च्याम्पियन्स लिग : लिभरपुल र टोटेनहमलाई जीवनदान

एएफपी

पेरिस — मोहम्मद सलाहले पहिलो हाफमा गरेको गोल र खेलको अन्तिम समयमा गोलरक्षक एलिसन बेकरले गरेको सानदार बचाउमा लिभरपुल युरोपेली च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

च्याम्पियन्स लिग : लिभरपुल र टोटेनहमलाई जीवनदान

लिभरपुलले मंगलबार इटालियन टोली नेपोलीलाई १–० ले पराजित गर्दै समूह चरण पार गरेको हो ।

अर्को इंग्लिस टोली टोटेनहम पनि नकआउट चरणमा पुगेको छ । लुकास माउराले अन्तिम समयतिर गरेको गोलमा टोटेनहमले बार्सिलोनासँग १–१ को बराबरी नतिजा निकाल्यो ।


दुई इंग्लिस टोली आ–आफ्नो समूह चरणको उपविजेता भएर नकआउट चरणमा पुगेका हुन् । यस्तोमा लिभरपुलले समूह विजेता बनेका बार्सिलोना, बोरुसिया डर्टमन्ड, एफसी पोर्टो जस्ता टोलीसँग क्वाटरफाइनलमा स्थान बनाउन खेल्नुपर्ने हुन्छ ।


गत वर्षको उपविजेता लिभरपुललाई नकआउट चरणमा पुग्न नेपोलीसँगको खेल १–० ले वा २ गोल अन्तरमा जित्नुपर्ने थियो । समूह ‘सी’ बाट लिभरपुललाई माथि उकाल्न सलाहले ३४ औं मिनेटमा गरेको सानदार गोल पर्याप्त बन्यो । लिभरपुल र नेपोलीको समान गोल भए पनि लिभरपुलले इटालियन टोलीभन्दा बढी गोल गरेका कारण छनोट हुन सक्यो ।


‘खेल निकै उत्कृष्ट रहयो । मलाई लाग्दैन कुनै पनि एउटा व्यवस्थापक यो स्थितिमा मभन्दा बढी आफ्नो टिमलाई लिएर गर्व गर्नसक्छ,’ लिभरपुलका व्यवस्थापक योर्गेन क्लोपले भने । सलाहले दुई, साडियो मानेले ३ र जेम्स मिल्नरले हेडमा एउटा गोल गर्ने अवसर गुमाउँदा लिभरपुलले झन्डै त्यसको मूल्य चुकाउनुपरेको थियो ।


छनोट भएपछि टोटेनहमका खेलाडी ।


कसैको निगरानीमा नरहेका नेपोलीका स्ट्राइकर अर्का डिउस्ज मिलिजले इन्ज्युरी टाइममा सिक्स यार्ड लाइनबाट गरेको प्रहार एलिसनले खुट्टाले बचाउ गर्दै लिभरपुलको उद्दार गरेका थिए ।


‘उनले त्यस्तो बचाउ कसरी गरे मलाई केही थाहा छैन, त्यो आश्चर्यजनक नै थियो,’ जुलाईमा अर्को इटालियन क्लब एएस रोमाबाट झन्डै ७ करोड पाउन्डमा ल्याइएका ब्राजिली गोलरक्षक एलिसनबारे क्लोपले भने, ‘मलाई एलिसन यति राम्रो छ भन्ने थाहा भएको भए म उनका लागि दोब्बर रकम खर्चिन्थे । सलाहले उत्कृष्ट गोल गरे तर एलिसनको बचाउका लागि मसँग कुनै शब्द छैन । त्यो जीवनदान जस्तै भयो ।’


पेरिस सेन्ट जर्मेन (पीएसजी) यस समूहको विजेता बन्यो । पीएसजीले रेड स्टार बेलग्रेडमाथि ४–१ को विजय हात पार्‍यो । इडिन्सन काभानी, नेयमर, केलियन एमबाप्पेले पीएसजीबाट गोल गरे । पीएसजीको ११ अंक रहयो । समूह चरण पार गर्न पीएसजीलाई बेलग्रेडमा जित हात पार्नुपर्ने थियो ।


समूह ‘बी’ मा टोटेनहम पनि त्यही स्थितिमा थियो । क्याम्प नोउमा विजय हात नपारे स्पर्स बाहिरिन सक्थ्यो । तर इटालीमा पीएसभी आइन्डहोभेनले इन्टर मिलानलाई १–१ को बराबरीमा रोकिदिएपछि टोटेनहमले पनि जीवनदान पाएको हो । इन्टरसँग समान ८ अंक भए पनि टोटेनहम हेड टु हेडका आधारमा अगाडि बढ्यो ।


बार्सिलोनाले ओसमाने डेम्बेलेको उत्कृष्ट गोलमा सातौं मिनेटमै अग्रता लिएको थियो । उता हायरभिङ लोजानोले सान सिएरोमा इन्टरविरुद्ध पीएसभी अप्रत्याशित अग्रता दिलाएका थिए । यो नतिजामा टोटेनहम नकआउट चरणमा पुग्थ्यो ।


माउरो इकार्डीले १७ मिनेट बाँकीको अवस्थामा इन्टरलाई अग्रता दिलाएर छनोटको नजिक पुर्‍याए । लुइस स्वारेज र लियोनल मेसीको अनुपस्थितिमा पनि बार्सिलोनाले दोस्रो गोल गर्ने अवसर बनाएको थियो । तर फिलिप कोटिन्होको प्रहार पोस्टमा लाग्न पुग्यो ।


समूह चरणबाट बाहिरिने अवस्थामा पुगेको टोटेनहमबाट ह्यारी केनको लो क्रसमा माउराले गोल गर्दै बार्सिलोनासँगको खेल ८५ औं मिनेटमा बराबरीमा ल्याए, जुन गोलले अन्तमा इंग्लिस टोलीलाई नकआउट चरणमा पुर्‍यायो । ‘हामीले यो खेल जित्न सक्छ भन्नेमा मलाई जहिले विश्वास थियो । हामी बार्सिलोनासँगै अगाडि बढ्न योग्य टोली थियौं । यो कठिन समूहमा हामी दुई उत्कृष्ट टोली थियौं,’ टोटेनहमका व्यवस्थापक माउरिसियो पोचेटिनोले भने ।


बोरुसिया डर्टमन्डले मोनाकोलाई २–० ले पराजित गरी समूह ‘ए’ को विजेता बन्यो । एट्लेटिको म्याड्रिडले क्लब ब्रगसँगको खेलमा गोलरहित बराबरी नतिजामात्र निकाल्न सक्यो । समान १३ गोल भए पनि एट्लेटिकोभन्दा डर्टमन्ड अगाडि रहयो ।


पोर्टोमा ३–२ को हार बेहोरे पनि समूह ‘डी’ बाट गालाटासारे युरोपा लिगलाई छनोट भयो । समूहको तेस्रो हुने टोलीले युरोपा लिगमा खेल्न पाउने प्रावधान छ । पोर्टो १६ अंकसाथ समूहको शीर्षस्थानमा रहयो । साल्के दोस्रो स्थानमा रहयो । साल्केले लोकोमटिभ मस्कोलाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित : मंसिर २७, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?