कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अस्ट्रेलियामा १० वर्षपछि भारतको जित

एएफपी

एडिलेड — भारतले अस्ट्रेलियाली भूमिमा दशकपछि टेस्ट क्रिकेट जितेको छ । रोमाञ्चक बनेको पहिलो टेस्टमा घरेलु टोलीलाई अलआउट गर्दै भारतले ३१ रनले खेल जित्दै चार टेस्ट शृंखलामा अग्रता लिएको छ ।

अस्ट्रेलियामा १० वर्षपछि भारतको जित

अस्ट्रेलियाली भूमिमा पहिलो शृंखला जितको आसमा रहेको भारतलाई यो जितले ठूलो बल प्रदान गर्नेछ ।


भारतका विकेटकिपर ऋषभ पन्तले ११ क्याच लिँदै विश्व कीर्तिमान बराबरी गरे । एडिलेड ओभलमा ३ सय २३ रनको लक्ष्य लिएको अस्ट्रेलियालाई पाँचौं तथा अन्तिम दिनको खेलका जोडी नाथन लायन र जोस हेजलउडले आशा देखाएका थिए । तर हेजलउडलाई रविचन्द्रन अश्विनले आउट गरेपछि घरेलु टोली २ सय ९१ रनमा अलआउट भयो ।


शन मार्शले ६२ र टिम पेनले ४१ रन बनाए । अश्विनले ९२ रन खर्चेर ३ विकेट लिए । विराट कोहलीको टिमले शृंखलामा १–० को अग्रता लिनेक्रममा ठूलो सफलता पाएको हो । अस्ट्रेलियामा भारतले शृंखलाको पहिलो टेस्ट जितेको यो पहिलो अवसर पनि हो ।


पन्तले इंग्ल्यान्डका ज्याक रसेल र दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले एकै टेस्टमा सर्वाधिक क्याच लिएको कीर्तिमान बराबरी गरेका हुन् ।


भारतले पछिल्लो पटक अस्ट्रेलियाको जित सन् २००८ मा वाका मैदान पर्थमा पाएको थियो । त्यसअघि २००३ मा एडिलेडमा जितेको थियो । ७० वर्षभन्दा बढीको इतिहासमा भारतले अस्ट्रेलियामा गएर टेस्ट जितेको यो केवल छैटौंपल्ट हो ।


निलम्बनमा रहेका प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ र डेविड वार्नरबिनै अस्ट्रेलिया खेलिरहेको छ । यो तथ्य बुझेर कोहली र उनको टोली शृंखला जितेर इतिहास रच्ने अवसर देख्छन् । दोस्रो टेस्ट शुक्रबार पर्थमा सुरु हुनेछ । त्यसपछिका टेस्ट मेलबर्न र सिड्नीमा छ ।


‘उनीहरूले राम्रो संघर्ष गरेका हुन् तर हामी आफ्नो योजनाअनुसार खेल्न सफल भयौं र अन्तिम विकेट लिन सक्यौं जुन हामीलाई चुनौती भइरहेको थियो,’ कोहलीले भने, ‘म आफ्ना बलरप्रति गर्वित छु । ४ बलरले २० विकेट लिन सक्नु ठूलो सफलता हो । यस्तै सफलता हामीले विगतमा पाउन सकेका थिएनौं । यसको मतलब ब्याट्सम्यानले नियमित आफ्नो क्षमताअनुसार खेल्न सक्ने हो भने हामी प्रत्येक टेस्ट जित्न सक्छौं ।’


भोजनपछि खराब शट खेलेर आउट भएका कप्तान पेनले पराजयमा दु:ख भए पनि टिमले जुन अनुरुप खेल्यो त्यसमा आफू सन्तुष्ट रहेको जनाए । ‘हामीले पनि जित्न सक्छौं जस्तो लागेको थियो, त्यसमा कुनै शंका छैन । पिचले कस्तो व्यवहार गरिरहेको छ, त्यसअनुसार खेल्न भनिएको थियो । तर दुर्भाग्य म, ट्राभिस हेड र शनले लामो समय चाहेजस्तो ब्याटिङ गर्न सकेनौं ।’


अस्ट्रेलियालाई सोमबारको खेलमा विजयनिम्ति चार विकेट गुमाइसकेको अवस्थामा २ सय १९ रन चाहिन्थ्यो तर टोलीले भोजनअघि नै दुई प्रमुख ब्याट्सम्यान गुमाएपछि खेल भारतको पक्षमा ढल्किएको थियो । मार्श र हेडले ७ ओभर संयमका साथ खेल्नेक्रममा ११ रन जोडेका थिए ।


त्यसपछि इशान्त शर्माको बाउन्सरमा हेडको प्रहार गलीमा अजिन्क्या रहानेले क्याच लिन पुगे । मार्शलाई साथ दिन आएका पेनले मोहम्मद सामीको केही खुकुलो बलमा शट प्रहार गर्दै स्कोर बढाएका थिए ।

मार्शले स्पिनर अश्विनलाई पुल शटमा चौका प्रहार गर्दै आफ्नो दसौं टेस्ट शतक बनाए । उनका लागि यो अत्यावश्यकजस्तै थियो ।


पछिल्ला ६ पटक उनी टेस्टमा दोहोरो स्कोर नबनाई आउट भएका थिए । तर घरेलु क्रिकेटमा उनी उत्कृष्ट फर्ममा छन् । तर मार्श लामो समय टिकेनन् । जसप्रित बुमराहको बलमा एज लागेर विकेटकिपर पन्तलाई क्याच दिन पुगे ।


भोजन समयमा अस्ट्रेलिया १८६–६ को स्थितिमा थियो । टोलीलाई विजय पाउन अझै १ सय ३७ रन चाहिन्थ्यो । पेन ४० र कुमिन्स ५ रनमा खेलिरहेका थिए । भोजनपछिको दोस्रो ओभरमा पेनलाई बुमराहले पन्तबाट सजिलो क्याचआउट गराए । कप्तान पेन ४१ रनमा आउट भए ।


चार बल अन्तरमा दुई पटक रिभ्यूबाट जोगिएका कुमिन्सले स्टार्कसँग आठौं विकेटमा ४१ रन जोडे । कुमिन्सले २८ रन बनाए ।


स्टार्कले पनि अस्ट्रेलियालाई विजय नजिक पुर्‍याउँदा २८ नै रन बनाएका थिए । त्यसपछि क्रिजमा आएका लायनले अविजित ३८ रन बनाउँदै खेललाई रोमाञ्चक बनाए । हेजलउडलाई १३ रनमा आउट गर्दै भारतले टेस्ट जितेको हो ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?