कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लगातार तेस्रो हारले चितवनको प्लेअफ सम्भावना कठिन

काठमाडौँ — लगातार तेस्रो हारसँगै चितवन टाइगर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफ चरणमा पुग्ने सम्भावनामा कमजोर बनेको छ । मंगलबार चितवन भैरहवा ग्ल्याडिएटर्ससँग चितवन १२ रनले पराजित भयो ।

लगातार तेस्रो हारले चितवनको प्लेअफ सम्भावना कठिन

चितवन यसअघि ललितपुर प्याट्रियट्ससँग ११ रन र काठमाडौं किङ्स–११ सँग ६ विकेटले पराजित भएको थियो । उसले लिग चरणमा पोखरा राइनोज र विराटनगर वारियर्ससँग खेल्न बाँकी छ । पोखराले पनि तीन हार ब्यहोरिसकेको छ । चितवन र पोखराको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । अघिल्लो संस्करणमा चितवन लिग चरणबाट माथि जान सकेको थिएन ।


त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । भैरहवाका लागि रायन टेन डेस्काथेले २५ बलमा ३५ रन बनाए । ओपनर प्रदीप ऐरीले २६ रन जोडे । अघिल्लो खेलमा १ सय २५ रनको शतकीय इनिङ्स खेलेका रवि इन्दर सिंहले २१ बलमा २५ रन बनाए । आरिफ शेखले १८ र पुनित मेहराले १२ रन बनाए । बलिङतर्फ चितवनका सौरभ ढकालले ३ र जर्ज स्कटले २ विकेट लिए ।


चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि विदेशी खेलाडीहरु पाउल स्टर्लिङ र जोन सिम्पसनबाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । ओपनर स्टर्लिङले २३ बलमा २ छक्का र ५ चौकाको सहयोगमा ३८ र सिम्पसनले २२ बलमा २६ रन बनाए ।


दशौं नम्बरमा ब्याटिङमा आएका साहव आलमले १६ र दिलिप नाथले १२ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान पृथु बाँस्कोटा (३), मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी (३) सस्तैमा आउट भएपछि चितवनको इनिङ धर्मराएको हो । भैरहवाका रवि इन्दर सिंह र कप्तान शरद भेषावकरले २/२ विकेट लिए । भैरहवाले सात जना बलर प्रयोग गरेको थियो । भैरहवाको लगातार दोस्रो जित हो ।


प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेलहरु हुनेछन् । बिहान ९ बजेदेखि सुरु हुने पहिलो खेलमा भैरहवा ग्ल्याडिएटर्स र विराटनगर वारियर्स तथा दिउँसो १ बजेदेखि सुरु हुने दोस्रो खेलमा काठमाडौं किङ्स–११ र ललितपुर प्याट्रियट्सबीच खेल हुनेछ ।

प्रकाशित : मंसिर २५, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?