कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भैरहवा ग्ल्याडिएटर्स ईपीएलको प्लेअफमा

काठमाडौँ — विराटनगर वारियर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्ल्याडिएटर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफ चरणमा प्रवेश गरेको छ । भैरहवाको यो लगातार तेस्रो जित हो ।

भैरहवा ग्ल्याडिएटर्स ईपीएलको प्लेअफमा

जितपछि भैरहवाको ६ अंक भएको छ भने शीर्ष स्थानमा पनि उक्लिएको छ । प्रतियोगिताको अपराजित टोली भैरहवाले ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स-११ विरुद्ध खेल्न बाँकी छ ।


विराटनगरले दिएको ९२ रनको झिनो लक्ष्य भैरहवाले इनिङको २ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो । सामान्य लक्ष्य भए पनि भैरहवाले जितका लागि संघर्ष गर्नुपर्‍यो ।


उसका लागि रायन टेन डेस्काथेले सर्वाधिक २० रन बनाए । कप्तान शरद भेषावकरले १६, रवि इन्दर सिंहले १२ र प्रदीप ऐरीले १० रन बनाए । अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।


बलिङतर्फ विराटनगरका भान डर मार्वेले २ विकेट लिए । करण केसी, पाउल भान मिकेरन, बसन्त रेग्मी र रोविन क्षेत्रीले १/१ विकेट लिए ।


यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा अलआउट हुँदै ९१ रनको योगफल बनाएको थियो । भैरहवाविरुद्ध विराटनगरका ब्याट्सम्यानहरु रन बनाउन संघर्षरत रहे ।


सुरुआती ४ ब्याट्सम्यान सस्तैमा आउट हुँदा रोएल्फ भान डर मार्वेले सर्वाधिक २५ रन बनाए । करण केसीले १८, सुमित महर्जनले १५ र हरिबहादुर चौहानले १३ रन बनाए । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।


विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका मोहम्मद नाविदले ४ विकेट लिए । उनले ४ ओभरमा १४ रन खर्चिए । कृष्ण कार्की र अभिनाश बोहोराले २/२ विकेट लिए ।


आजै हुने दोस्रो खेलमा काठमाडौं र ललितपुर आमने सामने हुनेछन् ।

प्रकाशित : मंसिर २६, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?