१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दशरथ रंगशाला पुनर्निर्माण : असार मसान्तकाे भाका

देशकै एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको रूपमा रहेको दशरथ रंगशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्योरु। सन् २०१९ मा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा लिएको छ तर दशरथ रंगशालाको पुनर्निर्माण हालत सन्तोषजनक छैन ।
कुशल तिमल्सिना

काठमाडौँ — आठौंपल्ट सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेपछि बिहीबार मनाङ मस्र्याङदीका कप्तान विराज महर्जनले भनेका थिए, ‘जित्यौं तर मज्जा आएन।’ 

दशरथ रंगशाला पुनर्निर्माण : असार मसान्तकाे भाका

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका विराजले कीर्तमानी जितपछि पनि यसो भन्नुको कारण थियो रंगशालाको अभाव। फुटबलमा समर्थकलाई बाह्रौं खेलाडी भन्ने गरिन्छ। निर्णायक खेल दशरथ रंगशालामा हजारौं दर्शकसामु खेल्न पाएको भए जितको उन्माद छुट्टै हुन्थ्यो। विराजले अर्को सिजन दशरथ रंगशालामै फुटबल खेल्न पाऊँ भनेर सम्बन्धित पक्षसँग अनुरोध पनि गरेका छन्। अन्य कुरा यथावत् रहेमा दशरथ रंगशालाको पुनर्निर्माण असार मसान्तमा सकिनेछ।

नेपाली फुटबलको इतिहास बोकेको दशरथ रंगशाला २०७२ सालको महाभूकम्पपछि जीर्ण बन्यो। भनिरहनुपर्दैन यो नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला हो। भूकम्प गएको वैशाखमा चार वर्ष पूरा हुँदै छ। रंगशाला पुनर्निर्माणको ७० प्रतिशतमात्र काम पूरा भएको छ। यो नेपालले गर्ने पुनर्निर्माणको प्रगति हो। त्यसपछि चीनले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लडलाइट र स्कोर बोर्डको काम सुरु हुनै बाँकी छ। यद्यपि चिनियाँ कम्पनीले स्कोर बोर्ड निर्माणको काम केही सातादेखि सुरु गरिसकेको छ।

१८ हजार दर्शक क्षमताको दशरथ रंगशालाकोे पुनर्निमार्ण प्रक्रिया भूकम्पको एक वर्षपछिदेखि नै सुरु भएको हो। तर गत जेठदेखि मात्र पुनर्निर्माण कामले गति लिएको हो। फागुन अन्तिम साता हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रंगशाला तयार गर्ने लक्ष्यसहित काम सुरु गरिएको थियो। तोकिएको समयमा रंगशालाको पुनर्निर्माण सम्पन्न हुनेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) आफैं विश्वस्त थिएन। सम्पन्न भएन भने १३ औं दक्षिण एसियाली खेलकुद सर्ने निश्चित छ। राखेप सदस्य–सचिव केशवकुमार विष्टले पनि भन्न थालेका छन्, ‘असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न हुन्छ।’

सदस्य–सचिवको रूपमा विष्टको कार्यकाल पनि असार महिनामै सकिन्छरु। तपाईकै कार्यकालमा पुनर्निर्माण सकिन्छ तर? विष्टले कान्तिपुरसँग भने, ‘ढुक्क हुनुस्, मेरै कार्यकालमा सकिन्छ। रंगशालामा भव्य कार्यक्रम गरेर खेलकुदको स्वर्ण युग घोषणा गरेरमात्र म बिदा हुने हो।’

उनले रंगशालाको बाहिरी पुनर्निर्माणको काम एक महिनाभित्र सम्पन्न गरी एथलेटिक्स ट्र्याक र फ्लडलाइट बनाउन चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने बताए। ‘साधारण प्यारापिटमा उत्तरपट्टि ढलान गर्न बाँकी छ, भीआईपीको पिल्लर बन्दैछ, एक महिनाभित्र सिभिल वर्कको काम सम्पन्न हुनेछ,’ सदस्यसचिवले थपे, ‘रंगरोगनसहित सम्पूर्ण काम असार मसान्तभित्रै पूरा हुन्छ।’ सदस्य–सचिवले एक महिनाभित्र बाहिरी निर्माणको काम सम्पन्न हुने दाबी गरिरहँदा साधारण प्यारापिटको उत्तरतर्फ करिब ३० मिटर प्यारापिटको ढलान हुनै बाँकी छ। भीआईपी प्यारापिटको ३३ पिल्लरमध्ये ११ पिल्लरको रेट्रोफिटको काम बाँकी छ। भीआईपी प्यारापिटको छानो हाल्न टेन्डर प्रक्रिया सकिएको छैन। प्यारापिटका सबैतिर कुर्सी राख्न टेन्डर प्रक्रिया सुरु भएकै छैन।

रंगशाला पुनर्निर्माणको मुख्य कामको रूपमा रहेको भीआईपी प्यारापिट र साधारण प्यारापिटको तल्लो चार तहको काम पीएल प्रतिष्ठा किराँतेश्वर जेभीले गरिरहेको छ। २०७३ सालमा यो कम्पनीले टेन्डर पारेको हो। ‘जेठयता पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेकै कारण हामीले उल्लेख्य प्रगति हासिल गरेका छौं,’ राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इन्जिनियर अरुण उपाध्यायले भने, ‘अहिले पनि १ सयदेखि १ सय ५० मजदुरले दैनिक काम गरिरहेका छन्। सबै सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ।’

इन्जिनियर उपाध्यायले भीआईपी प्यारापिटको पुनर्निर्माणको कामले धेरै समय लिएको गुनासो गरे। ‘सडकतर्फको भाग काट्नका लागि ट्राफिक डाइभर्सन गर्ने, रातिमा काम गर्नुपर्ने, एकै पटक सबै झार्ने कुनै पनि कामलाई अनुकूल भएन, हातेमेसिनले टुकुटुकु काम गर्नुप¥यो त्यसमा धेरै समय लाग्यो,’ उनले भने।

भीआईपी प्यारापिटमा टेनसाइल फ्याब्रिक प्रविधिको छानो प्रयोग गर्ने निर्णयमा खेलकुद परिषद पुगेको छ। हेर्दा आकर्षक देखिने यो प्रविधिका लागि करिब ११ करोडको टेन्डरको मूल्यांकन भइरहेको र छिट्टै निर्णय हुने सदस्य–सचिव विष्टले बताए। ‘फागुनसम्म काम सम्पन्न नहुने भएपछि हामीले भीआईपी प्यारापिटमा आकर्षक छत राखौं भनेर विदेशी प्रविधि झिकाउने निर्णय गरेका हौं। टेन्डर प्रक्रिया सकिएपछि तीन महिनाभित्र छाना बनिसक्छ,’ उनले भने।

भूकम्पपछि रंगशालाको पुनर्निर्माणका लागि खर्च भएको समय एउटा नयाँ रंगशाला बनाउन पुग्ने जति होरु। लामो समय लगाएर पुरानै रंगशालालाई ‘डेन्टिङ पेन्टिङ’ गर्नुको सट्टा नयाँ किन नबनाएको त? ‘पुनर्निर्माणअघि गठन गरेको सुझाव समितिले नवनिर्माणको अवधारणा पनि ल्याएको थियो। नयाँ बनाउँदा १ अर्ब हाराहारीमा खर्च लाग्ने देखियो, पुनर्निर्माण करिब १९ करोडमा पुग्ने भयो,’ पूर्वाधार तथा निर्माण शाखाका प्रमुख उपाध्यायले भने, ‘पुनर्निर्माणमा अहिलेसम्म ७–८ करोड खर्च भएको छ।’ यो रकम भूकम्पपछिको पुनर्निर्माणको हो।

युवराज लामा राष्ट्रिय खेलकुद परिषदको सदस्य–सचिव रहेका बेला २०७० सालमा पुनर्निर्माण सुरु भएको हो। साधारण प्यारापिटको छाना हाल्न ११ करोड बजेट विनियोजन गरिएको थियो। छानोको बिम धान्ने गरी पूर्वतर्फको प्यारापिटको पिल्लर रेट्रोफिट गरेकै समयमा भूकम्प आयो। रेट्रोफिट गरिएकै कारण त्यस संरचनामा क्षति नपुगेको निर्माण शाखा प्रमुख उपाध्याय बताउँछन्। पिल्लर रेट्रोफिट गरिए पनि छाना हाल्ने काम भने भूकम्पपछि भयो। साधारण प्यारापिटको छानामा अन्डुलाइन प्रविधिको प्रयोग गरिएको छ।

साधारण प्यारापिटतर्फ जग उठाएर निर्माण गरिएको ९ तह भूकम्पले क्षति नपुगे पनि बा“की तीन तह भने भूकम्पले क्षति पुगेको थियो। तत्कालीन डे्सिङ रूमसहितको संरचनाको पुनर्निर्माणको काम सकिसकेको छ। यद्यपि भीआईपी प्यारापिटमा पनि डे«सिङ रूम बनाउने गरी काम भइरहेको छ। भीआईपी र साधारण प्यारापिटमा कुर्सी राख्ने काम पनि पुनर्निर्माणको प्याकेजभित्रै पर्छ। त्यसका लागि अहिलेसम्म टेन्डर आहान भएको छैन। छिट्टै प्रक्रिया सुरु हुने सदस्य सचिव विष्टले बताए।

दशरथ रंगशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो। यसबीचमा नेपालले फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पाएको छैन। समर्थकले रंगशालामा नेपालको खेलमा मनोरन्जन लिन पाएका छैनन्। सन् २०१३ मा नेपालमा आयोजित साफ च्याम्पियनसिपमा देखिएको दर्शकको क्रेजलाई सम्बोधन गर्नु त कता हो कता जीर्ण रंगशाला पुनर्निर्माणमा राखेपले समयमै तीव्रता दिन सकेनरु। मुख्यतः एथलेटिक्स र फुटबल खेल प्रत्यक्ष मारमा परे।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोक (एपीएफ मैदान) ले फुटबलको मैदान अभाव टारिरहेको छ। तर एथलेटिक्स खेलाडीले इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको तयारी टुँडिखेलको खुला चौरमा गर्नुपरेको थियो।

सन् २०१३ सालमा निर्माण गरिएको दशरथ रंगशाला शरदचन्द्र शाह सदस्य–सचिव रहेका बेला २०३४ देखि २०३७ सालसम्म लगाएर यसकोे स्तरोन्नति र अन्तर्राष्ट्रियस्तरको बनाइएको हो। रंगशालाको अहिलेको स्वरुप भने सन् १९९९ मा नेपालले आठौं दक्षिण एसियाली खेलकुदका आयोजना गर्दा बनाइएको हो। त्यति बेला पुनर्निमार्णका लागि चीन सरकारले सहयोग गरेको थियो।

खेलकुद गतिविधि बढ्दो र समर्थकको चासोका कारण दशरथ रंगशाला सानो महसुस भएको धेरै भइसक्यो। पुनर्निर्माणपछि १८ हजार क्षमताको रंगशाला अझै सा“घुरो हुनेछ। गत चैतमा खेलकुद मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री जगतबहादुर विश्वकर्माले सुविधासम्पन्न रंगशाला निर्माण गर्ने उद्घोष गरेका थिए।

भक्तपुर र धादिङका केही स्थानमा जग्गा निरीक्षण गरे पनि सम्झौता भइसकेको छैन। भएको रंगशालाको पुनर्निर्माण गर्नै वर्षौं लागेको छ। नयाँ रंगशाला कहिले बन्ने हो त्यसको टुंगो छैन। बिडम्बना, सरकार आफैंले खेलाडीलाई रंगशालामा खेल्ने व्यवस्था गरिदिनुपर्ने खेलाडीले याचना गर्नुपर्ने अवस्था आएको छ।

प्रकाशित : पुस १४, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?