१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सहिद स्मारक ‘ए’ डिभिजन लिग : च्याम्पियन हुनुका पाँच कारण

राजु घिसिङ

काठमाडौँ — मनाङ मर्स्याङ्दी क्लब २०७० सालमा पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । त्यति बेला चार खेल हारेर पनि ट्रफी कब्जा गर्दै मनाङले लिगमा सबैभन्दा बढी सात उपाधि जित्ने कीर्तिमान बनाएको थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : च्याम्पियन हुनुका पाँच कारण

नेपाली फुटबलको राजनीतिमा ठूलै उथलपुथल भएसँगै लिग अनिश्चित बनेको थियो । तर ५ वर्षपछि यसैपालि मात्र फर्कियो लिग । मनाङ नै च्याम्पियन भयो । त्यो पनि दुई खेल बाँकी छँदै ।


पाँच वर्षपछि पनि उपाधि रक्षा गर्नु मनाङको ठूलै उपलब्धि हो । सर्वाधिक सफलको पगरीलाई आठौं उपाधिमा लम्ब्याएको उसले यसअघि २०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२ र ०७० सालमा उपाधि हात पारेको थियो । सुरुका दुई सिजन (२०४३ र ०४४) मा सबै खेल जितेर च्याम्पियन भएको मनाङ यसपालि पनि उस्तै उपलब्धि हात पार्ने दाउमा छ । एक करोड ९१ लाख ६० हजार रुपैयाँ र पाँच मोटरसाइकल पुरस्कारको लिगमा उपाधिसँगै ५० लाख पक्का गरेको मनाङले यसपल्ट लगातार १२ खेल जितिसकेको छ । उसले अन्तिम खेलमा फ्रेन्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


झगडाका कारण ठमेल ११ को विलयसँगै ३६ वर्षअघि स्थापित यस क्लबको खेलमा दशरथ रंगशालामा हजारौं दर्शक ओइरिने गथ्र्यो । तर महाभूकम्पका कारण करिब २५ सय दर्शक अटाउने एन्फा कम्प्लेक्स, सातदोबाटो र सशस्त्र प्रहरी बलको हल्चोकको प्यारापिट पनि यसपालि भरिभराउ भएन । र, मनाङले पहिलाजस्तै मन लोभ्याउने कलात्मक खेल दोहोर्‍याउन पनि सकेको छैन । उसलाई च्याम्पियन हुनबाट अरुले रोक्न पनि सकेन । यो खर्चिलो क्लब यसपालिकसरी च्याम्पियन भयो त ? पाँच कारण :


थ्रीस्टारविरुद्धको जित

नेपाली फुटबलका लोकप्रिय क्लब हुन् मनाङ र थ्रीस्टार । यी दुईमा कसको समर्थक बढी छ भनेर छुटयाउन गाह्रो हुन्छ । यी दुईबीच मैदानको प्रतिस्पर्धा पनि उत्तिकै चर्को हुने गर्छ । मनाङ र थ्रीस्टार सहभागी प्रतियोगितामा सधैं यी दुईलाई उपाधिको मुख्य दाबेदारमा लिइन्छ । ए डिभिजन लिग २०७५ पनि लिगअघि मनाङ र थ्रीस्टारलाई नै बलियो मानिएको थियो ।


राउन्ड रोबिनको आधारमा भइरहेको लिगको तेस्रो चरणमै मनाङ र थ्रीस्टारबीच प्रतिस्पर्धा भयो । त्यस बेला उपाधिको बाटोमा को अगाडि भन्नेमा कुनै रेखा तयार भइसकेको थिएन । त्यस्तो अनुमान गर्नु पनि अलि हतार नै हुन्थ्यो किनभने १४ क्लब सहभागी लिगमा हरेक क्लबले १३–१३ खेल खेल्नैपर्छ । त्यसैले थीस्टार–मनाङको खेललाई उपाधि होडमा एक कदम अगाडि बढ्ने प्रतिस्पर्धाको रूपमा हेरिएको थियो ।


मनाङका डिफेन्डर विमल बस्नेत अस्ट्रेलिया पुगिसकेका थिए । विंगर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी चोटग्रस्त भएकाले मैदानमा उत्रिने सम्भावनै थिएन । फरवार्ड ओलावाले आफिज र डिफेन्डर कमल श्रेष्ठ पनि निलम्बनमा परेका थिए । तैपनि एन्फा कम्प्लेक्समा थ्रीस्टारविरुद्ध मनाङले बाजीमा मार्‍यो । यससँगै मनाङले थ्रीस्टारविरुद्ध हारको शृंखला ७ खेलमा पूर्णविराम लगायो । ‘त्यसपछि आत्मविश्वास बढ्यो,’ मनाङका मिडफिल्डर हेमन गुरुङले भने, ‘च्याम्पियन हुनेमा विश्वस्त बन्न थाल्यौं र खेल पनि राम्रो हुँदै गयो ।’ भयो पनि त्यस्तै । मनाङ बलियो भन्दै गयो भने थ्रीस्टार कमजोर । तिहारअघि सिक्किममा सम्पन्न गभर्नर्स गोल्डकपको उपाधिले पनि मनाङको हौसला बढाएको थियो ।


फुजाको आगमन

नाइजेरियाली प्रशिक्षक तोपे फुजाले नै यस लिगमा मनाङको योजना कोरेका थिए । असोज १३ मा लिग सुरु भएको थियो । त्यसको एक महिनाअघि उनलाई लागोस (नाइजेरिया) बाट बोलाइएको थियो । त्यसअघि फागुनमा तीन नकआउट प्रतियोगिता (माईभ्याली, दमक र उदयपुर गोल्डकप) को फाइनल पुगेको मनाङको टिम पनि उनले सम्हालेका थिए ।


२०६३ सालको ए डिभिजन लिगमा मछिन्द्रको मुख्य प्रशिक्षक रहेकाले उनी यहाँको फुटबलबारे जानकार थिए । त्यसैले मलेसिया र भारतका विभिन्न क्लब पनि सम्हालेका उनलाई मनाङको टिम सम्हाल्न गाह्रो भएन ।


कागजी रूपमा फुजा मनाङका सहायक प्रशिक्षक हुन् । मुख्य प्रशिक्षक सुमन श्रेष्ठ । सुमनले प्रतिद्वन्द्वीलाई खुलमखुला ‘सेटिङ’ को आरोप लगाएका थिए । फुजा भने मनाङको टिमलाई ट्रेनिङ र खेलमा सम्हाल्नै व्यस्त रहे । उनले नै हरेक खेलमा टिमको रणनीति बनाए । विपक्षीको कमजोरी औंल्याएर त्यसैमा खेलाडीलाई आक्रमण गर्न लगाए । पहिलो रोजाइमा तीन–चार खेलाडी उपलब्ध नहुँदा पनि उनको रणनीतिमा उत्रिएको मनाङले जित यात्रा कायमै राख्यो । उनले एउटै खेलमा टिमको संरचना बदलेर दुई–तीन किसिमका रणनीति पनि प्रयोग गरे । सफल पनि भए ।


‘विपक्षीलाई समय र खेल्ने स्थान नदिने हो,’ आफ्नो फुटबल दर्शनबारे फुजाले भने, ‘हाम्रा खेलाडी प्रतिभावान छन् । त्यही प्रतिभालाई उपयोग गर्नका लागि मैले उनीहरूको बलियो पक्ष केलाएर उत्साहित मात्र गरेको हो । कमजोरी सच्याउन लगाइएको हो । त्यसको प्रतिफल मैदानमा मिहिनेत गरेर खेलाडीले देखाइदिए ।’


हुन पनि हो, लिगको पारो चढ्दै जाँदा मनाङका हरेक खेलाडीको प्रदर्शनमा निखार आइरहेको छ । राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, गोलकिपर विशाल श्रेष्ठ, डिफेन्डर कमल श्रेष्ठ र मिडफिल्डर हेमन गुरुङको खेलमा निकै सुधार आएको छ । हेमन त फुजाको योजनाअनुसार मनाङको प्लेमेकरका रूपमा छाइरहेका छन्् ।


विदेशी खेलाडीको प्रभाव

मनाङको आठौंपल्ट ए डिभिजन लिगको च्याम्पियन यात्रामा विदेशी खेलाडीको भूमिका निकै महत्त्वपूर्ण रह्यो । टिममा जहाँ कमजोरी थियो, त्यही पोजिसनमा विदेशी खेलाडी ल्याएपछि टिम बलियो भएको हो ।


मनाङले लिगको लागि नाइजेरियाली ओलावाले आफिज, एडेलाजा सोमिडे, जिम्बावेका भिक्टर कामुका र केरला (भारत) का मुहम्मद आसिफलाई अनुबन्ध गर्‍यो । आफिज नेपाली फुटबलका अनुभवी फरवार्ड हुन् । उनी आरसीटी र संकटाबाट गोल गर्ने आफ्नो कौशल सिद्ध गरेपछि मनाङमा पुगेका थिए ।


बीचमा चित्तगोङ अबहानी लिमिटेडबाट बंगलादेशको लिग पनि खेलेका आफिज यो लिगमा मनाङका सर्वाधिक गोलकर्ता हुन् । फुजाको ४–२–३–१ को टिम संरचनामा एक्लो सेन्टर फरवार्ड रहेका उनले सात गोल गरेका छन् । उनी यो लिगकै सबैभन्दा प्रभावशाली फरवार्ड देखिएका छन् ।


दुई वर्षअघि कोलकाताको महारथी इस्ट बंगालको अग्रपंक्तिमा रहेका सोमिडेलाई सुजल र प्रकाश घाइते भएपछि प्रशिक्षकले विंगरको रूपमा उपयोग गरे । आफिजलाई निलम्बन वा परिवर्तन गरिएको अवस्थामा उनले सेन्टर फरवार्डको भूमिका निर्वाह गरे । खासमा उनी सेन्टर फरवार्ड नै हुन् । विंगरको जिम्मेवारीलाई पनि उनले न्याय गरे । उनले ४ गोल गरेका छन् । प्रशिक्षकले ६ फिट ४ इन्च अग्ला भिक्टर कामुकालाई चार खेलयता डिफेन्सिभ मिडफिल्डमा खेलाइरहेका छन् । उनी पनि औसत नेपाली खेलाडीभन्दा राम्रै देखिएका छन् ।



मनाङको टिममा लिगअघि डिफेन्समा समस्या थियो । त्यसैले उसले लिगको लागि भनेर राष्ट्रिय टिमका सेन्टर–ब्याक अनन्त तामाङलाई अनुबन्ध गर्‍यो । तर अनन्तको सम्झौता थ्रीस्टारसँग सकिएको थिएन । ललितपुरे क्लबलाई पनि डिफेन्स आवश्यक भएकाले अनन्तलाई छाड्न चाहेन । परिणाम: अनन्तले खेल्न नपाउने भयो ।


त्यसैले मनाङको सेन्टर–ब्याकमा सुरज विश्वकर्मासँगै केरालाबाट बोलाइएका आसिफलाई जिम्मेवारी दिइयो । दुवैको ‘फुटवर्क’ त्यति राम्रो छैन । तर दुवै डिफेन्सले अब्बल खेल देखाइरहेका छन् । मनाङका विदेशी खेलाडीले जुन स्तरको प्रदर्शन गरिरहेका छन्, त्यसको तुलनामा अरु क्लबका बिदेशी खेलाडी कमजोर नै छन् ।


भाग्यको साथ

प्रशिक्षक सुमन श्रेष्ठ मनाङको च्याम्पियन यात्रामा भाग्यको पनि साथ रहेको बताउँछन् । अर्का प्रशिक्षक फुजा भने भाग्यमै भर नपरेको बताउँछन् । ‘हामीसँग टिम राम्रो थियो र त्यसैले लिगको उपाधि जित्नेमा पहिले नै ढुक्क थिएँ,’ फुजाले सुनाए । लिगको खेलहरू हेर्दा मनाङलाई भाग्यमानी होइन भन्ने अवस्था पनि छैन ।


मनाङले थ्रीस्टारविरुद्ध हात पारेको २–१ को जितमा दोस्रो गोल प्रतिद्वन्द्वीको आत्मघाती थियो । आठौं चरणसम्म मनाङलाई ३ अंक अन्तरमा रहेर संकटाले पछयाइरहेको थियो । तर, नवौं चरणमा आएर संकटालाई ब्रिगेड ब्वाइजले १–१ को बराबरीमा रोक्यो । मुख्य प्रतिद्वन्द्वी मानिएको थ्रीस्टारले आर्मी र च्यासलसँग अंक बाँड्यो भने पुलिस र संकटासँग त हार्‍यो नै । विभागीय टिम आर्मी पनि एनआरटी, फ्रेन्ड्स, थ्रीस्टार, जावलाखेलविरुद्ध बराबरीमै अडकयो र एपीएफसँग परािजत भयो । प्रतिद्वन्द्वीहरूले अंक गुमाउँदाको प्रत्यक्ष फाइदा मनाङलाई हुने नै भयो ।


अर्कोतर्फ मनाङ त्यस्तो शक्तिशाली टिम पनि होइन, जसले गोलको वर्षा गर्दै खेल सजिलै जित्न सक्छ । सुरुका ६ खेलमा ५ गोल गरेका अन्जन विष्ट पछिल्ला खेलमा उत्तिकै प्रभावशाली छैनन् । तर, त्यसको प्रत्यक्ष असर नतिजामा परेको छैन । मनाङले एउटै खेलमा तीन गोलभन्दा बढी गरेको छैन ।


उसले आर्मी र पुलिस तथा कमजोर मानिएका जावलाखेल र मछिन्द्रविरुद्ध एक गोलमात्र गरेको थियो । आठौं चरणमा आर्मीविरुद्धको सफलताले मनाङको उपाधि होड बलियो भएको थियो भने ११ औं खेलमा संकटालाई पराजित गरेपछि त ट्रफी कब्जा नै गर्‍यो ।


ठूलो लगानी

मनाङ मस्र्याङदीका अध्यक्ष मुखिया कान्छा गुरुङका अनुसार क्लबले ए डिभिजन लिगका लागि भदौदेखि तयारी गरेको थियो । २०७५ चैतसम्म ८० लाख रुपैयाँको बजेट बनाएको थियो । ‘त्यतिले पुगेन,’ गुरुङले भने, ‘खर्च एक करोड बढी हुने भइसक्यो ।’

नेपाली फुटबलमा एउटा क्लबले सात महिनामा एक करोड रुपैयाँ खर्च गर्नुलाई ठूलै लगानी मान्नुपर्छ ।


विदेशी खेलाडीलाई लागि मासिक झन्डै डेढ लाखसम्म दिइरहेको उसले नेपाली खेलाडीलाई पनि १ लाखसम्म तलब दिइरहेको छ । पहिलो रोजाइको टिमका खेलाडीको तलब औसत ७० हजार जति छ । पाँच वर्षपछि सुचारु लिगमा मनाङको स्तरको बजेट र उसले खेलाडीलाई दिएको तलबलाई ठूलै लगानी मान्नुपर्छ ।

प्रकाशित : पुस २१, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?