कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोचेटिनोले फेरेको टोटेनहम

बीबीसी

लन्डन — एकाएक टोटेनहमलाई उपाधिको बलियो दाबेदार मानिएको छ, इंग्लिस प्रिमियर लिगमा । एभरटनमाथि ६–२ को जितले यस्तो भएको हो । यो यत्तिकै एकै दिन सम्भव भएको भने होइन ।

पोचेटिनोले फेरेको टोटेनहम

दु:ख केमा मात्र हुनेछ भने एभरटन कति कमजोर देखिएको थियो त्यो खेलमा । त्यसको ठीक उल्टो टोटेनहम भने झन् झन् राम्रो देखिन थालेको छ । टोटेनहमले अन्तिमपल्ट बेहोरेको खराब नतिजा भनेको अक्टोबरको अन्त्यतिर थियो, जति बेला नर्थ लन्डन डर्बीमा टिम पराजित रह्यो ।


त्यो पनि चेल्सी र इन्टर मिलानलाई हराएको निकै कडा साता । त्यसयता टिमको प्रदर्शन वास्तवमै अविश्वसनीय रूपमा राम्रो छ । यसको धेरैभन्दा धेरै श्रेय दिनुपर्छ माउरिसियो पोचेटिनोलाई ।


यी व्यवस्थापकले जसरी अभ्याससत्र चलाउने गर्छन्, त्यसरी उनले खेलाडीलाई पालो–पालो खेलाउँछन् । त्यसको स्पष्ट छनक अचेलको टोटेनहममा देख्न पाइन्छ । कुनै महत्त्वपूर्ण खेलअघि उनी निकै सिपालु ढंगले प्रमुख खेलाडीलाई पनि आराममा राख्छन् ।


उनले यो काम पनि कति चलाखीपूर्ण ढंगले गर्छन् भने मानौं, खेलाडीलाई साँच्चै आराम चाहिएको छ । पोचेटिनोलाई राम्रोसँग थाहा छ, खेलाडीलाई कति बेला आराम चाहिन्छ । यसरी आराम लिएपछि खेलाडीले फेरि मैदानमा ओर्लेर कसरी राम्रोसँग खेल्न सक्छन् ।


टिमको प्रदर्शन राम्रो हुनुमा उनको यो विधि सटिक साबित हुनु पनि हो । टोटेनहम र एभरटनबीचको त्यस खेलमा पनि स्पष्ट देखिन्छ, दुई टिमको खेलाडीमा कति फरक छ भनेर ।

गुडिसन पार्कमा भएको खेलमा जहाँ टोटेनहमका खेलाडीले खेल्दा मज्जा लुटिरहेको देखिन्थ्यो । त्यहीं एभरटनका खेलाडी देख्दा लाग्थ्यो, उनीहरूलाई झर्को लागिरहेको छ । यही कारण थियो जितको अन्तर यति धेरै हुनुमा ।


अब यो तय छ, यत्तिकै लयमा रहने हो भने टिमको प्रदर्शन अझ सुधारिने छ । शीर्षस्थानमा लिभरपुल र म्यानचेस्टर सिटीबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो सातासम्म पनि धेरैले टोटेनहमलाई यो होडको तेस्रो टिम मानेका थिएनन् ।


अब यस्तो रहेन । टोटेनहम साँच्चै उपाधि दाबेदार बनेको छ । तर महत्त्वपूर्ण प्रश्न के भने टोटेनहम आफैं उपाधिका लागि कति गम्भीर छ ? टोटेनहमका आलोचकले धेरै उठाउने प्रश्न हो यो । सबै खाले प्रतियोगिताका १३ खेलमध्ये ११ मा टोटेनहम विजयी छ ।


नयाँ वर्षको अगाडि पछाडिका खेलमा उसले अझ धेरै अंक जोड्न सक्छ । यसबीच उसको सबैभन्दा ठूलो चुनौती हुनेछ, जनवरी ३ मा लिभरपुलविरुद्ध । मर्सीसाइड क्लबविरुद्धको खेल पक्कै ठूलो परीक्षाका रूपमा रहनेछ ।


पोचेटिनो आफैं के मान्छन् भने लिग उपाधिलाई बलियो भनेको लिभरपुल र म्यानचेस्टर सिटी नै हुन् । यस्तो भनाइ उनको रणनीतिक पनि हुनसक्छ । तर यस्तो भन्नुको एउटा कारण टिमको ‘बेन्च’ उति साह्रो बलियो नहुनु पनि हुनसक्छ ।


प्रमुख खेलाडीको चोटले पनि प्रशिक्षक पोचेटिनोलाई दु:ख दिनसक्छ । यी सबैबीच हल्ला के पनि छ भने अर्को सिजन उनी टोटेनहम छाडेर कतै म्यानचेस्टर युनाइटेड जाने त होइनन् ?


जोसे मोउरिन्होलाई बर्खास्त गरेयता म्यानचेस्टरको नजरमा परेका प्रमुख प्रशिक्षकमा पर्छन् उनी । कम्तीमा यस सिजन उनी टोटेनहममै हुनेछन् । उनको नेतृत्वमा टिमले युरोपेली च्याम्पियन्स लिग र लिग कपमा पनि राम्रै गरेका छन् ।


टोटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ पुगिसकेको छ । लिग कपमा भने उसले सेमिफाइनल यात्रा तय गरिसकेको छ । यी दुई प्रतियोगितामा टिमको यात्राले पनि धेरैथोकमा उनको भविष्य निर्धारण गर्नेछ । सँगै टोटेनहमको पनि ।


– जेरेमी जेनास

प्रकाशित : पुस १०, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?