कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अहिले लगानी, पछि प्रतिफल

मैले क्रिकेटलाई व्यापारभन्दा ‘प्यासन’ को रूपमा राखेको छु । प्यासनलाई व्यावसायिक हिसाबमा लग्दै दिगो बनाउनुपर्छ । 
मैले प्यासनमात्र राखेर दिगो बनाउन सकिनँ भने भोलिको दिनमा म कहीं हुने छैन । म ठूलो व्यापारी होइन, करोडौं रुपैयाँ आफ्नै खल्तीबाट हाल्नलाई ।
विनोद पाण्डे

काठमाडौँ — किशोर महर्जन पेसाले बैंकर हुन् । खेल क्षेत्रमा उनी नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको अध्यक्षका हैसियतमा छन् । गत वर्षदेखि उनी खेल कम्पनीको मालिक बने । त्यो खेल स्क्वास नभई क्रिकेट थियो ।

अहिले लगानी, पछि प्रतिफल

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उनले बनाएको फ्रेन्चाइज टोली ललितपुर प्याट्रियट्सले गतिलो प्रदर्शन गरिरहेको छ । गत वर्ष फाइनल पुग्न थोरैले चुकेको प्याट्रियटसले अहिले जारी प्रतियोगितामा पहिलो खेलको हारपछि लगातार तीन खेल जितेर प्लेअफ स्थान सुरक्षित गरिसकेको छ ।


सन्नी पटेल, जयकिसन कोल्सावाला, गौरव तोमारजस्ता नेपाली भूमिमा परिचित भारतीय खेलाडीको उम्दा प्रदर्शनले प्याट्रियट्सलाई उपाधि दाबेदारमा उभ्याएको छ । युवा सनसनी सन्दीप लामिछाने ईपीएलको दुई खेलपछि बिग–बास खेल्न अस्ट्रेलिया लागे पनि टोलीको बलिङ धार उस्तै तेजिलो देखिएको छ । लगातार तीन जितबाट उत्साही प्याट्रियट्सका मालिक किशोर महर्जनले ईपीएलसँग जोडिएर राखेका भनाइ उनकै शब्दमा :


किशोर महर्जन

मालिक, ललितपुर प्याट्रियट्स


लगातार तीन खेल जित्नुलाई सन्तुष्ट नै मान्नुपर्ला । अझ राम्रोसँग जितिन्छ कि जस्तो लागेको थियो । पहिलो खेलमा हार्‍यौं । निश्चय पनि विराटनगर वारियर्स राम्रो टोली हो । पिचको अवस्था हेर्दा राम्रै रन हानेका हौं, तर कता–कता जितिसकेको खेल पनि हार्न पुग्यौं ।


त्यसपछिका खेलमा हामीले गल्तीबाट पाठ सिक्दै तीन खेल जितेका छौं । काठमाडौं किंग्ससँगको चौथो खेल महत्त्वपूर्ण खेल थियो । त्यो नजितेको भए उल्टै हामीलाई गाह्रो हुनसक्थ्यो । आरामदायी जित्यौं, मैले आस गरेभन्दा पनि सहज हिसाबमा जित्यौं ।


राउन्ड रोबिनको खेलपछि हामी शीर्षस्थानमै बस्ने सम्भावना छ । भैरहवा ग्लाडियटर्ससँगको खेल जित्यौं भने निश्चय पनि शीर्षस्थानमा हुन्छौं । जुन हिसाबको ब्याटिङ र बलिङ हाम्रो टिमले गरेको छ, त्यसअनुसार निकै आशावादी छौं । स्पिनर हाम्रो धेरै राम्रो छ । सन्दीप (लामिछाने) जस्ता स्पिनर नहुँदा पनि हामीले काठमाडौंलाई सजिलै पराजित गर्न सक्यौं ।


हाम्रो ओपनिङ ब्याट्सम्यानले दुई खेलमा शतकीय साझेदारी निभाइसकेका छन् । गौरव तोमारलाई अवैधानिक बलिङमा गरिएको निलम्बनको क्षतिपूर्ति उनले काठमाडौंसँगको खेलमा ब्याटिङबाट देखाए ।

विशेष गरी सन्दीप नहुँदा हाम्रो बलिङमा फरक पर्छ जस्तो लागेको थियो । हाम्रो टोलीमा त्यसै ठूला नामले चिनिएका अन्तर्राष्ट्रिय खेलाडी छैनन् । अरु टोलीमा आयरल्यान्ड, स्कटल्यान्ड, यूएई, हङकङका कप्तान तथा टान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने दक्षिण अफ्रिकाका रिचर्ड लेभी जस्ता ब्याट्सम्यान छन् । तर हामीसँग त्यस्ता विदेशी छैनन् ।


गत वर्षको अनुभव रहेका भारतीय खेलाडी थिए । हामीले उनीहरूलाई नै विश्वास गरेर निरन्तरता दियौं । सन्दीप नभए पनि बलिङमा हामीसँग ललितनारायण राजवंशी छन् । पवन सर्राफ जस्ता उदाउँदै गरेका खेलाडी छन् । उनले लगातार दुई खेलमा ३–३ विकेट लिएका छन् । त्यो बाहेक हामीसँग अर्का युवा बलर रशिद खान छन् । उनीहरूलाई हामीले विश्वास गरेका छौं ।


यसमा सन्नी पटेलको अनुभव पनि छ । त्यस हिसाबमा हाम्रो सन्तुलित बलिङ र केही राम्रो ब्याटिङ टोली छ । मेरो विश्वास यसैले बनाएको हो ।


मलाई भारत बाहिर भनौं वा युरोपेली खेलाडी ल्याएर शतप्रतिशत जित्छौं भन्ने विश्वास छैन । यहाँको कन्डिसनमा भारतीय खेलाडीले राम्रो खेल्दै आएका छन् । उनीहरूले अरु लिगमा खेल्दा पनि राम्रो प्रदर्शन देखाएका छन् । सन्नी पीपीएलमा म्यान अफ द सिरिज भए भने तोमारले सर्वाधिक रन बनाए । यहाँको कन्डिसनमा उनीहरू नै उत्कृष्ट खेलाडी हुन् र राम्रो प्रदर्शन गर्ने आस पनि गरेको छु ।


एउटा मालिक, प्रशिक्षकसँग उनीहरूको जुन उठबस छ, त्यसले आत्मीयता पनि बनाएको छ । हामीले निश्चित मात्रामा सकारात्मक सन्देश दिन सक्यौं भने पनि खेलाडीको प्रदर्शन फिल्डमा राम्रो हुन्छ । त्यही कारण आज यो नतिजा आइरहेको छ ।


प्रशिक्षक, कप्तान र मेरो सम्बन्ध धेरै राम्रो छ । प्रशिक्षक राजु बस्न्यात हामीसँग गत वर्ष पनि हुनुहुन्थ्यो, अहिले पनि लिएका छौं । कप्तान ज्ञानेन्द्र मल्लले गत वर्ष नै ललितपुर प्याट्रियटसबाट खेल्ने भनेर इच्छा देखाएका थिए । हामीले उनलाई टिममा स्वागत गरेका हौं । कप्तानबाहेक उनी राम्रो व्यवस्थापक र प्रशासक पनि हुन् ।


गत वर्षभन्दा हामीलाई यस वर्ष टिम व्यवस्थापन गर्न धेरै सजिलो भयो । हामीले यसपल्ट धेरै खेलाडी परिवर्तन गरेनौं । दुई जनामात्र परिवर्तन गरेका छौं । त्यसै पनि खेलाडीसँग हाम्रो गत वर्ष नै राम्रो सम्बन्ध भइसकेको थियो । हामीलाई हरेक खेलाडीको बलियो पक्ष र कमजोरी राम्रोसँग थाहा छ ।


त्यस हिसाबमा प्रशिक्षकलाई पनि आइडिया भयो । सन्नी र जयकिसन गत वर्ष पनि भइसकेकाले टोलीमा सबैलाई मिक्सअप हुन सजिलो भयो । सबैलाई एउटै होटलमा राखेका छौं । अरु केही टिमको हकमा विदेशी खेलाडी अलिक माथिल्लो स्तरको होटल र नेपाली खेलाडी अलिक कम स्तरको होटलमा बसेका छन् भन्ने सुनेको छु । हामीले सबैलाई एकै ठाउँमा राखेर समान सुविधा प्रदान गरेका छौं । एउटा मालिकको रूपमा मैले खेलाडीसँग घुलमिल गरेर यो सम्बन्ध बनाएको छु ।


प्रायोजकलाई बुझाउन अलिकति मिहिनेत गर्नैपर्छ । यो सबै कसरी माइलेज दिने भन्नेमा पर्छ । मेरो इभेन्ट म्यानेजमेन्ट आइडिया सपले गर्छ । आइडिया सप व्यावसायिक इभेन्ट कम्पनी हो । यसले मार्केटिङ र प्रोमसनल गतिविधि पनि गर्छ ।


उनीहरूलाई माइलेज कसरी दिनुपर्छ भनेर राम्रो ज्ञान छ । हरेकपल्ट प्रायोजकसँग प्रस्ताव राख्दा हामीले देखाउने के हो भने स्वतन्त्र रूपमा कुनै पनि मिडियामा परिणाम र स्तरको प्रमोसन गतिविधि गर्दैछौं । हरेक कम्पनीको प्रायोजनका लागि त्यति नै स्वतन्त्र वा व्यक्तिगत रूपमा गर्नुपर्‍यो भने जुन प्रायोजनको रकम तोकेका हुन्छौं त्यो भन्दा दुई, तीन गुणा नै बढी पर्न जाने कागजमै प्रमाणित गरेर देखाउँछौं ।


आइडिया सपसँग त्यो स्तर र क्षमता छ । यसले प्रायोजकहरू पनि सहमत हुने गरेका छन् । सुरुमा प्रायोजकहरू हामी किन खर्च गर्ने भनेर त आउँछन् । सडकमा एउटा गेट बनाएर हाल्दा पनि ५–६ लाख खर्च हुन्छ । एउटा जर्सी बनाएर बेच्दा पनि खर्च नै हुन्छ । टिभी विज्ञापनमा पनि त्यस्तै खर्च हुन्छ । यो सबै गर्दै हामीले प्रायोजकलाई राम्रोसँग समेटेका छौं । यसले प्रायोजकको पनि चित्त बुझेको छ ।


मैले क्रिकेटलाई व्यापारभन्दा प्यासनको रूपमा राखेको छु । प्यासनलाई व्यावसायिक हिसाबमा लग्दै दिगो बनाउनुपर्छ । मैले प्यासनमात्र राखेर दिगो बनाउन सकिनँ भने भोलिको दिनमा म कहीं हुने छैन । म ठूलो व्यापारी होइन, करोडौं रुपैयाँ आफ्नै खल्तीबाट हाल्नलाई ।


ललितपुर प्याट्रियट्स कुनै कर्पोरेट हाउसको आडमा बनेको टोली होइन । यसमा मेरो प्यासन एकातिर छ । त्यसबाहेक धेरै सम्भावना भएको यो खेललाई कहाँसम्म लाने, कति लाने भन्ने चाहना मभित्र छ । त्यसलाई व्यावसायिक हिसाबमा उभ्याउन र आर्थिक रूपमा धान्न प्रायोजकबाहेक टेलिभिजन प्रत्यक्ष प्रसारणको अधिकार ठूलो स्रोत बनेर आएको हामीले विदेशको विभिन्न खेलको लिगबाट देखिसकेका छौं । हामीले त्यही मोडल अनुशरण गर्दै गएका छौं ।


केही वर्ष यसलाई दिगो बनाउन सक्यौं भने कुनै दिन टेलिभिजन राइट्सबाट ५० गुणा बढीसम्म स्रोत जुट्न सक्छ भन्ने आस राखेको छु । अहिले मेरो कम्पनीमा म र मेरी श्रीमती व्यक्तिगत रूपमा छौं । अब थुप्रै कम्पनीहरू यसमा आबद्ध हुन चाहन्छन् । कसैले २, कसैले ५ प्रतिशत भए पनि शेयर दिनु भनेर कम्पनी र व्यक्तिहरूले मागिरहेका छन् । २–३ वर्षलाई चाहिँ यही अवस्थामा चलाउँ भनेर अहिले त्यसलाई थाँती राखेका छौं । अहिले लगानी हो, बिस्तारै यसको प्रतिफल आउँछ भन्ने मेरो विश्वास छ ।


स्क्वासको पनि कुरा गरौं । स्क्वासमा यस्तो माहोल बनाउन अलिकति अप्ठयारो छ । स्क्वास नेपालमा मात्र नभएर संसारमै त्यति ग्ल्यामर्स खेल होइन । टेनिस, बक्सिङ, बास्केटबल जस्तो स्तरमा स्क्वास अझै पुगेको छैन । यो सम्भावना र नेपालले पदक जित्ने प्रचुर सम्भावना बोकेको खेल हो यो ।


त्यसैले म यसमा लागिपरेको छु । व्यक्तिगत खेल भएकाले यसमा स्किल, स्टामिना चाहिन्छ, ६, साढे ६ फिट हुनुपर्दैन, बलिष्ठ ज्यान बनाउनुपर्दैन । त्यही भएर नेपालीले यसमा पदक ल्याउन सक्छन् । यसलाई व्यावसायिक नाप दिने प्रयास त गरिरहेको छु ।


मैले आमाको स्मृतिमा तीन संस्करण प्रतियोगिता गरिसकेको छु । यहाँसम्म आइपुग्दा मैले केही प्रायोजक संस्थालाई बाँध्न सकेको छु । केही प्रायोजक आइसकेका छन् ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?