कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ललितपुर ईपीएलको फाइनलमा

काठमाडौँ — काठमाडौं किंग्स-११ विरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै ललितपुर प्याट्रियट्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पुगेको छ । 

ललितपुर ईपीएलको फाइनलमा

ललितपुरलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो । जितेन्द्र मुखियाको ओभरमा पहिलो बलमा योगेन्द्र सिंह कार्कीले २ रन लिने क्रममा नन स्ट्राइक एण्डका सूर्य तामाङ रनआउट भए । दोस्रो बलमा योगेन्द्रले रन लिन सकेनन् । तर, त्यसपछिका चार बलमा योगेन्द्रले २/२ रन लिँदै ललितपुरलाई फाइनलमा पुर्‍याए । योगेन्द्रले २९ बलमा अविजित २८ रन बनाए ।


कमजोर लक्ष्य पछ्याए पनि ललितपुरले राम्रो सुरुआत गर्न सकेको थिएन । ओपनिङ जोडी गौरव तोमर १ र जयकिसन कोल्सावाला ७ रनमा आउट भएपछि सुरुमै ललितपुरको इनिङ धर्मराएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले पनि २२ बलमा २१ रनमात्र बनाउन सके ।


११ औं ओभरमा प्रदीप साहुले तीन विकेट लिएपछि ललितपुर झनै दबाबमा पर्‍यो । प्रदीले १०.१ ओभरमा पवन सर्राफलाई १९ रनको स्कोरमा सागर पुनको हातबाट क्याच आउट गराए भने १०.३ ओभरमा सन्दीप जोरा र त्यसको अर्को बलमा सन्नी पटेललाई खाता खोल्नै दिएनन् ।


पाँचौं विकेटका रुपमा आएका कुशल भुर्तेलले २७ बलमा २९ रन बनाए । यो ललितपुरका ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । काठमाडौंका प्रदीप साहुले ४ ओभरमा १ मेडन राख्दै मात्र ११ रन खर्चेर ३ विकेट लिए । केविन ओ'ब्राइन र रोहन मुस्तफाले २/२ विकेट लिए ।


यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । काठमाडौंका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन छुन सके ।


कप्तान रोहन मुस्तफा दुर्भाग्यपूर्ण रनआउटको शिकार भएसँगै काठमाडौंको ब्याटिङ धर्मराएको थियो । २० बलमा ३२ रन बनाएका रोहन सातौं ओभरमा नकस्ट्राइकमा रहेका सागर पुनसँग तालमेल नमल्दिा कुशल भुर्तेलबाट रनआउट भए ।


त्यसअघि ओपनर अमित श्रेष्ठ ९ रनमै पेबेलियन फर्केका थिए । काठमाडौंका लागि सागर पुनले ३० बलमा २९ र सिद्धान्त लोहनीले २४ बलमा १६ रन बनाए ।


ललितपुरका पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले ३/३ विकेट लिए । पवनले ४ ओभरमा १ मेडन राख्दै मात्र १३ रन खर्चिए । सन्नी पटेलले पनि २ विकेट झारे ।


खेलमा प्लेयर अफ दि म्याच योगेन्द्र सिंह कार्की बने ।


ललितपुर टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), सूर्य तामांग, ललितनारायण राजवंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, सन्दीप जोरा, योगेन्द्र सिंह कार्की, सन्नी पटेल, जयकिसन कोल्सावाला र गौरव तोमर

काठमाडौं टिमः रोहन मुस्तफा (कप्तान), अमित श्रेष्ठ, सागर पुन, नरेश बुढाएर, जितेन्द्र मुखिया, राजु रिजाल, सम्साद शेख, सिद्धान्त लोहनी, विक्रम भुसाल, केविन ओब्राइन र प्रदीप साहु

प्रकाशित : पुस ३, २०७५ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?