१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बिगबासमा चम्किँदै सन्दीप

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको घरेलु लिग बिगबासमा लगातार तेस्रो खेल खेलेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियाका क्रिकेटर तथा क्रिकेटप्रेमीको मन जित्न सफल बनेका छन् ।

बिगबासमा चम्किँदै सन्दीप

उनी यस वर्षको बिगबास लिगमा अहिलेसम्म सम्पन्न खेलमा कम रन खर्चेर धेरै विकेट लिने दोस्रो खेलाडी बनेका छन् । उनले तीन खेलमा ७८ रन खर्चेर ७ विकेट लिएका छन् ।


यस वर्षको बिगबासमा मेलबर्न स्टारसँग अनुबन्ध भएर खेल खेलिरहेका लेग स्पिनरले अहिलेसम्मको तीनै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा सिड्नी थण्डरबिरुद्ध बलिङ गर्दै २ विकेट लिएर ३६ रन दिएका थिए । त्यसैगरि होवार्ट हुरिकेन्ससँगको दोस्रो खेलमा महत्त्वपूर्ण ३ विकेट लिँदै २४ रन खर्चिए । १८ वर्षकै उमेरमा बिगबासमा अनुबन्ध हुन सफल थोरै मध्येका विदेशी खेलाडी मध्येमा उनी पर्छन् ।


उनको खेलप्रतिको अनुशासन र लगनशीलताको क्रिकेटरहरूका साथै यहाँका क्रिकेटप्रेमीहरूले समेत प्रशंसा गरेका छन् । उनले बिहीबार भएको खेलमा १८ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए । सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै मोइसेस हेनरिकस र टम कुर्रानलाई एलबिडब्ल्युमार्फत पेभिलियन फर्काएका थिए । लगातार दुई खेलमा हार ब्योहोरेको उनको टिम मेलबर्न स्टार्सले बिहीबार भएको खेलमा सिड्नी सिक्सरबिरुद्ध ५ विकेटको जीत हासिल गरेको छ ।

उनको खेल हेर्न सयौँको सङ्ख्यामा नेपालीहरू नेपाली झन्डासहित सिड्नी क्रिकेट ग्राउण्डमा पुगेका थिए । उनको खेल हेरिरहेका नेपाली युवा अजय राजवंशीले सन्दीपको खेलले नेपाल र नेपाली क्रिकेटलाई मात्र नभएर समग्र अस्ट्रेलियामा रहेका नेपालीहरूलाई पहिचान र उच्च इज्जत दिएको बताए ।


‘उनको खेल विश्वका उत्कृष्ट खेलाडीहरूसँग हेर्न पाउनु अवसर मात्र नभएर गर्वको विषय हो’ राजवंशीले भने, ‘त्यसैले पनि उनको खेल हेर्न र उनलाई हौसला दिन मैदानमा आएका हौँ ।’ सन्दीपको खेल हेर्न मैदान पुगेका चलचित्र निर्माता दिनेश पोखरेलले पनि नेपाली युवाको खेल विश्वकै प्रतिष्ठित क्रिकेट मैदानमा हेर्न पाउनु आफूहरूको लागि गर्वको विषय भएको सुनाए ।


सन्दीपले आफूले आफ्नो देशको प्रतिनिधित्व गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘भविष्यमा मैले खेलेजस्तै लिग खेलहरू अन्य नेपाली खेलाडीहरुलेसमेत खेल्नेमा मेरो विश्वास छ’ उनले भने, ‘आफूले पाएको जस्तो अवसर अन्य नेपाली खेलाडीहरूले समेत पाउन भन्ने चाहना छ ।’ उनले आफ्नो खेल हेर्न र प्रोत्साहन गर्न आएका सयौँ फ्यानहरुप्रति लक्षित गर्दै यसले नेपाली क्रिकेट तीव्र गतिमा अघि बढिरहेको प्रतिक्रिया दिए । यसले नेपालमा क्रिकेटप्रतिको माया र चाह कति छ भन्ने पनि प्रमाणित गरेको बताए ।

सन्दीपको खेललाई अस्ट्रेलियाका चर्चित खेलाडीहरुमात्र नभएर खेल समीक्षकहरूले समेत प्रशंसा गरेका छन् । मेलबर्न स्टारका कप्तान ग्लेन म्याक्सवेलले उनी भविष्यको स्टार भएको दाबी नै गरे । दुई वर्षअघि अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कसँग खेल सिक्ने अवसर पाएका उनलाई त्यति बेलै क्लार्कले भविष्यको राम्रो खेलाडी बन्ने दाबी गरेका थिए ।

प्रकाशित : पुस १२, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?