धनगढी प्रिमियर लिग अक्सन : रूपन्देही आक्रामक, महेन्द्रनगर बलियो

विनोद पाण्डे, कुशल तिमल्सिना

काठमाडौँ — आरिफ शेख, ललितसिंह भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजवंशीले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सनमा सर्वाधिक २ लाख ५० हजार रुपैयाँ मूल्य पाएका छन् । 

अक्सनका क्रममा डीपीएलका रणनीतिक खेलाडी वसन्त रेग्मी (रूपन्देही), ज्ञानेन्द्र मल्ल (काठमाडौं), करण केसी (विराटनगर), सोमपाल कामी (धनगढी) र शरद भेषावकर (महेन्द्रनगर) । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

डीपीएलको तेस्रो संस्करण माघ २६ देखि धनगढीको फाप्ला मैदानमा हुनेछ । यसअघिका दुवै संस्करण टिम चौराह धनगढीले जितेको थियो । टिम चौराहले नयाँ स्वामित्व पाएपछि धनगढी स्टार्सको नामबाट डीपीएलको तेस्रो संस्करण खेल्दै छ ।

धनगढीले पवन सर्राफलाई अधिकतम भाउ लगाएर लिएको हो । खेलाडीले आफ्नो भाउ न्युनतम ३० हजार राख्न पाउने र अधिकतम २ लाख ५० हजारसम्म उनीहरूलाई फ्रेन्चाइज टोलीले भाउ लगाउन पाउने प्रावधान थियो ।

डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडीमध्ये १ सय ९९ खेलाडी अक्सनमा
उपलब्ध थिए । रणनीतिक खेलाडीलाई फ्रेन्चाइज टोलीले अक्सनअगावै लिएको थियो ।

जसअनुसार विराटनगर किंग्सले करण केसी, सीवाईसी अत्तरियाले दीपेन्द्रसिंह ऐरी, धनगढी स्टार्सले सोमपाल कामी, काठमाडौं गोल्डेन्सले ज्ञानेन्द्र मल्ल, महेन्द्रनगर युनाइटेडले शरद भेषावकर र रूपन्देही च्यालेन्जर्सले वसन्त रेग्मीलाई रणनीतिक खेलाडीको रूपमा लिएका थिए । उनीहरूले कम्तीमा तीन लाख रुपैयाँ पाउने प्रावधान छ ।

अक्सनमा सर्वाधिक भाउ पाएका ६ मध्येका तीन खेलाडी रूपन्देही च्यालेन्जर्सले लियो । उसले पूरा रकम खर्चेर ललितसिंह भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई लिएको थियो । भीमलाई रूपन्देहीले अन्तिममा लिएको हो ।

उनको नाम अक्सनको सूचीमा आउनु अगाडि रूपन्देहीको खातामा ५ हजारमात्र बाँकी थियो । रूपन्देहीले भीमलाई २लाख ४५ हजार रुपैयाँको २५ प्रतिशत पेनाल्टी तिर्दै लिएको छ ।

अक्सनमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा १० र बढीमा १२ लाख खर्च गर्नुपर्ने थियो । अक्सनबाट एउटा टोलीले ११ खेलाडी लिनुपर्ने अवस्थामा रूपन्देहीको १० खेलाडी खरिदमै ११ लाख ९५ हजार सिध्याएको थियो । १ रणनीतिक, १ टयालेन्ट हन्ट तथा २ विदेशी खेलाडी गरी कुल १५
खेलाडी एउटा टोलीमा हुनेछन् । विदेशी खेलाडी फ्रेन्चाइज टोलीले आफैं राख्न पाउने छ ।

प्रदीप ऐरीलाई २ लाख ४० हजार खर्चिएको रूपन्देहीले ४ खेलाडीलाई मात्र ९ लाख ९० हजार खर्च गर्‍यो । त्यसपछि टोलीले सन्दीप सुनार, कृष्ण कार्की र विक्रम सोबलाई पनि थपेको हो । ‘योजनाअनुसार नै हामीले चाहेका खेलाडीहरू पायौं । हाम्रो टिम सन्तुलित बनेको छ र टिम व्यवस्थापन,प्रशिक्षक र म सबै खुसी छौं,’ फ्रेन्चाइज क्रिकेटमा पहिलोपल्ट गृहनगरको टोलीबाट खेल्न लागेका वसन्त रेग्मीले भने ।

आफूले खेलेको हरेक फ्रेन्चाइज क्रिकेटको फाइनल खेल्दै आएका शरद भेषावकर अक्सनमा पुन: एकपल्ट अब्बल बने । उनको महेन्द्रनगर युनाइटेडले आरिफलाई २ लाख ५० हजार भाउ लगाएर गोलाप्रथाबाट लिएको थियो ।

टोलीले रोहितकुमार पौडेललाई २ लाख ३० हजार, अविनाश बोहरालाई १ लाख ७० हजार, अमरसिंह राउटेलालाई १ लाख २० हजार, सागर ढकाललाई १ लाख र सिद्धान्त लोहनीलाई ७० हजार भाउ लगाउँदै लियो ।

‘जस्तो टिम बनेको छ, त्यसबाट पूर्ण सन्तुष्ट छु । युवा खेलाडीलाई हामीले विश्वास छौं, जो अघिल्ला प्रतियोगिताहरूमा पनि लयमा थिए । हाम्रो सन्तुलित टोली छ,’ महेन्द्रनगरका रणनीतिक खेलाडी शरदले भने । महेन्द्रनगरले ११ लाख ८५ हजार खर्च गरेको थियो ।

रूपन्देहीले जरिवानाबाहेक नै १४ लाख ४५ हजार खर्च गरेको थियो । जरिवाना तिर्नेमा विराटनगर र अत्तरिया पनि थिए । यी दुई अक्सनमा ११ खेलाडीलाई कम्तीमा १० लाख खर्च नगरेकोमा दण्डित हुन पुगेका थिए ।

विराटनगरले ९ लाख ९० हजार र अत्तरियाले ९ लाखमात्र खर्च गर्न सकेको थियो । विराटनगरले आशिफ शेखलाई १ लाख ८० हजार, कुशल भूर्तेललाई १ लाख ६० हजार, पृथु बाँस्कोटालाई १ लाख २० हजार तथा किशोर महतो र सुसन भारीलाई समान १ लाख तथा हरिशंकर शाहलाई ९० हजार, राजेश पुलामी मगर र सम्शाद शेखलाई समान ७५ हजारमा लिएको छ ।

‘योजनाअनुसार नै हामीले आवश्यक खेलाडी पायौं । अधिकतम बोलीपछि गोलाप्रथाबाट खेलाडी छनोट हुँदा २–३ जनालाई गुमाउनुपर्‍यो । यद्यपि टिम सन्तुलित छ,’ विराटनगरका रणनीतिक खेलाडी करणले भने ।

अत्तरियाले सन्दीप जोरालाई २ लाख ३० हजार, भुवन कार्कीलाई २ लाख १० हजार, कमलसिंह ऐरीलाई ९० हजार तथा रामनरेश गिरी र जितेन्द्रसिंह ठकुरीलाई समान ७५ हजारमा लिएको छ । टोलीका रणनीतिक खेलाडी दीपेन्द्रसिंह ऐरी हाल अस्ट्रेलियामा रहेका कारण अक्सनमा थिएनन् ।

‘हामीलाई केही भाग्यले साथ नदिएजस्तो भयो । हामीले अधिकतम बोली लगाएका खेलाडीमा अन्य टिमबाट पनि बोली लाग्यो । गोलाप्रथामा हामी अभागीजस्तै भयौं । यद्यपि युवा खेलाडीले भरिएको टिम बनेको छ । टिम सन्तुलित नै छ,’ टोलीका व्यवस्थापक रजतजंगशाहीले भने ।

धनगढीले युवा स्टार पवनसँगै अमित श्रेष्ठ र सुनील धमलालाई समान १ लाख ८० हजार, सौरभ खनाललाई १ लाख ६० हजार, विपिन खत्री र हरिबहादुर चौहानलाई समान ९५ हजार, दीपेश श्रेष्ठलाई ८० हजार र राजु रिजालमाथि ७५ हजार भाउ लगाउँदै लियो ।

धनगढीले १२ लाखभन्दा बढी खर्च गरेकाले टोली जरिवानाको भागिदार बन्न पुग्यो । त्यसका बाबजुत उत्कृष्ट टोली बनेकोमा रणनीतिक खेलाडी सोमपाल सन्तुष्ट थिए । उनले भने, ‘टिम राम्रो बनेकोमा खुसी छु । टिममा एक–से–एकखेलाडी छन् जसको एक्लो प्रयासले खेलको नजिता हेरफेर हुनसक्छ । अघिल्लो संस्करणको च्याम्पियन हुनुका नाताले उपाधि रक्षालाई हामी तयार छौं,’ सोमपालले भने ।

अक्सनमा जरिवाना नतिर्ने दुईमध्येको टोली काठमाडौं गोल्डेन्स थियो । ललितनारायण राजवंशीलाई गोल्डेन्सले २ लाख ५० हजारमा लियो । टोलीले रशिद खान र अनिलकुमार शाहलाई समान १ लाख ७० हजार, विक्रम भुसाललाई १ लाख ६० हजार, योगेन्द्रसिंह कार्कीलाई ७० हजार, सोनु तामाङलाई ६५ हजारमा लिएको हो ।

‘सबैले अक्सनको सुरुआतमा राम्रो प्रतिस्पर्धा गर्नुभयो । पछि बजेटको सीमामा रहनुपर्‍यो । हाम्रो टिम ब्याटिङ र बलिङ दुवैमा राम्रो बनेको छ । युवा खेलाडीको सन्तुलित टिम छ,’ गोल्डेन्सका रणनीतिक खेलाडी ज्ञानेन्द्रले भने ।

जरिवानाबाहेक अक्सनमा ६ फ्रेन्चाइज टोलीले ६८ लाख ३५ हजार खर्च गरेका थिए । अक्सनलाई ‘ओपन क्याटगोरी’ बनाइएको थियो । खेलाडीले आफ्नो न्युनतम पारिश्रमिक आफैं तोकेका थिए, त्यसैमा फ्रेन्चाइज टोलीले भाउ लगाएका थिए ।

टयालेन्ट हन्टबाट छानिएका सुदूरपश्चिमका १२ खेलाडीमाथि भाउ लगाइएको थियो । प्रत्येक फ्रेन्चाइज टोलीले १–१ गरी टयालेन्ट हन्टबाट आएका ६ खेलाडीलाई जनही ३० हजारका दरले लिएका थिए ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्कापारिवारिक कारण, सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लिगको व्यस्तताका कारण र सागर पुनले घाइते भएका कारण डीपीएलमा खेल्ने छैनन् । सुवास खकुरेल र नरेश बुढाएरले पनि अक्सनमा नाम लेखाएका थिएनन् ।

प्रकाशित : पुस २२, २०७५ ०९:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लिगका दुवै खेल बराबर

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन पटकको च्याम्पियन नेपाल पुलिस क्लबले सरस्वती क्लबसँग १–१ को बराबरी खेल्दै जारी सिजनको सहिद स्मारक ए डिभिजन लिग अन्त्य गरेको छ ।

बलका लागि भिड्दै पुलिसका भरत शाह र सरस्वती युवाका सविन खड्का ।

त्यस्तै जावलाखेल युथविरुद्ध १–१ कै नतिजा निकाल्दै च्यासल युथ क्लब लिगमा आठौं भएको छ ।

पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर गुमायो । दोस्रो हाफको सुरुमै सरस्वतीले गोल गरेपछि पुलिस पछि परेको थियो । ५० औं मिनेटमा भिक्टर अमोबीले गोल गरेका थिए । तीन मिनेटपछि नै रवि पासवानले खेल बराबरीमा ल्याए ।

हल्चोक मैदानमा शनिबारको पहिलो खेलमा अरुज सिंहले १० मिनेटमै गोल गरेपछि जावलाखेलले अग्रता लिएको थियो । तर ३२ औं मिनेटमा छिरिङ गुरुङले पेनाल्टीमार्फत बराबरी गोलफर्काएका थिए ।

यो नतिजापछि २०६२/६३, २०६६ र २०६७ सालको च्याम्पियन पुलिस १९ अंकसहित छैटौं स्थानमा छ । यदि अन्तिम खेलमा हिमालयन शेर्पाले थ्रीस्टारलाई पराजित गरेको खण्डमा पुलिस अझै तल झर्नेछ । १४ अंकसहित सरस्वती नवौं स्थानमा छ ।

मनाङ मस्र्याङ्दी शतप्रतिशत जितसाथ लिग च्याम्पियन बनिसकेको छ भने संकटा क्लबले पनि अन्तिम चरणको खेलअगाडि नै दोस्रो स्थान सुरक्षित गरिसकेको छ ।

पहिलोपल्ट शीर्ष डिभिजनको फुटबल खेलेको च्यासलले भने १६ अंकसाथ लिगको आठौं स्थान सुरक्षित गरेको छ । जावलाखेलले १४ टोली सहभागी लिगमा १३ अंकसहित दसौं स्थान हासिल गरेको छ । यसपालिको लिगमा रेलिगेसन प्रावधान छैन ।

पुलिसका प्रशिक्षक अनन्त थापाले स्ट्राइकरको अभावले लिगको लक्ष्य पूरा हुन नसकेको स्वीकार गरे । ‘फिनिसरको अभाव हामीलाई लिगअघिदेखि नै थियो र प्रतियोगिताभर हामीले त्यही समस्या बेहोरिरह्यौं’, थापाले थपे, ‘यदि राम्रो फिनिसर भएको भए लिगमा चौथो स्थानसम्म आउन सक्थ्यौं ।’

पहिलो पटक ए डिभिजन लिग टिमलाई प्रशिक्षण दिएका थापाले भने, ‘नकआउट प्रतियोगिताको तुलनामा लिग खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने उत्कृष्ट मञ्च हो । फुटबलको विकासका लागि लिग जरुरी छ ।’

टिमलाई नवौं स्थान हासिल गराउन सकेकोमा सरस्वतीका प्रशिक्षक प्रदीप नेपाल सन्तुष्ट देखिए । ‘हामी सबैले धेरै मिहिनेत गर्‍यौं । तर, हामी हाम्रो योजनाअनुसार शीर्ष ६ स्थानभित्र पर्न सकेनौं । किनभने हामी मछिन्द्र र हिमालयन शेर्पासँग पनि हार्‍यौं, जसलाई हामी जित्न सक्थ्यौं ।’

प्रकाशित : पुस २२, २०७५ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT