३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सकियो ए डिभिजन लिग, च्याम्पियनलाई अन्तिम गाँसमा ढुंगा

कुशल तिमल्सिना

काठमाडौँ — अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भएपछि सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिशत जितसाथ कीर्तिमान बनाउने मनाङ मस्र्याङदी क्लबको लक्ष्य पूरा हुन सकेन । ए डिभिजन लिगको कीर्तिमानी ट्रफी उचाल्नुअघिको हार मनाङका लागि खल्लो बन्यो । 

सकियो ए डिभिजन लिग, च्याम्पियनलाई अन्तिम गाँसमा ढुंगा

यद्यपि लिगमा लगातार ११ खेलमा जित निकालेपछि मनाङ दुई खेलअगावै च्याम्पियन भइसकेको थियो । कीर्तिमान राख्ने लक्ष्य पूरा गर्न जित्नैपर्ने खेलमा फ्रेन्ड्सविरुद्ध अघिकांश समय बल नियन्त्रणमा लिए पनि मनाङले गोल गर्न सकेन ।

खेलको इन्ज्युरी समयमा अनिल महर्जनको फ्रिकिकमा वैकल्पिक खेलाडी विकास लामाले नजिकको दूरीबाट उत्कृष्ट हेड गोल गरे । ८० औं मिनेटमा फोफाना ब्राहिम्यानलाई प्रतिस्थापन गरेका विकासको गोलले मनाङको लिगमा अपराजित यात्रा पनि टुंग्याएको थियो ।

पाँच वर्षपछि यसपालि आयोजित लिगमा रेलिगेसन व्यवस्था थिएन । तर पुछारका दुई टोलीको कारबाहीस्वरुप अर्को सिजन क्रमश: २ र १ अंक घटाइने छ भने तयारी खर्चवापतको अन्तिम किस्ता पनि खोसिनेछ ।

मंगलबार नै हल्चोक मैदानमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेले पनि एनआरटी १४ टोलीसम्मिलित लिगको अन्तिममा रह्यो । उसको छिमेकी क्लब मछिन्द्र १३ औं स्थानमा रह्यो । दुवैको समान ७ अंक भए पनि गोल अन्तरको आधारमा एनआरटी अन्तिममा परेको हो । अर्को सिजनको लिगमा मछिन्द्रलाई १ र एनआरटीलाई २ अंकको कारबाही हुनेछ । मछिन्द्रलाई तयारी खर्चवापतको २ लाख र एनआरटीलाई ३ लाख रुपैयाँ कारबाही गरिने छ ।

शतप्रतिशत जित निकाल्ने योजनामा धक्का लागेपछि निराश देखिएका मनाङका प्रशिक्षक सुमन श्रेष्ठले सोच्दै नसोचेको परिणामले लिग उपाधि खल्लो भएको प्रतिक्रिया दिए ।

‘तर पूरै सिजनभर हामीले राम्रो खेल्यौं र आठौंपल्ट लिग जित्न सफल भयौं । सिक्किमको गभर्नर्स गोल्डकपसमेत गरी हामीले १६ औं खेलमा पहिलोपल्ट हारेका हौं,’ मनाङसँग सम्झौता चार महिना बाँकी रहेका प्रशिक्षक सुमनले भने, ‘हामी नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्न जान्छौं । अबको तयारी त्यसैका लागि हुनेछ । एएफसी कपका लागि हाम्रोसामु धेरै चुनौती छन् । सुधार गर्नुपर्छ ।’

प्रशिक्षक श्रेष्ठले फ्रेन्ड्सविरुद्ध खेलाडीहरू बढी आत्मविश्वासी देखिएकाले पनि अप्रत्यासित नतिजा बेहोर्नुपरेको बताए । नियमित खेलाडी मोहम्मद युसुफ दोहोरो पहेँलो कार्डको प्रतिबन्धमा रहँदा मनाङको रक्षापंक्ति खस्किएको थियो । सुजल श्रेष्ठलाई पनि प्रशिक्षक श्रेष्ठले बेन्चमा राखे ।

अर्का विदेशी एडेलाजा सिमोदी २१ औं मिनेटमा चोटग्रस्त बनेपछि विमल रानाले उनलाई प्रतिस्थापन गरेका थिए । ‘पहिलो हाफमा हाम्रो तालमेल बन्न सकेन, दोस्रो हाफमा हामीले पूरै समय बल नियन्त्रणमा राख्यौं तर गोल गर्न सकेनौं । अन्तिममा गोल खान पुग्यौं,’ लिगका उत्कृष्ट प्रशिक्षकको अवार्ड थाप्नु अघि श्रेष्ठले भने, ‘फ्रेन्ड्सले बिना दबाब खेल्यो । हामी जित्नैपर्ने योजनामा भए पनि खेलाडी बढी आत्मविश्वासी देखिए ।’

मनाङले उपाधिसँगै ५० लाख रुपैयाँ नगद पुरस्कार जित्यो । अघिल्लो संस्करणमा भन्दा पुरस्कार राशि कम गरिए पनि क्लबहरूलाई तयारी खर्च र हरेक जितपछिको बोनस रकमको व्यवस्था गरिएको थियो । क्लबलाई एन्फाले तयारीका लागि २० लाख उपलब्ध गराएको थियो । त्यस्तै हरेक जितमा ५० हजार र बराबरीमा १५ हजार बोनस रकम व्यवस्था गरिएको थियो ।

जसअनुसार लिगमा १२ जित निकालेको विजेता मनाङले ६ लाख बोनस पाएको छ । ९ जित र १ बराबरी खेलेको संकटाले ४ लाख ६५ हजार, ८ जित र २ बराबरी खेलेको थ्रीस्टारले ४ लाख ३० हजार, ७ जित र ४ बराबरी खेलेको त्रिभुवन आर्मीले ४ लाख १० हजार, ७ जित र २ बराबरी खेलेको एपीएफले ३ लाख ७० हजार र ५ जित, ४ बराबरी खेलेको नेपाल पुलिसले ३ लाख १० हजार रुपैयाँ बोनस पाएका छन् ।

त्यस्तै ५ जित र २ बराबरी खेलेको हिमालयन शेर्पाले २ लाख ८० हजार, ४ जित र ४ बराबरी खेलेको च्यासल युथले २ लाख ६० हजार, ४ जित र २ बराबरी खेलेको सरस्वती युथले २ लाख ३० हजार, ३ जित र ४ बराबरी खेलेको जावलाखेलले २ लाख १० हजार, ३ जित र ३ बराबरी खेलेको फ्रेन्ड्स क्लबले १ लाख ९५ हजार, २ जित र ४ बराबरी खेलेको ब्रिगेड ब्वाइजले १ लाख ६० हजार, समान १ जित र ४ बराबरी खेलेका अन्तिमका दुई टिम मछिन्द्र र एनआरटीले समान १ लाख १० हजार रुपैयाँ बोनस पाएका छन् । ए डिभिजन लिगका शीर्ष ६ स्थानसम्मका टोलीले नगद पुरस्कार पाए । मनाङले ५० लाख, संकटाले ३५ लाख, थ्रीस्टारले २५ लाख, आर्मीले १५ लाख, एपीएफले ७ लाख र नेपाल पुलिसले ५ लाख पुरस्कार पाए ।

व्यक्तिगत विधातर्फ मनाङका खेलाडीको वर्चस्व रह्यो । मनाङका गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर हेमन गुरुङ र प्रशिक्षक सुमन श्रेष्ठ आ–आफ्नो विधामा उत्कृष्ट ठहरिए । विशालले लिगको १३ खेलमा मात्र ७ गोल खाए । थ्रीस्टारका रन्जित धिमाल उत्कृष्ट डिफेन्डर र आर्मीका भरत खवास उत्कृष्ट स्ट्राइकर चुनिए । भरत, थ्रीस्टारका रन्जित र मनाङका ओलावाले अफिज लिगका सर्वाधिक गोलकर्ता हुन् ।

लिगमा ११ खेल खेलेका भरतले ७ गोल गर्दा २ गोल पेनाल्टीमा गरेका थिए । उनले चार गोललाई पास उपलब्ध पनि गराए । उत्कृष्ट पाँचै जनाले पल्सर मोटरसाइकलका साथै जनही ५० हजार रुपैयाँ पुरस्कार पाए । आर्मीकै विकास खवासले लिगको उत्कृष्ट युवा खेलाडीको रूपमा हालै स्थापना गरिएको स्व. मणि शाह स्मृति इमर्जिङ खेलाडी पुरस्कार पाए । त्यसवापत उनले १ लाख रुपैयाँ पाए ।

१४ टोलीसम्मिलित लिगका ९१ खेलमा २ सय २८ गोल भए । १ सय गोल पहिलो हाफमा भएका थिए । लिग अवधिभर २ सय ६४ पहेँलो र १० रातो कार्ड देखाइएको थियो । लिगमा ७१ खेलमा स्पष्ट नतिजा निस्किएको थियो भने २० खेल बराबरीमा सकिए । १२ औं स्थानमा रहेर लिग टुंग्याएको ब्रिगेड ब्वाइज क्लबले फेयर प्ले अवार्डअन्तर्गत १ लाख पुरस्कार पायो । फ्रेन्ड्सकी टिम फिजियो नविना श्रेष्ठले उत्कृष्ट सर्भिस अवार्ड पाइन् ।


लिगका उत्कृष्ट पाँच


हेमन गुरुङ

मिडफिल्डर, मनाङ मर्स्याङदी

टिमवर्कले गर्दा जित्न सफल भएको हुँ । एकदमै खुसी लागेको छ । दुई महिनाको लिगमा मैले राम्रो गर्न सकेँ रमाइलो लागेको छ । लिगभरि राम्रो भयो । मैले मिडफिल्डबाट राम्ररी बल सप्लाई गर्न सकेँ ।


पछाडि डिफेन्सबाट र अगाडि फरवार्डहरूले राम्रो साथ पाएँ । अन्तिम खेलमा आएर फ्रेन्ड्ससँग हार्नुपर्दा चाहिँ केही खल्लो भयो । हामीले जित्नसक्ने खेल थियो । स्ट्राइकरहरूले पाएको अवसर सदुपयोग गर्न सकेनन् । व्यक्तिगत रूपमा मेरो पनि प्रदर्शन राम्रो भएन ।


उत्कृष्ट मिडफिल्डर अवार्डले मेरो खेल करिअरमा धेरै महत्त्व राख्नेछ र जिम्मेवारी पनि बढाउने छ । राष्ट्रिय टोली रहेर अन्तर्राष्ट्रिय खेलहरूमा राम्रो गर्ने अबको उद्देश्य हो । । मनाङबाट पनि एएफसी कपका लागि तयारी सुरु गर्नेछु ।


भरत खवास

स्ट्राइकर, त्रिभुवन आर्मी

लिगमा उत्कृष्ट खेलाडीको उपाधि पाउनुमा खुसी छु । अर्कोतर्फ हामीले जुन लक्ष्य लिएर हामीले लिग सुरु गरेका थियौं, यो भन्दा राम्रो नतिजा निकाल्न सकिन्छ जस्तो लागेको थियो । समग्रमा खुसी नै छु, मेरो सफलताका लागि मेरा टिममेटको सहयोग महत्त्वपूर्ण छ ।


एक या दुई जनाले खेलेर मात्र समग्र जित निस्कने होइन । हाम्रो मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ चोटका कारण लिग खेल्न सकेनन् । अनि हामीले जित्न सक्ने खेलमा पनि बराबरीको नतिजा बेहोर्नुपर्‍यो । लिगको सुरुआती खेलमा नै हामीले एनआरटीसँग अप्रत्यासित बराबरी खेल्यौं, त्यही खेलदेखि नै हामीले जितको लयमा लड्खडायौं ।


सायद निर्णायक क्षण नै पहिलो खेल रह्यो । लिगअघिका नकआउट प्रतियोगितामा राम्रो प्रदर्शन भएकाले हामीमाथि अपेक्षा धेरै थियो । लिगमा सोचेअनुसारको प्रदर्शन हुन सकेन । दुई खेल मैले पहेँलो कार्डका कारण गुमाए । कार्ड नभएको भए सायद त्यो खेलहरू जिताउन सक्थें कि जस्तो लाग्छ ।


रन्जित धिमाल

डिफेन्डर, थ्रीस्टार क्लब

धेरै खुसी लागेको छ कि मैले उत्कृष्ट डिफेन्डरको उपाधि जित्न सकेँ । टिमले पनि राम्रो खेलिरहेको थियो । जब हामीले आर्मीसँग अन्तिममा गोल खायौं । त्यो नै हाम्रो उपाधि यात्रामा निर्णायक क्षण बन्यो । मनाङसँग तेस्रो चरणमै हारेर पनि हाम्रो आत्मविश्वासमा कमी आयो । सबै खेलहरू महत्त्वपूर्ण नै थियो । विपक्षी स्ट्राइकरलाई रोक्न जहिले पनि कठिन नै हुन्छ । मनाङ र आर्मीसँगको खेलमा गाह्रो भएको थियो । नेपालीको तुलनामा विदेशी खेलाडीहरू शारीरिक रूपमा सशक्त हुन्छन् । डिफेन्डरलाई मुख्य चुनौती नै उनीहरूको हुन्छ ।


सुमन श्रेष्ठ

प्रशिक्षक, मनाङ मर्स्याङदी

उत्कृष्ट खेलाडीको साथ, क्लब व्यवस्थापनको सहयोग र विदेशी प्रशिक्षक फुजा तोवेको रणनीतिक सहयोगले नै हामीले लिग जित्न सफल भएको हो । पहिलोपल्ट ए डिभिजन क्लबको प्रशिक्षणमा मैले ठूलो सफलता हासिल गरेको छु । राम्रो लागेको छ र भविष्यमा अझै राम्रो गर्न चुनौती पनि छ । लिगअघि मेरै प्रशिक्षण सिक्किममा गभर्नर्स गोल्डकप जितेका थियौं । चैतसम्म मेरो सम्झौता मनाङसँग छ । यसबीचमा एएफसी कपको तयारी सुरु गर्नेछु ।


विशाल श्रेष्ठ

गोलरक्षक, मनाङ मर्स्याङदी

दुई खेलअगाडि नै हामीले जित्न सक्यौं । आज अन्तिम खेलमा पराजित हुनुपर्दा केही नरमाइलो त भयो । तर, मुख्य कुरा हामी च्याम्पियन बन्यौं । मैले लिग अवधिभर कम–से–कम गोल खाने प्रयासस्वरुप मिहिनेत गरेको थिएँ र सफल भएँ । यसका लागि टिममेटको साथ र सहयोग महत्त्वपूर्ण थियो । व्यक्तिगत रूपमा यो उपाधिले धेरै महत्त्व राख्छ । यसका लागि टिममेट, प्रशिक्षक, क्लब व्यवस्थापन सबैप्रति कृतज्ञ छु ।


प्रकाशित : पुस २५, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?