प्रदेश ३ ले छुटयायो खेलकुदलाई ६० करोड

प्रताप विष्ट

हेटौंडा — खेलकुद विकासका लागि प्रदेश ३ सरकारले चालु आव ०७५/०७६ मा ६० करोड ६५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रदेशका १३ वटै जिल्लामा खेलकुद कार्यक्रम तथा खेलकुद क्षेत्रका पूर्वाधार विकास गर्न उक्त रकम विनियोजन गरिएको हो ।


प्रदेश सरकारले खेलकुद मैदान निर्माणदेखि लिएर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्नेसम्मका १० योजना चालु आवमा तयार पारेको छ । प्रदेश सरकारको योजनामा २० लाख रुपैयाँदेखि २० करोड रुपैयाँसम्मका बजेट योजना रहेका छन् ।


भक्तपुरको मध्यपुर थिमी, इन्द्रायणीमा बास्केटबल कोर्ट निर्माण गर्न २० लाख बजेट विनियोजन गरेको छ । उच्च क्षेत्रमा खेल्न सकिने खेलहरूको प्रशिक्षण प्रदान गर्न हाइअल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टर निर्माण तथा सञ्चालन गर्नलाई २५ लाख रुपैयाँ बजेट तय गरिएको छ ।


प्रदेश सरकारले प्रदेशस्तरको बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने भएको छ । कभर्डहल निर्माण गर्न २ करोड बजेट छुटयाइएको छ । कभर्डहल निर्माण गर्न सार्वजनिक निर्माण कार्यान्वयन एकाइसमेत गठन गरिएको छ ।


उक्त समितिले स्थानको अध्ययन अवलोकन गरी प्रतिवेदन पेश गरेपछि मात्र कभर्डहल निर्माण सुरु हुने प्रदेश ३ सामाजिक विकास मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद महाशाखाका उपसचिव युवराज बगालेले बताए । प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्न तथा राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागिता जनाउन २ करोड बजेट तय गरिएको उनले जनाए ।


त्यस्तै प्रतियोगितालाई व्यवस्थित गरी सञ्चालनका लागि प्रादेशिक खेलकुद परिषद् निर्माण गर्न १ करोड विनियोजन भएको छ ।


मकवानपुरको हेटौंडा–६ स्थित गौरीटार रंगशालामा खेलकुद प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न प्रदेश सरकारले ५ करोड छुटयाएको छ । प्रदेश सरकारले प्रदेशका ७ जिल्लाका २२ स्थानमा खेलकुद मैदान निर्माण गर्ने भएको छ ।


खेलकुद मैदान निर्माण गर्न ६ करोड ६० लाख रुपैयाँ बजेट तय छ । काभ्रेको पाँचखाल, बेथानचोक, बनेपा र चौंरीदेउराली, चितवनको इच्छाकामना, भरतपुर महानगरपालिका ७ र २७, धादिङको नीलकण्ठ, रसुवाको नौकुण्ड र आमाछोदिन्बो, सिन्धुपाल्चोकको सुनकोसी ६ र ७, इन्द्रावती, चौसागढी १३ र १४, बलेफी, मेलम्ची, बाह्रबिसे र लिसुङपाखा, रामेछापको खाडदेवी गाल्पा र मन्थली सानीपाखा तथा नुवाकोटको त्रिपुरासुन्दरीमा मैदान निर्माण हुने भएका छन् ।


खेलकुद विकास कार्यक्रमअन्तर्गत १२ जिल्लाका १३ स्थानमा कभर्डहल बनाउन पनि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट छुटयाएको छ ।


मकवानपुरको मनहरी, चितवनको भरतपुर, सिन्धुपाल्चोकको बलेफी, दैलेखको बैत्यश्वर, रामेछापको मन्थली, काभ्रेको नमोबुद्ध, काठमाडौंको कागेश्वरी मनहरा, सिन्धुलीको सुनकोशी, नुवाकोटको लिखु, धादिङको नीलकण्ठ, रसुवाको कालिकास्थान तथा ललितपुरको ठेचो र नखिपोटमा कभर्डहल निर्माण हुने छन् ।


विद्यालयदेखि नै खेलाडीलाई सक्षम बनाउन विद्यालयस्तरीय खेलकुद कार्यक्रम, खेल सामग्री व्यवस्थापन र शिक्षकलाई प्रोत्साहन अनुदान गरी १३ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।


मकवानपुरको वाग्मती, दोलखाको जिरी, धादिङको त्रिपुरासुन्दरी, नुवाकोटको शिवपुरी, सिन्धुपाल्चोकको चौसागढी, सिन्धुलीको दुधौली र कमलामाई, ललितपुरको गोदावरी नगरपालिका ३ र १० लगायतका स्थानमा जिल्लास्तरीय रंगशाला निर्माण गर्न सरकारले २० करोड छुट्याएको छ ।


प्रदेश सरकारले चालु आव २०७५/०७६ मा खेलकुद विकासका लागि यतिका रकम विनियोजन गरिए पनि यस आवको पहिलो चौमासिक सकिँदासम्म कुनै काम अगाडि बढ्न सकेको छैन । दोस्रो चौमासिकदेखि काम तीव्र गतिले हुने सामाजिक विकास मन्त्रालयको दाबी छ ।

प्रकाशित : पुस १५, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?