पल्सर सहिद स्मारक लिग : संकटाको लय कायमै

सरस्वती १–० एनआरटी
संकटा २–० हिमालयन शेर्पा
जावलाखेल १–० एपीएफ

काठमाडौँ — पछिल्ला केही सिजन संकटा क्लबले मोफसलका प्रतियोगितामा गरेको राम्रो प्रदर्शन संयोगमात्र थिएन । यो त उसले समाएको लय नै रहेछ । यस्तै लय संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पनि देखाएको छ ।

पल्सर सहिद स्मारक लिग : संकटाको लय कायमै

त्यसैको निरन्तरता हो, संकटाले बिहीबार हिमालयन शेर्पा क्लबमाथि दर्ता गरेको २–० को जित । लिग उपाधिका लागि मनाङ मस्र्याङ्दी र थ्रीस्टारबीच चल्ने दोहोरो प्रतिस्पर्धामा आँच पुर्‍याउन सक्ने एउटा टिमका रूपमा संकटालाई मानिएको थियो ।


टिमले अहिलेसम्म आफ्ना समर्थकलाई निराश पनि पारेको छैन । पछिल्लो जितपछि संकटा दोस्रो स्थानमा पनि उक्लेको छ । यसपल्ट उसले प्राप्त गरेको जितमा गोल गर्ने खेलाडी रहे सेड्रिक अबा र दीपेश आलेमगर ।


एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा अबाले एक्लो प्रयासमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यो गोल १२ औं मिनेटमा सम्भव भएको थियो । संकटाले दोस्रो गोलका लागि लामो समय पनि कुर्नुपरेन । दोस्रो गोल १४ औं मिनेटमै सम्भव भयो । अमित तामाङको प्रहारमा हिमालयन शेर्पाले राम्रोसँग क्लियर गर्न नसकेपछि अवसर कुरिरहेका दीपेशले गोल गरे ।


यो जितपछि संकटाको ८ खेलबाट २१ अंक भएको छ । संकटाको यो सातौं जित पनि हो । यससँगै अंकमा मनाङ मस्र्याङ्दीसँग बराबरी पनि गरेको छ । डिफेन्डिङ च्याम्पियन मनाङले एक खेल कम खेलेको छ । अर्कोतर्फ हिमालयन शेर्पासँग ११ अंक भएको छ, समान ११ खेलबाट ।


संकटाको पुरानो प्रतिद्वन्द्वी तथा छिमेकी मान्न मिल्ने एनआरटीले अहिलेसम्म तय गरेको लिग यात्राको कथा भने ठ्याक्कै फरक छ । उसले अहिलेसम्म उल्टो दिशा समातेको छ । एनआरटीलाई सुरुमै लिग खेल्न नखेल्नेमा दोमन थियो र यसको छनक अहिले खेलमा प्रस्ट देखिएको छ ।


लिग इतिहासकै एक सफल क्लब एनआरटीले गरेको अहिलेसम्मको प्रदर्शन निराशाजनक छ र यसका लागि एक मात्र भाग्यको खेल के भने भने यसपल्ट रेलिगेसनको नियम लागू हुने छैन ।


दिनको पहिलो खेलमा लगातार सातौं हार बेहोरेको एनआरटीलाई यसपल्ट थप निराश पार्ने टिम रह्यो, आफैंमा राम्रो खेल्न संघर्षरत सरस्वती युवा । सरस्वतीको एक गोलको निर्णायक जितका नायक रहे भिक्टोर एमओबी । उनले ७३ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल नै ३ अंकका लागि पर्याप्त रह्यो ।


सरस्वतीको यो तेस्रो जितमात्र हो । नवौं स्थानमा सरस्वतीको ९ अंक छ । सरस्वतीले अन्तिम ५ मिनेट १० खेलाडीमा खेलेको थियो । उसका नाइजेरियन खेलाडी फ्रान्सिसले दोहोरो पहेंलो कार्ड पाएका थिए ।

पुछारमा रहेको एनआरटीको भने १ अंकमात्र छ र यो पनि लिगको उद्घाटन खेलमै प्राप्त भएको थियो ।


यता हल्चोक मैदानमा भएको खेलमा एपीएफको प्रदर्शन फेरि एकपल्ट निराशाजनक रह्यो । आफ्नो घरेलु मैदानमा केही गर्न नसक्ने टिमका रूपमा एपीएफलाई सम्झिने छ । परम्परागत रूपमै लिगमा एपीएफको प्रदर्शन लगातार खराब रहने गरेको छ । बिहीबार उसलाई हराउने टिम जावलाखेल युथ रह्यो ।


नाइजेरियन खेलाडी ओलेकाने अफिज लावलले ४९ औं मिनेटमा निर्णायक गोल गरे । गोल फ्रिकिकमा सम्भव भएको हो । जावलाखेलको ७ अंक भयो भने एपीएफसँग १० अंक छ ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?