल कम खेलेको मनाङको पनि १८ अंक छ । थ्रीस्टारलाई पराजित गरेकाले हेड–टु–हेडका आधारमा मनाङ शीर्षस्थानमा छ ।


यसअघि सातदोबाटोमै भएको दिनको पहिलो खेलमा एपीएफले सरस्वतीलाई ३–० ले हरायो । विभागीय टिमका लागि रूपबहादुर लामाले दुई तथा युवराज खड्काले एक गोल गरे । हलचोक मैदानमा च्यासलले फ्रेन्ड्समाथि ३–१ को जित निकाल्यो । त्यसमा सन्तबहादुर गुरुङले दुई गोल गरे । समान दस अंक भए पनि गोलका आधारमा च्यासल सातौं र एपीएफ आठौं स्थानमा छन् । सरस्वती (६ अंक) नवौं र फ्रेन्ड्स (५ अंक) दसौंमा छन् ।


आजका खेल

आर्मीविरुद्ध ब्रिगेड ब्वाइज

११ बजे

मनाङ–मर्स्याङ्दीविरुद्ध मछिन्द्र

१४:३० बजे

एन्फा कम्प्लेक्स

प्रकाशित : मंसिर २४, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?