कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

महिला भलिबलमा दाबेदारकै दबदबा

काठमाडौँ — दोस्रो न्यु डायमन्ड राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबार सुरु भएको छ । लिग चरणका खेल सकिँदा उपाधि दाबेदार टोलीहरूकै प्रभावशाली प्रदर्शन देखिएको छ । विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिससँग सोझो सेटमा पराजय बेहोर्‍यो ।

महिला भलिबलमा दाबेदारकै दबदबा

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले नयाँ बसपार्कस्थित भलिबल कोर्ट उपलब्ध नगराएपछि न्यु डायमन्डले नैकापको आफ्नै कोर्टमा आयोजना गरेको प्रतियोगितामा बुधबार लिग चरणका खेल सकिएको छ । सहभागी आठ टोलीलाई चार समूहमा विभाजन गरी खेलाइएको थियो । समूह ‘ए’ बाट साबिक विजेता आयोजक न्यु डायमन्ड, ‘बी’ बाट टप्स स्कुल पोखरा, ‘सी’ बाट नेपाल पुलिस र समूह ‘डी’ बाट साबिक उपविजेता एपीएफ क्लबले समूह चरणमा जित पाएका छन् ।


पहिलो खेलमा समूह ‘डी’ बाट एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई ३–० को सहज सेटमा हरायो । राष्ट्रिय टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरीप्रेरित एपीएफले जावलाखेललाई २५–५, २५–१८, २५–८ को सेटमा पराजित गरेको हो ।

दोस्रो खेलमा समूह ‘ए’ बाट साबिक विजेता न्यु डायमन्डले चितवन टाइग्रेसविरुद्ध पनि ३–० कै सेटमा सहज जित निकाल्यो । घरेलु कोर्टमा न्यु डायमन्ड २५–१३, २५–१८, २५–११ ले विजयी भयो ।


प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको समूह ‘सी’ अन्तर्गत विभागीय भिडन्तमा आर्मीविरुद्ध नेपाल पुलिस सहजै विजयी भयो । आर्मीका खेलाडीको आपसी तालमेल नमिल्दा पुलिसले त्यसको फाइदा उठायो । चोटका कारण युवा प्रतिभा कामना विष्ट उपस्थित नभए पनि पुलिसले २५–२१, २५–२१, २५–१८ को सेटमा खेल जितेको हो ।


समूह ‘बी’ मा पोखराको टप्स उच्चमाविले कुलेश्वरको प्यारामाउन्ट स्कुललाई २५–१४, २५–१२, २५–१० को जित निकालेको हो ।

नकआउट चरणअन्तर्गत बिहीबार क्वाटरफाइनल हुनेछ । न्यु डायमन्डले आर्मी तथा चितवनले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछन् । टप्सले जावलाखेल तथा प्यारामाउन्टले एपीएफसँग सेमिफाइनल पुग्ना लागि प्रतिस्पर्धा गर्नेछन् ।


शनिबारसम्म चल्ने प्रतियोगिता विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रोले १ लाख १ र चौथो हुनेले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीको भाग १५ हजार रुपैयाँ पर्नेछ ।

प्रकाशित : पुस २६, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?