कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘लक्की’ ललित

कुनै समय राष्ट्रिय टोलीमा ७ जनासम्म विराटनगर क्षेत्र (क्षेत्र नम्बर १) का खेलाडी हुन्थे । अहिले समय फेरिएको छ । ललितनारायण राजवंशी एक्लैले प्रतिनिधित्व गरिरहेका छन् ।
कुशल तिमल्सिना

काठमाडौँ — त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २०७१ सालको राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर १ विराटनगरबाट एउटा १५ वर्षे किशोरले डेब्यु गरे । धेरै कमले मात्र पाउने अविस्मरणीय सफलता उनै किशोर क्रिकेटर ललितनारायण राजवंशीले पाए ।

‘लक्की’ ललित

आर्मीविरुद्धको पहिलो खेलको आफ्नो पहिलो बलमै उनले नरेश बुढाऐरको विकेट लिए ।


करिअरको पहिलो राष्ट्रिय खेलमा ८ ओभर बलिङमा ३३ रन खर्चेर २ विकेट लिए । त्यो प्रदर्शनले क्षेत्रमा खुम्चिएको उनको प्रतिभा राष्ट्रियकरण भयो । त्यसयता घरेलु होस् या अन्तर्राष्ट्रिय क्रिकेटमा उनको दौड निरन्तर छ । पहिलो पटक क्याम्पमा परेका ललितले यू–१९ राष्ट्रिय टोलीमा डेब्यु गरे, सन् २०१५ मा ।


तीन वर्षको अवधिमा बायाँ हाते स्पिनर घरेलु क्रिकेटमा अपरिहार्य बनिसकेका छन् । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा अटाएका छन् । क्रिकेटको मक्का मानिने लडर््स क्रिकेट मैदानमा जुलाई २९, २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा डेब्यु गरे । वान–डे अन्तर्राष्ट्रिय डेब्युका लागि प्रतीक्षारत छन् । टिममा परे पनि प्लेइङ सेटमा पर्न समय कुरिरहेका छन् ।


यसै महिना काठमाडौंमा सम्पन्न एभरेस्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका ललित घरेलु फ्रेन्चाइज क्रिकेटमा सफल खेलाडीमा स्थापित भइसकेका छन् ।


पछिल्ला तीन वर्षयता भएका ६ फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटमध्ये ललितले तीन प्रतियोगिताको उपाधि जितेका छन् । दुई वर्षअघि धनगढी प्रिमियर लिगको पहिलो संस्करण टिम चौराह धनगढीले जित्दा ललितले १२ विकेट लिए । त्यो उनको फ्रेन्चाइज प्रतियोगिताको पहिलो उपाधि थियो । गत कात्तिकमा पोखरा प्रिमियर लिगमा पोखरा पल्टनबाट उनले दोस्रो उपाधि जिते ।


प्रतियोगितामा उनले १० विकेट लिएका थिए । प्रतिओभर ६ रनभन्दा कम खर्चेका ललितलाई मोस्ट भ्यालुएबल प्लेयरको उपाधि दिइएको थियो । ‘अहिलेसम्म जुन तरिकाले खेलिरहेको छु, एकपछि अर्को खेलमा राम्रो भइरहेको छ,’ १९ वर्षे ललितले भने, ‘पहिलो प्रयासमै यू–१९ राष्ट्रिय टोलीमा खेलें, सिनियर दाइहरूले हौसला दिनुहुन्छ, भविष्यमा अझै राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’


सन् २०१५ मा एसीसी यू–१९ इलाइट कपका लागि भएको क्षेत्रीय छनोटमार्फत राष्ट्रिय क्याम्पमा परेका थिए, ललित । उनले मलेसियामा इलाइट कप खेले । त्यसलगत्तै यू–१९ विश्वकप छनोट खेले । मलेसियामा भएको विश्वकप छनोटको फाइनलमा आयरल्यान्डलाई हराएर उपाधि जित्दा उनी म्यान अफ द म्याच चुनिएका थिए । नेपालले त्यसअघिको संस्करणमा विश्वकप खेल्न पाएको थिएन । त्यस जितले ललितको प्रतिभालाई अझै निखार्न सहयोग गर्‍यो । उनले त्यस खेलमा १० ओभर बलिङ गरी १ मेडन राख्दै ३६ रन खर्चेर ४ विकेट लिएका थिए ।


छनोट प्रतियोगिताको प्रदर्शन ललितलाई अर्को वर्ष बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपालको टिममा पर्न पर्याप्त भएन । सन्दीप लामिछानेको उदय यहींबाट भयो । सन्दीपसँगै सुशील कँडेल र प्रेम तामाङलाई स्पिनरका रूपमा लगियो । ललित टिमबाहिर रहे ।


विश्वकपपछि सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा तहल्का मच्चाए । ललितलाई सन्दीपको छायामा परेको क्रिकेटर भनिन्छ । ललित यो मान्न तयार छैनन् । ‘अवश्य पनि उनले मैलेभन्दा राम्रो खेलिरहेका छन् । यसको अर्थ यो होइन कि म उसको छायामा परेको छु । हामीबीच राम्रो सम्बन्ध छ । हाम्रो बलिङ एक्सन नै फरक छ,’ ललितले भने ।


कुनै समय यस्तो थियो नेपालको राष्ट्रिय टोलीमा विराटनगर (क्षेत्र १) बाट प्रतिनिधित्व गर्ने खेलाडीको बाहुल्य रहन्थ्यो । राष्ट्रिय टोलीमा ७ जनासम्म विराटनगर क्षेत्रका खेलाडी थिए । अहिले समय फेरिएको छ । ललित एक्लैले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिरहेका छन् । नेपालमा बायाँ हाते अफ स्पिनर कम छन् ।


राष्ट्रिय टोलीबाट वसन्त रेग्मी करिअरको उत्तरार्धमा छन् । प्रतिस्थापनका लागि योग्य बन्न धेरै मिहिनेत गर्नुपर्ने ललितले बुझेका छन् । ‘सिनियर लेभलमा त थोरै नै छन् । अहिले नयाँहरू राम्रो खेलिरहेका छन् । आफूलाई योग्य बनाउन धेरै सुधार गर्नुपर्छ, चुनौती धेरै छ,’ घरेलु क्रिकेटमा वसन्तका प्रशंसक ललितले भने ।


ललितको क्रिकेट करिअर लामो छैन । छोटो समयमा नै उनले आफूलाई स्थापित गर्न सकेका छन् । एसएलसी दिएपछि क्रिकेट खेल्नकै लागि साइन्स विषय त्यागेका ललितको प्रगतिबाट बल्ल परिवारले खुसी मान्न थालेको छ । ‘विराट साइन्स क्याम्पस घरनजिकै थियो । पढाइ राम्रै थियो । त्यसैले परिवार मलाई साइन्स पढाउन चाहन्थ्यो,’ ललितले भने, ‘म भने ३५ मिनेटको साइकल यात्रा गरी सिटी कलेजमा पढ्न थालें । त्यति बेला सिटी कलेज हिसान इन्टरस्कुल क्रिकेट च्याम्पियन थियो ।’


राष्ट्रिय प्रतियोगिता खेलेका अजय राजवंशीको सल्लाहपछि उनले तीव्र गतिको बलिङ छाडेर स्पिन बलिङ गर्न थालेका हुन् । पुष्प थापा, सिद्धान्त लोहनी, अजय राजवंशी, धिरज बुढाथोकीलगायतसँग अभ्यास गर्दागर्दै उनी पूर्वाञ्चल क्रिकेट क्लबमा पुगे । पूर्वाञ्चलबाट २०६९ सालमा उनले जनकपुरको दीपक मेमोरियल क्रिकेट खेलेका थिए । त्यहाँ पनि उनले पहिलो खेलमै ललितपुरको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरविरुद्ध २ विकेट लिएका थिए ।


रुस्लान धनगढी प्रिमियर लिगको अक्सनमा शनिबार मात्र ललितमाथि काठमाडौं गोल्डेन्सले अधिकतम २ लाख ५० हजार भाउ लगाएको थियो । ललित अन्तर्राष्ट्रिय वान–डेमा डेब्यु गर्ने अवसरको खोजीमा छन् । उनले सपना देखेका छन् कि टिमलाई वान–डे विश्वकप खेल्ने यात्रामा योगदान दिन सकियोस् ।


‘मैले अहिलेसम्म कसैसँग नि भनेको छैन कि मेरो लक्ष्य नेपाललाई वान–डे विश्वकप खेलाउने हो । हामीले ट्वान्टी–२० विश्वकप खेल्यौं, यू–१९ विश्वकपमा पुग्न मेरो योगदान रह्यो,’ अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका पूर्वक्रिकेटर डानियल भिट्टोरीका समर्थक ललितले भने, ‘अबको लक्ष्य भनेको नेपाललाई वान–डे विश्वकप खेलाउने हो । विश्वकपसम्म पुग्दा मैले योगदान दिन सकें भने मेरो सपना पूरा हुनेछ ।’ ललितले विदेशी प्रिमियर लिग खेल्ने आफ्नो अर्को लक्ष्य पनि सुनाएर बिट मारे ।

प्रकाशित : पुस २४, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?