कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जुनियर ब्याडमिन्टन : प्रिन्स र रसिला उपाधि नजिक

विनोद भण्डारी

विराटनगर — यू–१५ का शीर्ष वरीयताका प्रिन्स दाहाल र रसिला महर्जन राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको उपाधि नजिक पुगेका छन् । प्रिन्सले बिहीबार यू–१९ एकलतर्फ दोस्रो वरीयताका रुकेश महर्जनलाई २१–१३, २१–१७ ले र यू–१५ एकलतर्फ हिमाल चन्दलाई २१– ६, २१–२ ले हराएर दुवै इभेन्टको फाइनल तय गरेका छन् । 

जुनियर ब्याडमिन्टन : प्रिन्स र रसिला उपाधि नजिक

यस्तै रसिला यू–१९ एकल र युगल तथा यू–१५ गरी तीन विधामा फाइनल पुगेकी छन् । उनले यू–१९ मा रन्जना भट्टलाई २१–९, २१–१२ ले पाखा हराउँदै फाइनलमा यु–१९ की शीर्ष वरीयताकी जेसिका गुरुङसँँगको भेट पक्का गरेकी हुन् ।


जेसिकाले भने सीमा राजवंशीलाई २१–१२, २१–६ ले हराइन् । यू–१५ तर्फ रसिलाले रोज पाण्डेमाथि २१–७, २१–५ ले जित निकालिन् । यू–१९ युगलमा रसिलाले जेसिका गुरुङसँग मिलेर फाइनल तय गरिन् । उनीहरूको जोडीले सेमिफाइनलमा विष्णा विष्ट र स्मृति राईको जोडीबाट वाकओभर पाएको थियो ।


मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा यू–१९ ब्वाइज एकलतर्फ शीर्ष वरीयताका प्रफुल महर्जनले पविन लिनथेपलाई २१–११, २१–११ को सोझो सेटमा हराएर उपाधि दाबेदार भएका छन् । उनले उपाधि भिडन्तमा प्रिन्स दाहालको सामना गर्ने छन् । प्रिन्स दोहा इन्टरनेसनल जुनियर ब्याडमिन्टनका उपाधि विजेता हुन् ।


यू–१५ गल्र्समा विष्णा विष्ट घुँडामा चोट लागेर रिटायर्ड हर्ट भएपछि स्मृति राईले फाइनल यात्रा गरिन् । ५–३ को अग्रता लिइरहेको अवस्थामा विष्णालाई घुँडामा चोट बल्झेको थियो । स्मृतिले रसिलासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन् । ब्वाइजतर्फ सोही विधामा म्यानमारका ज लिन थूले नेपालका रोशन साउदलाई २१–४, २१–१५ ले हराएर उपाधिका लागि प्रिन्ससँगको भेट पक्का गरे ।


यू–१९ गल्र्स युगलतर्फ सीमा राजवंशी र नीता लम्सालको जोडी फाइनल पुगेको छ । यो जोडीले उपाधिका लागि जेशिका र रशिलाको जोडीसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । सीमाको जोडीले रन्जना भट्ट र रोज पाण्डेको जोडीलाई २१–१३, २१–१३ को अन्तरले हरायो ।


ब्वाइजतर्फ प्रफुल र रुकेश महर्जनको जोडी फाइनल पुगेको छ । महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीलाई २१–१०, २१–११ ले हराएर उपाधिका लागि म्यानमारको जोडीसँगको भेट पक्का गरेको हो । म्यानमारका ज लिन थू र थू रिनको जोडीले नेपालका पविन लिनथेप र दिवस विश्वकर्माको जोडीलाई २१–१८, २१–१४ ले हरायो ।

प्रकाशित : पुस २७, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?