शरणार्थीले कराँते आयोजना गर्ने

दमक — भुटानी शरणार्थीले अन्तर्राष्ट्रिय सितोरियो कराँते च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेका छन् । शरणार्थी शिविर बेलडाँगीमा उनीहरूले डिसेम्बर १६ र १७ मा गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएका छन् । 

उनीहरूले शरणार्थी शिविरमा सन् १९९३ मा स्थापना गरेको भुटान कराँते फेडेरेसन (बीकेएफ) को आयोजनामा प्रतियोगिता गर्न लागेका हुन् । भुटानको प्रतिनिधित्व गर्दै शरणार्थीको एउटा टिम, भारत र बंगलादेशको १–१ टिम तथा नेपालका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र तेह्रथुमका ९ टिमले भाग लिने बीकेएफका अध्यक्ष नरबहादुर गुरुङले जानकारी गराए । प्रतियोगितामा ४ देशका गरी एक सय ५० खेलाडी र प्रशिक्षक सहभागी हुनेछन् । प्रतियोगितामा २२ देखि ७० केजीबीच ११ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

भुटानी शरणार्थीबाट सहयोग संकलन गरी प्रतियोगिता गर्न लागेको आयोजक समितिका सचिव नरेश राईले बताए । उनले भुटानमा कराँते खेल प्रतिबन्धित रहँदाकै बेला सिविरमा संस्था स्थापना गरेर कराँते खेललाई अघि बढाएको उनले सुनाए ।


भुटान कराँते फेडेरेसनले हजारौं संख्यामा खेलाडी उत्पादन गरे पनि उनीहरूले उचित स्थान नपाइरहेको गुनासो अध्यक्ष गुरुङको थियो । ‘आगामी दिनमा हाम्रा खेलाडीलाई अन्यत्र पनि खेल्न बोलाइयोस् भन्ने उद्देश्यले सम्बन्ध विस्तारका लागि सहयोग उठाएर भए पनि यो प्रतियोगिता गर्न लागेका हौं,’ गुरुङले भने ।


शरणार्थी खेलाडीसम्मिलित भुटान कराँते फेडेरेसनको टिमले नेपाल र भारतमा आयोजित प्रतियोगितामा १–१ पटक प्रथम तथा ४० भन्दा बढी पदक जितेर ल्याएको गुरुङले बताए ।

प्रकाशित : मंसिर २७, २०७५ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?