२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

धनगढी प्रिमियर लिग अक्सन : रूपन्देही आक्रामक, महेन्द्रनगर बलियो

काठमाडौँ — आरिफ शेख, ललितसिंह भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजवंशीले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सनमा सर्वाधिक २ लाख ५० हजार रुपैयाँ मूल्य पाएका छन् । 

धनगढी प्रिमियर लिग अक्सन : रूपन्देही आक्रामक, महेन्द्रनगर बलियो

डीपीएलको तेस्रो संस्करण माघ २६ देखि धनगढीको फाप्ला मैदानमा हुनेछ । यसअघिका दुवै संस्करण टिम चौराह धनगढीले जितेको थियो । टिम चौराहले नयाँ स्वामित्व पाएपछि धनगढी स्टार्सको नामबाट डीपीएलको तेस्रो संस्करण खेल्दै छ ।


धनगढीले पवन सर्राफलाई अधिकतम भाउ लगाएर लिएको हो । खेलाडीले आफ्नो भाउ न्युनतम ३० हजार राख्न पाउने र अधिकतम २ लाख ५० हजारसम्म उनीहरूलाई फ्रेन्चाइज टोलीले भाउ लगाउन पाउने प्रावधान थियो ।


डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडीमध्ये १ सय ९९ खेलाडी अक्सनमा

उपलब्ध थिए । रणनीतिक खेलाडीलाई फ्रेन्चाइज टोलीले अक्सनअगावै लिएको थियो ।


जसअनुसार विराटनगर किंग्सले करण केसी, सीवाईसी अत्तरियाले दीपेन्द्रसिंह ऐरी, धनगढी स्टार्सले सोमपाल कामी, काठमाडौं गोल्डेन्सले ज्ञानेन्द्र मल्ल, महेन्द्रनगर युनाइटेडले शरद भेषावकर र रूपन्देही च्यालेन्जर्सले वसन्त रेग्मीलाई रणनीतिक खेलाडीको रूपमा लिएका थिए । उनीहरूले कम्तीमा तीन लाख रुपैयाँ पाउने प्रावधान छ ।


अक्सनमा सर्वाधिक भाउ पाएका ६ मध्येका तीन खेलाडी रूपन्देही च्यालेन्जर्सले लियो । उसले पूरा रकम खर्चेर ललितसिंह भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई लिएको थियो । भीमलाई रूपन्देहीले अन्तिममा लिएको हो ।


उनको नाम अक्सनको सूचीमा आउनु अगाडि रूपन्देहीको खातामा ५ हजारमात्र बाँकी थियो । रूपन्देहीले भीमलाई २ लाख ४५ हजार रुपैयाँको २५ प्रतिशत पेनाल्टी तिर्दै लिएको छ ।


अक्सनमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा १० र बढीमा १२ लाख खर्च गर्नुपर्ने थियो । अक्सनबाट एउटा टोलीले ११ खेलाडी लिनुपर्ने अवस्थामा रूपन्देहीको १० खेलाडी खरिदमै ११ लाख ९५ हजार सिध्याएको थियो । १ रणनीतिक, १ टयालेन्ट हन्ट तथा २ विदेशी खेलाडी गरी कुल १५

खेलाडी एउटा टोलीमा हुनेछन् । विदेशी खेलाडी फ्रेन्चाइज टोलीले आफैं राख्न पाउने छ ।


प्रदीप ऐरीलाई २ लाख ४० हजार खर्चिएको रूपन्देहीले ४ खेलाडीलाई मात्र ९ लाख ९० हजार खर्च गर्‍यो । त्यसपछि टोलीले सन्दीप सुनार, कृष्ण कार्की र विक्रम सोबलाई पनि थपेको हो । ‘योजनाअनुसार नै हामीले चाहेका खेलाडीहरू पायौं । हाम्रो टिम सन्तुलित बनेको छ र टिम व्यवस्थापन, प्रशिक्षक र म सबै खुसी छौं,’ फ्रेन्चाइज क्रिकेटमा पहिलोपल्ट गृहनगरको टोलीबाट खेल्न लागेका वसन्त रेग्मीले भने ।


आफूले खेलेको हरेक फ्रेन्चाइज क्रिकेटको फाइनल खेल्दै आएका शरद भेषावकर अक्सनमा पुन: एकपल्ट अब्बल बने । उनको महेन्द्रनगर युनाइटेडले आरिफलाई २ लाख ५० हजार भाउ लगाएर गोलाप्रथाबाट लिएको थियो ।


टोलीले रोहितकुमार पौडेललाई २ लाख ३० हजार, अविनाश बोहरालाई १ लाख ७० हजार, अमरसिंह राउटेलालाई १ लाख २० हजार, सागर ढकाललाई १ लाख र सिद्धान्त लोहनीलाई ७० हजार भाउ लगाउँदै लियो ।


‘जस्तो टिम बनेको छ, त्यसबाट पूर्ण सन्तुष्ट छु । युवा खेलाडीलाई हामीले विश्वास छौं, जो अघिल्ला प्रतियोगिताहरूमा पनि लयमा थिए । हाम्रो सन्तुलित टोली छ,’ महेन्द्रनगरका रणनीतिक खेलाडी शरदले भने । महेन्द्रनगरले ११ लाख ८५ हजार खर्च गरेको थियो ।


रूपन्देहीले जरिवानाबाहेक नै १४ लाख ४५ हजार खर्च गरेको थियो । जरिवाना तिर्नेमा विराटनगर र अत्तरिया पनि थिए । यी दुई अक्सनमा ११ खेलाडीलाई कम्तीमा १० लाख खर्च नगरेकोमा दण्डित हुन पुगेका थिए ।


विराटनगरले ९ लाख ९० हजार र अत्तरियाले ९ लाखमात्र खर्च गर्न सकेको थियो । विराटनगरले आशिफ शेखलाई १ लाख ८० हजार, कुशल भूर्तेललाई १ लाख ६० हजार, पृथु बाँस्कोटालाई १ लाख २० हजार तथा किशोर महतो र सुसन भारीलाई समान १ लाख तथा हरिशंकर शाहलाई ९० हजार, राजेश पुलामी मगर र सम्शाद शेखलाई समान ७५ हजारमा लिएको छ ।


‘योजनाअनुसार नै हामीले आवश्यक खेलाडी पायौं । अधिकतम बोलीपछि गोलाप्रथाबाट खेलाडी छनोट हुँदा २–३ जनालाई गुमाउनुपर्‍यो । यद्यपि टिम सन्तुलित छ,’ विराटनगरका रणनीतिक खेलाडी करणले भने ।


अत्तरियाले सन्दीप जोरालाई २ लाख ३० हजार, भुवन कार्कीलाई २ लाख १० हजार, कमलसिंह ऐरीलाई ९० हजार तथा रामनरेश गिरी र जितेन्द्रसिंह ठकुरीलाई समान ७५ हजारमा लिएको छ । टोलीका रणनीतिक खेलाडी दीपेन्द्रसिंह ऐरी हाल अस्ट्रेलियामा रहेका कारण अक्सनमा थिएनन् ।


‘हामीलाई केही भाग्यले साथ नदिएजस्तो भयो । हामीले अधिकतम बोली लगाएका खेलाडीमा अन्य टिमबाट पनि बोली लाग्यो । गोलाप्रथामा हामी अभागीजस्तै भयौं । यद्यपि युवा खेलाडीले भरिएको टिम बनेको छ । टिम सन्तुलित नै छ,’ टोलीका व्यवस्थापक रजतजंग शाहीले भने ।


धनगढीले युवा स्टार पवनसँगै अमित श्रेष्ठ र सुनील धमलालाई समान १ लाख ८० हजार, सौरभ खनाललाई १ लाख ६० हजार, विपिन खत्री र हरिबहादुर चौहानलाई समान ९५ हजार, दीपेश श्रेष्ठलाई ८० हजार र राजु रिजालमाथि ७५ हजार भाउ लगाउँदै लियो ।


धनगढीले १२ लाखभन्दा बढी खर्च गरेकाले टोली जरिवानाको भागिदार बन्न पुग्यो । त्यसका बाबजुत उत्कृष्ट टोली बनेकोमा रणनीतिक खेलाडी सोमपाल सन्तुष्ट थिए । उनले भने, ‘टिम राम्रो बनेकोमा खुसी छु । टिममा एक–से–एक खेलाडी छन् जसको एक्लो प्रयासले खेलको नजिता हेरफेर हुनसक्छ । अघिल्लो संस्करणको च्याम्पियन हुनुका नाताले उपाधि रक्षालाई हामी तयार छौं,’ सोमपालले भने ।


अक्सनमा जरिवाना नतिर्ने दुईमध्येको टोली काठमाडौं गोल्डेन्स थियो । ललितनारायण राजवंशीलाई गोल्डेन्सले २ लाख ५० हजारमा लियो । टोलीले रशिद खान र अनिलकुमार शाहलाई समान १ लाख ७० हजार, विक्रम भुसाललाई १ लाख ६० हजार, योगेन्द्रसिंह कार्कीलाई ७० हजार, सोनु तामाङलाई ६५ हजारमा लिएको हो ।


‘सबैले अक्सनको सुरुआतमा राम्रो प्रतिस्पर्धा गर्नुभयो । पछि बजेटको सीमामा रहनुपर्‍यो । हाम्रो टिम ब्याटिङ र बलिङ दुवैमा राम्रो बनेको छ । युवा खेलाडीको सन्तुलित टिम छ,’ गोल्डेन्सका रणनीतिक खेलाडी ज्ञानेन्द्रले भने ।


जरिवानाबाहेक अक्सनमा ६ फ्रेन्चाइज टोलीले ६८ लाख ३५ हजार खर्च गरेका थिए । अक्सनलाई ‘ओपन क्याटगोरी’ बनाइएको थियो । खेलाडीले आफ्नो न्युनतम पारिश्रमिक आफैं तोकेका थिए, त्यसैमा फ्रेन्चाइज टोलीले भाउ लगाएका थिए ।


टयालेन्ट हन्टबाट छानिएका सुदूरपश्चिमका १२ खेलाडीमाथि भाउ लगाइएको थियो । प्रत्येक फ्रेन्चाइज टोलीले १–१ गरी टयालेन्ट हन्टबाट आएका ६ खेलाडीलाई जनही ३० हजारका दरले लिएका थिए ।


राष्ट्रिय टोलीका कप्तान पारस खड्का पारिवारिक कारण, सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लिगको व्यस्तताका कारण र सागर पुनले घाइते भएका कारण डीपीएलमा खेल्ने छैनन् । सुवास खकुरेल र नरेश बुढाएरले पनि अक्सनमा नाम लेखाएका थिएनन् ।

प्रकाशित : पुस २२, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?