कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सही दिशामा लिभरपुल

हिमेश बज्राचार्य

काठमाडौँ — ठीकै भनिएको हो, ग्यारेन्टी नै चाहिएको हो भने वासिङ मेसिन किन्नुपर्छ । फुटबल केही ग्यारेन्टी हुन्न । कम्तीमा यति भन्न सकिन्छ, लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा नेपोलीलाई हराएर नकआउट चरण पुगेयता उसका लागि सिजन सही दिशामा अग्रसर छ ।

सही दिशामा लिभरपुल

इंग्लिस प्रिमियर लिगमा १६ चरण सकिएको छ । योर्गेन क्लोपको टिमको शीर्षस्थानमा छ, त्यो पनि अपराजित रहेर । च्याम्पियन्स लिगमा पनि अन्तिम १६ पुगेपछि क्लबलाई धेरै राहत पुगेको छ ।


क्रिसमस नजिकिँदै गर्दा लिभरपुलको यो स्थितिलाई उत्कृष्ट मान्न सकिन्छ । च्याम्पियन्स लिगमा लिभरपुलको यात्रा खास भन्ने हो भने प्रभावशाली रहेन । उसले तीन खेल गुमाएको थियो लिग चरणमा । यी हार थिए, उनै नेपोलीदेखि रेडस्टार बेलग्रेड र पेरिस सेन्ट जर्मेनविरुद्ध । तर यसलाई हेर्न अर्को दृष्टिकोण पनि छ । लिभरपुल त्यस्तो समूहबाट अगाडि बढेको छ, जसलाई निकै कठिन मान्न सकिन्छ । अब नकआउट चरणमा जे पनि हुनसक्छ ।


लिग चरणमा के भयो त्यसको अर्थ हुन्न । फेरि दुई लेगको नकआउट चरण काट्न लिभरपुल माहिर मानिन्छ । पोहोर सिजनको तुलनामा यसपल्ट क्लबको स्थितिमा पक्कै सुधार आएको छ । पछिल्लो सिजन लिभरपुलका खेल कहींकतै नमिलेजस्तो देखिन्थ्यो । यसपल्ट एनफिल्डमा लिभरपुल अजय देखिन्छ । क्लबका लागि अहिले तत्काल सबैभन्दा ठूलो राहत र उपलब्धि दुवै बनेको छ, जादुयी इजिप्टका खेलाडी मोहम्मद सलाहले लय समात्नु ।


उनी गत सिजन पनि लयमै थिए । सायद अहिलेभन्दा पनि चर्को । तर त्यति बेला लिभरपुलको डिफेन्स अहिले जस्तो सदृढ थिएन, जसले पनि त्यसलाई तोडेर गोल गर्नसक्ने जस्तो थियो । अहिले डिफेन्ड बलियो हुनुको कारण हो, त्यहाँ भर्जिल भान डिकको दरिलो उपस्थिति । उनको अहिलेको प्रदर्शन हेर्दा लाग्छ, उनका लागि तिरेको ७ करोड ५० लाख पाउन्ड केही पनि त होइन । उनीलाई बलियो साथ दिन गोलरक्षक एलिसन पनि छँदैछन् ।


जनवरीमा भान डिक साउथह्याम्पटनबाट एनफिल्डमा आएका थिए । पछि त्यसमा रोमाबाट ब्राजिली गोलरक्षक थपिए, ६ करोड ७० लाख पाउन्डमा । उनले नेपोलीविरुद्धको खेलको इन्ज्युरी समयमा गज्जबले बचाएका थिए । अन्तिम सेकेन्डतिर रोमा निश्चित गोलको अवसरमा पुगेको थियो । त्यसैले क्लोपले भनिहाले, एलिसन यति राम्रा बचाउ गर्छन् भन्ने थाहा भएको भए उनलाई अझ दोब्बर रकम तिर्न पनि तयार हुन्थ्यो क्लब । त्यो पनि खुसी–खुसी ।


एलिसनले अहिलेसम्म १२ खेलमा क्लिन सिट राखेका छन् । क्लबले बार्सिलोनालाई फिलिपे कोउटिन्हो बेचेर प्राप्त गरेको रकमको खुबै मीठो सदुपयोग गरेको छ । लिभरपुलमा अहिले लेफ्ट ब्याकमा उत्तिकै उत्कृष्ट एन्ड्रयु रोबर्टसन पनि छन् ।


त्यसो त टिमको कप्तानका रूपमा जोर्डन हेन्डरसनले आर्मब्यान्ड लगाउने गर्छन् । तर मैदानको खेल हेर्दा लाग्छ कप्तान त तिनै डच खेलाडी भान डिक पो हुन् कि ? लिभरपुलले एक दर्जन खेलमा कुनै गोल नखानुको कारण भान डिक पनि हुन् ।


नेपोलीविरुद्ध केही पनि तल–माथि भएको भए, लिभरपुलले युरोपा लिग खेलिरहेको हुन्थ्यो । यो यस्तो प्रतियोगिता हुन्थ्यो, न त यो खेल्नुमा मज्जा छ, न छाड्नुमा । च्याम्पियन्स लिगको मज्जा भने बेग्लै छ । ठीक यहाँनिर प्रश्न छ, के लिभरपुलले एकै समय प्रिमियर लिग र च्याम्पियन्स लिगलाई सँगसँगै अगाडि बढाउन सक्छ त ? कम्तीमा क्लबले नयाँ वर्षसम्मका लागि च्याम्पियन्स लिगमा टाउको दुखाउनुपर्दैन । पूर्णत: घरेलु लिगमै ध्यान दिनसक्छ । यसबीच लिगले माग्ने समर्पण भने बेजोड छ, निकै तनावपूर्ण स्थितिमा लगातार खेल्नुपर्नेछ ।


यहाँनिर नै लिभरपुललाई एउटा तथ्यमा फाइदा हुनसक्छ । लिभरपुललाई लिगमा दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि झिनो अंकको मात्र अग्रता प्राप्त छ । तर पेप ग्वार्डिओलाको ध्यान घरेलु लिगभन्दा च्याम्पियन्स लिगमा केन्द्रित छ । उसले लिगमात्र जितेर के भयो र ? च्याम्पियन्स लिग नजितेसम्म कसरी ठूलो क्लब हुन पाइन्छ र ?


सिटी यही प्रश्नमा बढी केन्द्रित हुनसक्छ र यसबाट फाइदा लिने टिम अरू कुनै होइन, लिभरपुल हुनसक्छ । तर सुरुमै भनेजस्तै फुटबलमा ग्यारेन्टी भन्ने नै के छ र ?

प्रकाशित : मंसिर २९, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?