कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतलाई ऐतिहासिक सफलता

एएफपी

नयाँ दिल्ली — भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अस्ट्रेलियाको मैदानमा पहिलो टेस्ट शृंखला जित्नुलाई आफ्नो खेलजीवनकै सबैभन्दा गौरवपूर्ण क्षणका रूपमा व्याख्या गरेका छन् ।

भारतलाई ऐतिहासिक सफलता

अस्ट्रेलियामा पहिलोपल्ट टेस्ट शृंखला जितेको भारतीय टोलीले आफ्नो टेस्ट वरीयता (एक नम्बर) लाई अझै बलियो बनाएको छ । विश्वभरबाट उसलाई बधाई र प्रशंसा आइरहेको छ ।


सिड्नीमा चौथो तथा अन्तिम टेस्टको पाँचौ तथा अन्तिम दिनको खेल पनि वर्षाका कारण रद्द गरिएपछि भारतले शृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो । सन् १९४७/४८ यता भारतले अस्ट्रेलियाली भूमिमा टेस्ट शृंखला जित्न सकेको छैन । ‘अस्ट्रेलियामा एक ऐतिहासिक क्रिकेटिङ उपलब्धि,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिट गरेका छन्, ‘कडा मिहिनेतपछिको शृंखलाबद्ध जितमा भारतीय टिमलाई बधाई । शृंखलामा केही उल्लेखनीय प्रदर्शन र टिमवर्क देखियो । आगामी खेलका लागि शुभकामना ।’


भारतका महान क्रिकेटर सचिन तेन्दुलकरले पनि यो उपलब्धि भारतीय क्रिकेट टोलीका लागि अद्भूत भनेका छन् । ‘भारतीय टिमले शृंखलामा सहज जित निकालेको छ र मलाई सबै खेलाडीप्रति गर्व छ,’ सचिनले टिटरमा उल्लेख गरेका छन् ।


सिड्नीमा १ सय ९३ रनको उत्कृष्ट इनिङ्ससँगै चार टेस्टमा ५ सय २१ रन बनाएर म्यान अफ द सिरिज घोषित चेतेश्वर पुजाराको सचिनले खुलेर तारिफ गरे । ‘टेस्टमा पुजाराले सानदार ब्याटिङ गरे । मेरा लागि यही नै दुई टिमबीचको अन्तर हो । यति लामो समयसम्म क्रिजमा टिकिरहन सक्नु उनको एकाग्रता र टेस्ट क्रिकेटप्रतिको विश्वास हो,’ सचिनले लेखेका छन् ।


भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले अस्ट्रेलियाली स्पिनर नथान लायनसँगै शृंखलामा सर्वाधिक २१ विकेट लिए । कप्तान कोहलीले यो सफलतालाई टिमको संयुक्त प्रयाससँग जोडेका छन् । ‘यो टिमको हिस्सा हुनुमा मलाई गर्व छ । यो टिममात्र होइन, परिवार हो,’ कोहलीले टिटरमा लेखेका छन् । भारतीय टोलीका पूर्व महान खेलाडीहरू भीभीएस लक्ष्मण र वीरेन्द्र सेवागले पनि टिमको जितप्रति गर्व गरेका छन् ।


उनीहरूले जितको श्रेय वर्तमान टिमका सबै सदस्यलाई दिएका छन् । जितपछि लक्ष्मणले भने, ‘सन्तुष्टि र आनन्दको यो भन्दा उत्कृष्ट नमूना अरु के होला ?’ सेवागले टिमको उपलब्धिमा गर्व लागेको बताएका छन् । पूर्व कप्तान सुनील गावस्करले भने स्टिम स्मिथ र डेविड वार्नर निलम्बनमा परेपछि कमजोर बनेको अस्ट्रेयाली टोलीमाथि भारतले जित निकालेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : पुस २४, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?