कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विदेशी खेलाडीको सानदार प्रदर्शन

काठमाडौँ — विदेशी खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेपछि उच्च स्कोर बनेको खेलमा एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोज आइतबार भैरहवा ग्ल्याडिएटर्ससँग ४ विकेटले पराजित भएको छ । 

विदेशी खेलाडीको सानदार प्रदर्शन

आईपीएललगायत विदेशी फ्रेन्चाइज लिगमा देखिएका अनुहार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै पाएपछि उत्साही बनेका नेपाली क्रिकेट समर्थकले आइतबार त्यहीअनुसारको प्रदर्शन पनि देख्न पाए । नेपाली फ्रेन्चाइजी लिगमै अहिलेसम्मको उच्च स्कोर बनेको थियो ।


भारतीय खेलाडी रवि इन्दर सिंहले १ सय २५ रनको अविजित शतकीय इनिङ्स खेलेपछि पोखराले दिएको २ सय १६ रनको लक्ष्य भैरहवाले इनिङ्सको २ बलअगावै पूरा गर्‍यो । विजयी टोलीका कप्तान शरद भेषावकरले भने, ‘यो मैदानमा यसरी रन बन्छ भनेर मैले सोचेको थिइनँ । वास्तवमै मैले यस्तो खेल यो मैदानमा यसअघि देखेको थिइनँ ।’


सन् २००७ देखि २०१४ सम्म भारतमा रणजी ट्रफीमा पञ्जाबको प्रतिनिधित्व गरेका रविकै एकल प्रदर्शनीमा भैरहवाले जित हासिल गर्‍यो । ३१ वर्षीय रविले ६० बलमा १० छक्का र ८ चौका प्रहार गरे । अघिल्लो महिना पोखरामा सञ्चालित पोखरा प्रिमियर लिगमा पोखरा पल्टनलाई विजयी बनाउन रविले फाइनलमा ९० रनको निर्णायक इनिङ्स खेलेका थिए । उनले प्रतियोगिताको ७ खेलमा सर्वाधिक २ सय ६० रन बटुलेका थिए ।


दोस्रो ओभरको पहिलो र अन्तिम बलमा ओपनरहरू क्रमश: हरिशंकर साह (०) र प्रदीप ऐरी (१४) रनमा आउट भएपछि धर्मराएको भैरहवाको इनिङ्स रविले सफलतापूर्वक सम्हाले । उनले रायन टेन डेस्काथेसँग ३२ रनको साझेदारी गरे । छैटौं ओभरमा रायन १६ रनको स्कोरमा आउट भएपछि आएका कप्तान शरद भेषावकर नवौं ओभरमा व्यक्तिगत ६ रनमा आउट हुँदा भैरहवाको स्कोर ७१–४ थियो ।


रविले पाँचौं विकेटमा आरिफ शेखसँग ८९ रनको साझेदारी गरे । आरिफले १३ बलमा २ छक्कासहित २३ रन योगदान गरे । अन्तिममा पुनित मेहराले अविजित १८ रन बनाए । नेपालको फ्रेन्चाइज लिगमा विदेशी खेलाडीले बनाएको यो पहिलो शतक हो । दुई वर्षअघि नेपाल प्रिमियर लिगको पहिलो संस्करणको फाइनलमा आसिफ शेखले पञ्चकन्या तेजबाट शतकीय इनिङ्स खेलेका थिए ।


म्यान अफ द म्याच बनेका रविले आफूले स्वाभाविक खेल खेलेको प्रतिक्रिया दिए । ‘एक ब्याट्सम्यानका रूपमा म जहिले पनि टिमका लागि कसरी राम्रो खेल्ने भन्ने सोच्छु, आज मेरो दिन थियो । सबै राम्रो भयो, टिमलाई जित दिलाउन सकेकामा खुसी छु,’ रविले भने । बलिङमा पोखराका सुशान भारी, विक्रम सोब र पाउल कलिनले २–२ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ओपनर रिचर्ड लेभी र कप्तान कायल कोएट्जरको विस्फोटक इनिङ्सको सहयोगमा ५ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कीर्तिमानी क्रिकेटर लेभी आफ्नो स्वाभाविक व्यवहार देखाउँदै विपक्षी बलरमाथि हावी भए ।


नवौं ओभरमा कृष्ण कार्कीको बलमा रायन टेन डेस्काथेको हातबाट आउट हुनुअघि लेभीले ३६ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै ७९ रन बनाए । लेभी र कायलले पहिलो विकेटमा १ सय ४ रन जोडे । कोएट्जरले ३७ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए ।


सुनील धमलाले २३ बलमा ३८ रन जोडे भने विनोद भण्डारी ७ र राजेश पुलामीमगर ३ रनमा आउट भए । पाउल कलिङ २० र सौरभ खनाल ७ रनमा अविजित रहे । बलिङमा अभिनाश बोहरा, कृष्ण कार्की, पुनित मेहरा र डेस्काथेले एक–एक विकेट लिए ।


पहिलो खेलमै जित हासिल गरेपछि उत्साही देखिएका कप्तान भेषावकरले जितको सबै श्रेय रविलाई दिए । ‘ठूलो लक्ष्य भएपछि कसरी खेल्ने भन्ने सबैलाई थाहा नै थियो । सुरुआत राम्रो भएन यद्यपि रविले जसरी खेले सबै श्रेय उनैलाई जान्छ ।’


कोएट्जरले आफ्नो टोलीको खेल राम्रो भए पनि रविको प्रदर्शनले सबैलाई छायामा पारेको बताए । साथै उनले आगामी खेलमा विकल्पका बारेमा पनि सोच्नुपर्ने बताए । ‘दुवै टिमले २ सय १५ रन बनाएका छन्, यस्तोमा यो बलियो र यो कमजोर भन्न मिल्दैन,’ उनले भने ।


उनले अन्य खेलमा टिम फर्मेसन परिवर्तन गर्नका लागि विकल्प हेरेर निर्णय गरिने बताए । पहिलो पटक नेपाली लिग खेलेका कोएट्जरले समर्थक र क्रिकेट माहोल सानदार रहेको बताए । ‘सप्ताहन्तमा खेल भए अझै रमाइलो हुन्थ्यो, हिजो म पनि आएको थिएँ, खुवै रमाइलो माहोल बनेको थियो,’ कायलले भने ।


आइतबारको पहिलो खेलमा चितवन टाइगर्सलाई ११ रनले हराउँदै ललितपुर प्याट्रिएट्सले पहिलो जित हात पार्‍यो । उद्घाटन खेलमा शनिबार ललितपुरले विराटनगर वारियर्ससँग ३ विकेटको पराजय बेहोरेको थियो ।


टस जितेको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन बनायो । सुरुआती ब्याट्सम्यानले अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि ललितपुरका मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रह्यो ।


छैटौं ओभरमा ओपनर कुशल भुर्तेल ३ रनको स्कोरमा आउट भएसँगै ललितपुरको विकेट पतन सुरु भयो । १० औं ओभरमा अर्का ओपनर जयकिसन कोल्सावाला पनि २० रनमा पेभेलियन फर्किए । गौरव तोमरले २९ बलमा २ चौका र २ छक्का सहयोगमा ३० र सन्नी पटेलले १३ बलमा १९ रन बनाए ।


सोनु तामाङ र सन्दीप जोराले इनिङ्सको अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दा ललितपुरले सम्मानजनक स्कोर खडा गर्‍यो । सोनुले अविजित रहँदै ३५ रन बनाए । उनले २४ बलमा ३ छक्का र १ चौका प्रहार गरे । सन्दीपले ८ बलमा ३ छक्का र १ चौका सहयोगमा अविजित २५ रन बनाए ।


अन्तिम ओभरमा कमल सिंह ऐरीको बलमा सन्दीपले तीन छक्का प्रहार गरे । बलिङतर्फ जर्ज स्कटले २ तथा ललितसिंह भण्डारी र कमल सिंह ऐरीले १–१ विकेट लिए ।


युवा स्टार सन्दीप लामिछानेले ३ विकेट लिएपछि चितवनले ८ विकेट क्षतिमा १ सय ३२ रनमात्र बनाउन सक्यो । दीपेन्द्रसिंह ऐरीले ४१ र कप्तान पृथु बाँस्कोटाले २६ रन बनाए । भीम सार्की २१ रनमा आउट भए । स्कटले अविजित १८ रन जोडे । उनले ९ बलमा २ छक्का प्रहार गरे ।


यसअघि ओपनरहरू दिलीप नाथ र पाउल स्टर्लिङ दुवै १–१ रनमा आउट भए । जोन सिम्सनले पनि १३ रनमात्र जोड्न सके । सन्दीपले ४ ओभरमा २६ रन खर्चे । सन्नी पटेलले २, तोमर र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।


चितवनका कप्तान पृथुले ब्याटिङको कमजोरीले हार बेहोर्नुपरेको बताए । ‘अन्तिम ओभर महँगो भए पनि म हाम्रो बलिङ प्रदर्शनमा सन्तुष्ट छु, १ सय ४४ रनको लक्ष्य बनाउनै नसक्ने होइन,’ उनले थपे, ‘तर, हाम्रो शीर्ष पंक्तिको राम्रो प्रदर्शन भएन र लामो साझेदारी गर्न सकेनौं । पहिलो खेल हार्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन, हामीले अझै प्लेअफअघिका चार खेल खेल्न बाँकी छ ।’


जित्नैपर्ने खेलमा राम्रो प्रदर्शन भएकामा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल भने खुसी देखिए । उनले ब्याटिङमा सन्दीप जोरा र सोनु तामाङले अन्त्यतिर गरेको प्रदर्शनको तारिफ गरे । ज्ञानेन्द्रले भने, ‘अन्तिम ओभरमा सन्दीप जोराको फिनिसिङ उत्कृष्ट थियो । सोनु र सन्दीपले अन्तिमतिर राम्रो खेले । जोराले फिल्डिङमा पनि राम्रो गरे । आजको खेल जित्नुमा फिल्डिङको मुख्य हात छ । प्लेअफमा पुग्ने लक्ष्य राख्दा हरेक खेल जित्नुपर्छ । त्यसमा पनि पहिलो खेल हारिसकेको अवस्थामा हाम्रा लागि हरेक खेल जित्नैपर्ने अवस्थामा छ ।’


ललितपुरका प्रशिक्षक राजु बस्न्यातले बिग बास खेल्न जान लागेका सन्दीपजस्तो खेलाडी नहुनुले फरक पार्ने बताए । प्रशिक्षक बस्नेतले भने, ‘उनको अनुपस्थितिले फरक त पर्छ यद्यपि हामीसँग बेञ्चमा पर्याप्त बलर छन् । अक्सनबाट लिएको हुनाले उनी बाहिरिँदा हामीले अन्य खेलाडी पनि अनुबन्धका लागि हेरिरहेका छौं, फाइनल भइसकेको छैन ।’

प्रकाशित : मंसिर २४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?