फिगो र काकाको संकल्प

एएफपी

कराँची — पोर्चुगलका महान खेलाडी लुइस फिगो र ब्राजिलका सुपरस्टार काकाले बिहीबार क्रिकेटको वर्चस्व रहेको पाकिस्तानमा फुटबलको विकासका लागि ‘महान संकल्प’ गरे ।

फिगो र काकाको संकल्प

दक्षिण एसियाली देश पाकिस्तान जहाँ क्रिकेटको दबदबा छ र त्यहाँको फुटबल संघ अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट दुईपल्ट प्रतिबन्धमा परिसकेको छ ।


स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिसकेका दुई लिजेन्डले वल्र्ड सकर स्टार्स टूरअन्तर्गत पाकिस्तानको एकदिने भ्रमण गरे । जसको उद्देश्य प्रदर्शनी खेल र कोचिङ सिविरको माध्यमबाट नयाँ प्रतिभा तयार गर्नु हो ।


पाकिस्तानको दक्षिणी सहर कराँचीमा लोकप्रिय खेल क्रिकेटको ब्याट बोकेर पत्रकारसामु उपस्थित भएका सन् २००० का बालोन डी’ओर विजेता फिगो ‘उत्साही’ देखिए । ‘पाकिस्तानी फुटबलका लागि महान संकल्प भएको छ र हामी यही खेलको विकासका लागि यहाँ आएका हौं,’ सन् २००९ मा संन्यास लिनुअघि बार्सिलोनाबाट खेलेका फिगोले भने ।


अर्कोतर्फ काकाले क्रिकेट बल बोकेका थिए । दुवैले विश्वस्तरमा फुटबल प्रवद्र्धन गर्न आफूहरू प्रतिबद्ध रहेको सुनाए ।

‘हामीलाई पाकिस्तानप्रति एउटा राम्रो छाप छ,’ २०१७ मा संन्यास लिनुअघि इटलियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेलेका र २००७ का फिफा बालोन डी’ओर जितेका काकाले भने ।


सन् १९७० को सुरुआतसम्म पाकिस्तान एसियालीस्तरमा शीर्ष १० भित्र रहन्थ्यो । तर अहिले त्यो इतिहास भइसकेको छ । सरकारी बेवास्ता र कमजोर पूर्वाधारका कारण पाकिस्तान फिफा वरीयातामा १९९ औं स्थानमा छ ।


पाकिस्तान सन् १९९५ र २०१७ मा फिफाद्वारा प्रतिबन्धमा परिसकेको छ । फिफाले आफ्नोमातहतका संघहरूमा सम्बन्धित देशको सरकार तथा न्यायिक हस्तक्षेप भएको स्वीकार गर्दैन ।


पछिल्लो प्रतिबन्ध सन् २०१८ मा हटाइएको थियो । यद्यपि गत महिना नेतृत्वका लागि भएको चुनावको नतिजालाई संघका प्रमुखले अस्वीकार गरेका छन् । दक्षिण एसियाली देशको करिब २० करोड जनताका लागि सबैभन्दा प्रिय क्रिकेट नै हो । जसले गर्दा पकिस्तानले अहिलेसम्म फिफा विश्वकपमा स्थान बनाउन सकेको छैन ।


सन् २०१७ मा ब्राजिलियन महान् खेलाडी रोनाल्डिन्होसहित ८ अन्तर्राष्ट्रिय सुपरस्टारको भ्रमणले साबित गरिदिएको छ कि यस देशमा फुटबलको लोकप्रियता फर्कंदै छ । युवाहरू क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र लुका मोड्रिचलाई मनपराउँछन् ।

फिगो र काकाले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाद्वारा संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ बनाउने फिफाको योजनाप्रति समर्थन गरेका छन् ।


‘यसको मतलब ‘धेरै खेलाडी धेरै अवसर,’ फिगोले भने । र, काकाले उद्घोष गरे– पाकिस्तान यस अवसरलाई सदुपयोग गर्दै छिट्टै विश्वकपमा देखिनेछ ।


पाकिस्तान फुटबल टिमका कप्तान सद्दाम हुसेनले पनि फिगो र काकालाई भेट गरेका छन् । कराँचीमा दुवै सुपरस्टारले युवा प्रसंसकलाई अटोग्राफ दिएको र सेल्फी दिए । कराँचीपछि यी दुई लाहोर जानेछन् । उनीहरू अप्रिल २३ देखि २६ सम्म हुने प्रदर्शनी खेल र प्रशिक्षण सिविरका क्रममा पनि पाकिस्तान फर्कने छन् ।

प्रकाशित : पुस २७, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?