२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रोबोटिक ज्ञानेन्द्र !

‘म त अलिक रोबोटिक अनुभव गरिरहेको छु । यहाँ जानु हुन्छ, त्यहाँ जानु हुन्न । यो गर्नुहुन्छ त्यो गर्नु हुन्न भनेका छन् हरेक कुरामा ।’
विनोद पाण्डे

काठमाडौँ — ललितपुर प्याट्रियट्स टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्वालिफायर २ को अन्तिम ओभरमा भैरहवा ग्लाडियटर्ससँग पराजित हुन पुगेको थियो । गत संस्करणको त्यो तीतो क्षण सम्झने हो भने प्याट्रियट्सलाई यसपालिको फाइनल विशेष हुनेछ । प्याट्रियटसले मंगलबार क्वालिफायरमा काठमाडौं किंग्स ११ लाई अन्तिम बलमा १ विकेटले हराएको थियो । 

रोबोटिक ज्ञानेन्द्र !

तर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लसँग फाइनल पुगेको खुसीभन्दा धेरै गुनासा रहे । ‘बाँधिएर हिँड्नु’ परेको जस्तो अनुभव बोक्न परेपछि उनी आयोजकसँग असन्तुष्ट थिए । आफूलाई रोबोट जस्तो बनाएको उनी गुनासो गर्छन् । एकपछि अर्को ‘गलत निर्णय’ आफ्नो टोलीले भोग्नुपरेपछि उनी आक्रोशित हुन खोज्छन्, फेरि यही आक्रोशले कारबाही भोग्नुपर्ने त्रास उनमा छ । काठमाडौंसँगको तनावपूर्ण खेलपछि उनले आफ्नो मौनता केही हदसम्म तोडेरै छाडे ।

अम्पायर विनय झा मंगलबार खेलमा विवादको केन्द्रविन्दु बने । उनको निर्णयमा दुवै टोली सन्तुष्ट हुन सकेनन् । गौरव तोमार पहिलो ओभरमै आउट भएपछि आएका कप्तान ज्ञानेन्द्रलाई पहिलो बलमै किंग्सका बलर केभिन ओ’ब्रायन र उनको टोलीले जोडदार अपिल गरेका थिए । त्यसलाई अम्पायर झाले अस्वीकार गर्दा ओ’ब्रायनले स्पष्ट रूपमा असन्तुष्टि जनाएको देखिन्थ्यो ।

१ सय ९ रनको लक्ष्य पाएको प्याट्रियट्सको दबाब ज्ञानेन्द्र २१ रन बनाई आउट भएपछि सुरु भयो । स्पिनर सम्शाद शेखले उनलाई एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रको दाबी थियो ब्याटले छोएको बलमा आफूलाई एलबीडब्लू आउट दिइयो । उनले केही समय मैदानमा आक्रोश पोखे । प्रदीप साहुले एकै ओभरमा ३ विकेट लिएपछि प्याट्रियट्स ५४/६ को स्थितिमा पुग्यो । त्यसको एउटा निर्णयमा अम्पायर झा विवादास्पद बन्न पुगे । उनले सन्नी पटेललाई विकेटपछाडि क्याच दिए, जबकि टेलिभिजन रिप्लेमा बल र ब्याटमा स्पष्ट दूरी देखिन्थ्यो ।

ज्ञानेन्द्र प्रत्येक शब्द बोल्नु अगाडि तर्सिएजस्तो देखिन्थे ।

‘अहिले फेरि अर्को आचरसंहिता लाग्यो भन्ला, यहाँ त हिँड्दा पनि सोचेर हिँड्नुपर्छ,’ उनले आयोजकको व्यवहारमा असन्तुष्ट हुँदै अम्पायरको निर्णयमा गुनासो पोखे, ‘हामीले बारम्बार भनिरहेका छौं, खेलाडीले केही गल्ती गर्दा उनीहरूलाई कारबाही गरिन्छ । अम्पायरहरूलाई त्यति धेरैभन्दा पनि परिवर्तन भएको छैन । प्राविधिक समिति र आयोजकले पनि यो विषयलाई गम्भीर रूपमा लिनुपर्छ । हरेक दिन, हरेक खेलमा अम्पायरको निर्णयमा सबैजना खुसी देखिँदैनन् । आज झन् यति महत्वपूर्ण खेलमा अम्पायरको निर्णयका कारण जहाँ पनि जान सक्थ्यो । अन्तिममा फिनिसिङ गर्दा अम्पायरको त्यो गल्तीहरू हामीलाई महँगो परेन । बारम्बार गल्ती भइरहेजस्तो लाग्छ । मान्छे हो गल्ती हुन्छ तर अम्पायरको स्तर अलिकति माथि उठ्नुपर्छ ।’

विकेट निरन्तर जानु पनि गलत निर्णयकै कारण भएको ज्ञानेन्द्रको ठहर थियो । उनका अनुसार यसले खेलाडीलाई पनि दबाबमा ल्याउँछ भने अर्को टोलीको मनोबल बढाउँछ पनि । यो स्थितिमा आफ्नो टोली खेल्न परिचित भइसकेको उनका भनाइ थियो । क्रिकेटको स्पिरिट अनुसार नरहेको र आउट दिएको अम्पायरको निर्णयमा विरोध जनाएकाले ईपीएल आयोजक समितिले पटेललाई लेभल २ मा राख्दै उनको म्याच फीको ७५ प्रतिशत जरिवाना लगाउनुका साथै ३ अंक काटेको छ ।

ज्ञानेन्द्रले आफू र पटेल निर्णयको विषयमा भने, ‘इन्साइड एज लागेको थियो मलाई आउट दिएको निर्णयमा । यस्तो महत्वपूर्ण खेल भएकाले मेरो आक्रोश निस्किएको हो । सन्नी पटेललाई आउट दिइएको पनि सबैले देखेकै छ । अब मैले बढी प्रतिक्रिया जनाउन लागे भने फेरि कारबाहीमा परिएला । सन्नी भद्र खेलाडी हुन् । उनले कहिल्यै पनि यस्तो गर्दैनथे । ऊ आउट छु भने आउट छु भन्छन्, छैन भने छैन भन्छन् । जहाँसम्म लाग्छ त्यो आउट नै थिएन, त्यो हामी भिडियोमा पनि हेर्न सक्छौं ।’

उनले आफूलाई ओ’ब्रायनले गरेको अपिलमा आउट नदिएको विषयमा भने, ‘मलाई अम्पायरले पहिलो बलमा आउट नदिएको विषयमा म केही भन्न चाहन्न । मेरो काम भनेको आउट नदिएसम्म त्यहाँ बस्ने हो, बाँकी अम्पायरले हेर्ने हो । मलाई चाहिँ अम्पायरले गलत निर्णय दिएजस्तो लाग्छ ।’ राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्रलाई आउट दिएपछि आफूले मैदानमा देखाएको व्यवहारमा केही पछुतो पनि थियो ।

‘मैले यस्तो व्यवहार देखाएको सुहाउँदैन होला । तर अब कतिचोटि गर्ने भन्ने कुरा आउँछ । अम्पायरको गलत निर्णयको सिकार हामी बारम्बार भइरहेका छौं भने त्यसको मूल्य त हामीले चुकाउनुपरिरहेको छ नि । हामीले आफ्नो क्रिकेट करिअर सबै राखेर खेलिरहेका हुन्छौं । अम्पायरले सही ठम्याएनन् होला तर त्यसले हामीलाई गाह्रो बनाउँछ,’ ज्ञानेन्द्रले अगाडि भने, ‘अहिले फाइनलमा पुग्यौं, यस्तो निर्णयले पुग्न सक्दैन थियौं होला । यसले खेलाडीको जीवनमा पनि धेरै प्रभाव पार्नसक्छ । त्यसैले निरासा हुनु स्वाभाविक हो, मुख्य चाहिँ अम्पायरको स्तर सुध्रिनुपर्‍यो । यसले नै राम्रो वातावरण बनाउन सक्छ ।’

खेलाडीहरूको व्यवस्थापनप्रति गुनासो रहेको प्रतियोगितामा चर्चा छ । तर कसैले यसबारेमा केही प्रतिक्रिया जनाइसकेका छैनन् । व्यवस्थापन कस्तो छ यो प्रतियोगिताको ? भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, ‘म त अलिक रोबोटिक अनुभव गरिरहेको छु । यहाँ जानु हुन्छ त्यहाँ जानु हुन्न । यो गर्नुहुन्छ त्यो गर्नु हुन्न भनेका छन् हरेक कुरामा । प्रतियोगितालाई एउटा स्तर माथि लग्न खोजेका होलान्, तर जो यसमा आबद्ध हुनुभएको छ उहाँहरूले अलिकति राम्रो तरिकाले भद्र र नरम भइदिए अझ राम्रो हुन्थ्यो ।’

किंग्सका कप्तान रोहन मुस्तफा पनि अम्पायरको निर्णयमा पूर्ण सन्तुष्ट थिएनन् । ‘अम्पायर पनि मानव नै हुन् । आईपीएल र अन्य अन्तर्राष्ट्रिय क्रिकेटमा पनि अम्पायरले धेरै गल्ती गरेका छन् । म अम्पायरलाई दोष दिन्न । यसमा आधा–आधा जस्तै थियो । केही निर्णय उनीहरूको विपक्षमा गयो, केही निर्णय हाम्रो विपक्षमा,’ यूएईका कप्तान पनि रहेका मुस्तफाले भने ।

प्रकाशित : पुस ४, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?