डीपीएलका लागि फाप्लामा तयारी तीव्र, महोत्सवको रुप लिने दाबी

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिमको प्रतिष्ठा बनिरहेको धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ । माघ १९ देखि हुने डीपीएलका लागि दुई महिनाअघिदेखि नै फाप्लामा पिच निर्माणको काम धमाधम भइरहेको छ । 

डीपीएलका लागि फाप्लामा तयारी तीव्र, महोत्सवको रुप लिने दाबी

प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाहीले फाप्ला क्रिकेट मैदानमा करिब २५ लाखको लगानीमा आईसीसी मापदण्डको पिच र मैदान निर्माण गर्ने काम भइरहेको बताए । उनले पिच तयार पार्न मुम्बईबाट दुई अनुभवी क्युरेटरलाई ल्याएका छन् ।

‘मुम्बई क्रिकेट एसोसिएनसँग आवद्ध शेख र सन्जयलाई बोलाएर अन्तर्राष्ट्रियस्तरको मैदान निर्माणमा जुटेका छौं,’ शाहीले भने, ‘मैदानमा ५ वटा पिच निर्माण हुनेछ । आईसीसीका प्रतियोगिताको मैदानभन्दा कम हुने छैन ।’ उनले प्रतियोगिताको १५ दिन अगाडि नै मैदान तयार गरिसक्ने बताए । दुई विदेशीलाई कीर्तिपुर मैदानका नेपाली क्युरेटर विसन मण्डलले समेत सघाइरहेका छन् । दैनिक ८ घण्टा २० मजदुर निर्माणमा खटिएका छन् ।

विदेशी क्युरेटर सन्जयले निर्माण भएको मैदानलाई प्रयोगमा ल्याउन सकेमात्रै लगानी सदुपयोग हुने बताए । ‘यति ठूलो लगानी र मिहिनेतमा तयार पारेको यो अन्तर्राष्ट्रियस्तरको ग्राउन्ड र पिचको सदुपयोग हुनु आवश्यक छ,’ उनले भने, ‘यो पिच एउटा प्रतियोगिता लागि मात्रै भए लगानी र मिहिनेत खेर जानेछ ।’ नियमित प्रतियोगिताहरू भइराख्न आवश्यक हुने उनले सुझाए ।


‘अन्तर्राष्ट्रिय मापदण्डमा टान्टी–२० प्रतियोगिताका लागि ६५ यार्डको ग्राउन्ड आवश्यक हुन्छ,’ उनले भने, ‘कम्तीमा ५ क्रिकेट पिच हुनुपर्छ । जो यहाँ मैदानको क्षेत्रफल र पिचको गुणस्तर पनि त्यही किसिमको तयार पारिँदै छ ।’ उनले प्रतियोगिता सुरु हुन १५ दिनअघि मैदान आयोजकलाई हस्तान्तरण गरिने बताए ।

सन्जय र शेखसँग मुम्बई क्रिकेट एसोसिएनसँग आबद्ध भएर २२ वर्षको क्युरेटरको अनुभव छ ।

ड्रिम फाप्लालाई साकार रूप दिन डीपीएलका आयोजक धनगढी क्रिकेट लिगले आफ्नो तेस्रो सस्करण फाप्लामा गर्न लागेको अध्यक्ष शाहीले बताए ।

डीपीएलका लागि अर्काको ग्राउन्डमा अस्थायी लगानी खेर जाने भएकाले यो वर्ष यसै मैदानमा लगानी गर्न थालेको उनी बताउँछन् । यसअघि संघीय प्रहरी ईकाईको मैदानमा दुई संस्करण सम्पन्न भएको थियो ।

‘बजारको नजिक पर्ने भएकाले दर्शक र प्रायोजकलाई मध्यनजर गरी यसअघिका दुई संस्करण प्रहरीको मैदानमा आयोजना भए,’ उनले भने, ‘अहिले त्यो अवस्था छैन । डीपीएल एक ब्रान्ड भईसक्यो । अब दर्शक डीपीएल हेर्न बजारबाट ३ किलोमिटर टाढाको फाल्ला मैदानमा आउँछन् भन्ने विश्वास छ । प्रायोजकहरूले पनि विश्वास गर्ने वातावरण भइसकेको छ ।’

शाहीले डीपीएलले ‘ड्रिम फाप्ला’ योजना ल्याएको बताए । फाप्ला ग्राउन्डको विकासका लागि डीपीएल फाप्लामा हुन आवश्यक थियो । उनले डीपीएलका लागि ग्राउन्ड र पिच निर्माणमा हुने १५–२० लाखको लगानी बर्सेनि खेर जाने गरेको बताए । ‘त्यहाँ एउटा प्रतियोगितापछि सकिन्थ्यो,’ उनले भने, ‘फाप्लामा प्रतियोगिता पछि पनि अन्य क्लबलगायतका क्रिकेट खेलाडीले पिचको उपभोग गरिराख्ने छन् ।’ उनले दर्शकका लागि ५ हजार क्षमताको अस्थायी प्यारापिट तयार गरिने बताए ।


डीपीएलले महोत्सवको रूप लिने

आयोजक शाहीले डीपीएलको तेस्रो संस्करणले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हेरेको अनुभूति दिने दाबी गरेका छन् । उनले भने, ‘यहाँ दर्शकले खेलको आनन्द मात्रै लिने छैनन्, हरेक खाले मनोरन्जन प्राप्त गर्ने वातावरण मिल्नेछ ।

प्रतियोगितामा सांस्कृतिक मञ्च हुनेछ । खेलअघि पछि चर्चित कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । ग्राउन्डबाहिर फुडस्टल र क्रिकेटका सामान पाइने स्टल राखिने छ । पहिलाको तुलनामा प्रतियोगितास्थलदेखि बजारसम्म झकिझकाउ हुनेछ । भारतीय सिमावर्ती क्षेत्रका दर्शकसमेत आकर्षित पारिनेछ ।’

उनले त्यसका लागि सिमावर्ती क्षेत्रमा प्रचारप्रसार र आउजाउका लागि यातायात सुविधा उपलब्ध गराइने सुनाए । उनले भने, ‘समग्रमा यो क्रिकेट मेलाका रूपमा प्रतियोगिताको प्रदर्शन हुनेछ ।’

प्रकाशित : मंसिर २५, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?