३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अर्थहीन खेलमा एपीएफको जित

काठमाडौँ — पाँचौं स्थानको एपीएफ क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा दोस्रो स्थानको संकटालाई २–१ गोलअन्तरले पराजित गरेको छ । 

अर्थहीन खेलमा एपीएफको जित

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा विभागीय टोलीका लागि युवराज खड्का र राजन गुरुङले दुवै हाफमा १–१ गोल गरेपछि संकटाले तेस्रो हार बेहोर्दै लिग बिट मार्‍यो । लिगमा एक खेलअगावै दोस्रो स्थान सुरक्षित गरेको संकटाबाट लक्ष्मण रुचालले खेलको अन्त्यतिर गोल फर्काए ।


लिगमा सातौं जित निकालेको एपीएफको यो नतिजाले अंकतालिकामा कुनै फेरबदल भएको छैन । एपीएफको २३ अंक भएको छ भने आफ्ना पूर्व कप्तान सल्यान खड्गीद्वारा प्रशिक्षित संकटाले दोस्रो स्थानमा रहन २९ अंक बटुलेको छ । लिगको दुई खेलअगावै उपाधि सुरक्षित गरेको मनाङ मस्र्याङदी शतप्रतिशत जितको बाटोमा छ । ३६ अंक बटुलेको मनाङले मंगलबार फ्रेन्ड्सविरुद्ध हुने खेलमा जित हासिल गरे शतप्रतिशत जितको कीर्तिमान बनाउने छ ।


‘दोस्रो स्थान सुरक्षित गरिसकेको भएर संकटा आज बढी आत्मविश्वासी थियो । उनीहरूले जितका लागि पूर्ण प्रयास नै गरेनन्,’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हामीले त्यसको फाइदा उठाउन सक्यौं । हामी जितको योजनासहित मैदानमा उत्रिएका थियौं ।


प्रशिक्षक तामाङले लिगमा आफ्नो टोलीको प्रदर्शनप्रति सन्तोष व्यक्त गरे । ‘कुनै समय हामी लिगमा ११ औं स्थानमा थियौं जबकि हाम्रो लक्ष्य शीर्ष ३ भित्र पर्ने थियो । त्यसपछि ८ खेलमा हामीले १९ अंक बटुल्यौं जसमा पछिल्लो ५ खेलमा अविजित छौं ।’


पहिलोपल्ट ए डिभिजन टिम सम्हालेका संकटाका प्रशिक्षक सल्यान खड्गीको भनाइ पनि यस्तै रह्यो । ‘हामीले यसअघि नै दोस्रो स्थान हासिल गरिसकेका थियौं । केटाहरूले यो खेललाई हल्का रूपमा लिए र हार्न पुग्यौं ।’ संकटालाई नाटकीय सफलता दिलाएका प्रशिक्षक खड्गीले भने, ‘लिगमा यो सफलता वास्तवमै रोमान्चक छ । यो हाम्रो लक्ष्यभन्दा धेरै ठूलो उपलब्धि हो । यसको श्रेय कडा मिहिनेत गर्ने सबै खेलाडी र क्लब व्यवस्थापनलाई जान्छ, जसले मलाई विश्वास गरे ।’


लिगको पुरस्कार कसको भाग कति ? (रुपैयाँमा)

मनाङ मस्र्याङदी५० लाख

संकटा३५ लाख

थ्रीस्टार२५ लाख

त्रिभुवन आर्मी१५ लाख

एपीएफ७ लाख

नेपाल पुलिस५ लाख

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई एक–एक थान मोटरसाइकल

प्रकाशित : पुस २४, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?