१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मनाङ र आर्मीको कठिन जित

काठमाडौँ — शीर्षस्थानमा रहेको मनाङ मस्र्याङदीसँगै त्रिभुवन आर्मीले सोमबार कमजोर मानिएका प्रतिद्वन्द्वीविरुद्ध कठिन प्रतिस्पर्धा गर्नुपरे पनि दोस्रो हाफमा गोल गर्दै जित हात पारेका छन् ।

मनाङ र आर्मीको कठिन जित

मनाङले मछिन्द्रलाई १–० ले हराएर सहिद स्मारक लिगमा शतप्रतिशत जित कायमै राख्यो भने आर्मीले ब्रिगेड ब्वाइजमाथि १–० कै नतिजा निकाल्यो ।


नाइजेरियाली फरवार्ड ओलावाले आफिजले खेल सकिन ५ मिनेटअघि गोल गर्दै मनाङलाई सफलता दिलाएका थिए । विभागीय टिम आर्मीका लागि टंक बस्नेतको गोलले तीन अंक दिलाएको थियो । मनाङ शतप्रतिशत जितसँगै २१ अंक जोडेर ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा छ । सातौं चरणको समाप्तिमा थ्रीस्टार र संकटाले समान १८ अंक बनाएका छन् । अपराजित आर्मी ५ जित र २ बराबरीसँगै १७ अंकसहित चौथो स्थानमा रहेको छ ।


हालसम्म जितविहीन रहेको मछिन्द्र (३ अंक) पुछारबाट दोस्रोमा छ । चौध टिम सहभागी रेलिगेसन नहुने लिगमा सातौं चरणसम्म कुनै पनि खेल जित्न नसकेको अर्को टिम एनआरटी हो । देशकै सबैभन्दा धनाढय क्लब एनआरटीले पहिलो खेलमा आर्मीसँग बराबरी गर्दै १ अंक जोडेको थियो । त्यसयता निरन्तर ६ खेल हारेको एनआरटी अंकतालिकाको पुछारमा छ । ब्रिगेड ब्वाइज (४ अंक) १२ औं स्थानमा छ ।


मनाङविरुद्ध मछिन्द्रले निकै मिहिनेती खेल देखाएको थियो । विशाल राईले दोस्रो मिनेटमै प्रहार गरेको बल पोस्ट नजिकिँदै बाहिरिएको थियो । मनाङका अन्जन विष्टले २१ औं मिनेटमा प्रहार गरेको बल पनि पोस्ट माथिबाट बाहिरिएको थियो ।


काउन्टरमा मछिन्द्रका अजित गुरुङलाई २८ औं मिनेटमा मनाङका गोलकिपर विशाल श्रेष्ठले असफल पारेका थिए । लगत्तै अन्जनले ३० यार्डबाट प्रहार गरेको बललाई मछिन्द्रका गोलकिपर दीप कार्कीले नियन्त्रणमा लिएका थिए । अन्जनले ३४ औं मिनेटमा गरेको हेडरमा दीपको नियन्त्रणमा गएको थियो । अन्जनले ४३ औं मिनेटमा नजिकबाट प्रहार गरेको बल पनि दीपले रोकेका थिए ।


मनाङले आठौं चरणमा आर्मीविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्यसका लागि मनाङले सोमबार केही मुख्य खेलाडीलाई आराम दिएको थियो । तर मछिन्द्रविरुद्ध पहिलो हाफ गोलरहित टुंगिएपछि मनाङ दोस्रो हाफमा फरवार्ड आफिज र विमल राना तथा मिडफिल्डर विशाल राईलाई मैदानमा उतार्न बाध्य भयो ।


दोस्रो हाफमा पनि मछिन्द्रका गोलकिपर दीपले थुप्रै बचाउ गरे । उनले अन्जनले ६५ औं मिनेटमा प्रहार गरेको पेनाल्टी पनि रोकेका थिए । साहिद अनिफोवोसले एडेलाजा सोमिडेलाई फल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । विमल रानाले ८० औं मिनेटमा प्रहार गरेको बल डिफेन्डर विवेक पण्डितले गोललाइनबाट क्लियर गरिदिए ।


डोना थापाको स्थानमा ५६ औं मिनेटमा मैदानमा छिरेका आफिजले ८५ ओं मिनेटमा गोल गर्दै मनाङको संकट टारे । उनले जिम्बावेका भिक्टर कामुकाको पास उपयोग गर्दै निर्णायक गोल गरे । ‘अर्को खेलमा आर्मीसँग खेल्नुपर्ने भएकाले केही मुख्य खेलाडीलाई हामीले आराम दिएका थियौं । तर उनीहरूलाई दोस्रो हाफमा खेलाउन बाध्य भयौं,’ मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘योजनाअनुसार हामीले खेल्न सकेनौं । फरवार्ड र मिडफिल्डबीच समन्वय राम्रो हुन सकेन र यो गम्भीर कुरा हो ।’ रेलिगेसनको व्यवस्था नहुँदा साना टिमहरूले दबाबरहित अवस्थामा राम्रो खेलिरहेको पनि उनले बताए ।


यसअघि भएको दिनको पहिलो खेलमा टंक बस्नेतले ६६ औं मिनेटमा गोल गरेपछि आर्मीले ३ अंक जोडेको थियो । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका उनले टेकबहादुर बुढाथोकीको क्रसमा हेडद्वारा गोल गरेका थिए । ‘हामीले राम्रो खेल्न सकेका छैनौं । यस्तै खेल्ने हो भने उपाधि जित्ने लक्ष्यमा पुग्न निकै कठिन छ,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने । लिगको आठौं चरण बिहीबार सुरु हुनेछ ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?