गल्फर शुक्रले पाए घर

सुनसरी — प्रतिभाशाली एमेच्योर गल्फ खेलाडी भए पनि आर्थिक अभावले घर बनाउन नसकेको अवस्थामा शुक्रबहादुर राईलाई भाग्यले साथ दिएको छ ।

गल्फर शुक्रले पाए घर

दुई दिनअघि उनी सूर्य नेपाल इस्टर्न ओपनमा ओभरअल च्याम्पियन हुँदै इतिहास बनाएका एमेच्योर गल्फर हुन् ।


आर्थिक अभावबीच घरविहीन भए पनि शुक्रले गल्फमा आफ्नो प्रतिभालाई उजागर गरिराखेका थिए । गल्फ पदाधिकारीले धरान–१९ जिमी मार्गमा रहेको ७ धुर जमिनमा ३ कोठे पक्की घर निर्माण गरेर शनिबार हस्तान्तरण गरेपछि शुक्र ढुक्क भएका छन् ।


उनले भने, ‘गल्फमा एमेच्योरतर्फ नम्बर एक भएर पनि घरविहीन थिएँ । घर नहुनुको पीडा थियो । तर मलाई गल्फरलगायत धेरैले माया गरेर बस्नका लागि घर बनाइदिएकोमा सबैप्रति कृतज्ञता प्रकट गर्छु ।’ सन् २०१० देखि गल्फ क्याडी गर्दागर्दै उनले २०१३ देखि एमेच्योर प्रतियोगिता खेल्न थाले ।


त्यसपछि उनी शीर्ष एमेच्योर खेलाडीमा स्थापित हुँदै आएको छन् । शुक्रबारमात्र सम्पन्न सूर्य नेपालको इस्टर्न ओपनमा नेपालकै नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पार्दै ओभरअल च्याम्पियन बनेका थिए ।


धरान–१९ जिमी मार्गमा बस्दै आएका उनका लागि घर निर्माण गरिदिन धरान गल्फ क्लबका पदाधिकारी र नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईको विशेष पहल गरेका थिए ।


घर निर्माण गर्न नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन, सिंगापुर र युकेमा रहेका गल्फरले आर्थिक सहयोग गरेको पहलकर्ता गल्फ तिलक राईले बताए । उनका अनुसार घर निर्माणका लागि कुल ८ लाख ८२ हजार सहयोग जुटेको थियो ।


शुक्रको घर बनाउन प्रेसिडेन्ट अफ गोर्खाज गल्फ सोसाइटी युकेबाट १ लाख ६० हजार २ सय ३० रुपैयाँ, गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सबाट १ लाख ५४ हजार रुपैयाँ, नेपाल गल्फ संघबाट ४ लाख, धरानका गल्फर तथा सुनसरी टेक्निकल कलेजका अध्यक्ष लेखिराज सुब्बाबाट ५० हजार, स्थानीय खेमकुमार राईबाट ५० हजार, बबी राईबाट ३० हजार, क्लबका अध्यक्ष टीका लिम्बुबाट २५ हजार सहयोग उपलब्ध भएको थियो ।


घर हस्तान्तरण कार्यक्रममा बीपी प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले पनि २० हजार रुपैयाँ व्यक्तिगत सहयोग गर्दै साँचो हस्तान्तरण गरे । उपाध्यक्ष राईले नेपाल गल्फ संघले ओभरअल विजेता हुने एमेच्योर खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका थिए ।

प्रकाशित : पुस १६, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?