कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपाधि जित्न सुदूरपश्चिमको भर

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — भलिबल कप्तान जनक खड्का डोटीका स्थायी बासिन्दा हुन् । तर उनी अधिकांश राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा महेन्द्रनगर र धनगढीको नेतृत्व गर्छन् । उनको खेल त्यतिमा मात्र सीमित छैन । सुर्खेतको चुली युथ क्लबको कप्तानी जिम्मा पनि उनैमा छ । 

उपाधि जित्न सुदूरपश्चिमको भर

उनीमात्र होइनन्, कर्णाली प्रदेशका अधिकांश भलिबल टिमको नेतृत्व गर्ने खेलाडी सुदूरपश्चिमका हुन्छन् । सुदूरका खेलाडीकै कारण कर्णालीका टिमले धेरैपल्ट उपाधि जितेका छन् । यहाँका टिममा कप्तानमात्र होइन, खेलाडी पनि सुदूरकै हुन्छन् । जनकले नेतृत्व गर्ने सबै टिममा सुदूरकै खेलाडी आधाभन्दा बढी छन् । अन्य खेलमा पनि कर्णालीका टिममा सुदूरपश्चिम प्रदेशकै खेलाडी हाबी हुन्छन् ।


सुर्खेतको चुली युथ क्लबले जुनसुकै प्रतियोगिता खेल्दा पनि उनीहरू सहभागी हुँदै आएका छन् । कर्णाली प्रदेशका सबैजसो जिल्ला गएर खेलेका उनी पछिल्लो समय रुकुम र जाजरकोट पुगे । जनकसँगै सुदूरका पाँच खेलाडीले दुवै ठाउँका प्रतियोगितामा उपाधि जिते ।


२०७३ सालयता जनक नेतृत्वको टिमले रुकुम, जाजरकोट, सुर्खेत र दैलेखमा चुली युथलाई उपाधि जिताइसकेको छ । ‘एकपल्ट खेल्दा यातायात र खाना खर्चबाहेक १५ हजार रुपैयाँभन्दा बढी पारिश्रमिक लिने गरेको छु,’ उनले सुनाए, ‘अधिकांश प्रतियोगितामा उपाधि जिताएकाले कर्णालीका क्लबले मप्रति विश्वास गरेका छन् ।’


सुदूरपश्चिमका भैरव बम, नरेन्द्र गिरी, दीपकराज जोशीलगायत खेलाडी कर्णालीका टिममा लोकप्रिय छन् । जनकले सुर्खेतको विचार आदर्श क्लबमार्फत आफ्नो पहिचान बनाएका थिए । त्यसपछि उनी निरन्तर चुली युथमा अनुबन्धित छन् । ‘यही क्लबमार्फत धेरै जिल्लामा आफ्नो प्रतिभा देखाउने अवसर पाएको छु,’ उनी भन्छन्, ‘कर्णालीमा आएर सुदूरपश्चिमको इज्जत राख्न पाउँदा गर्व लागेको छ ।’ कर्णालीमा खेलाडी राम्रा भए पनि दक्ष खेल प्रशिक्षकको अभाव रहेको उनको बुझाइ छ । उनका अनुसार मैदान, अवसर, सम्मानजस्ता खेलाडीलाई अब्बल बनाउने कुनै क्षेत्र नहुँदा कर्णाली खेलक्षेत्रमा पछाडि परेको हो ।


नेपाल भलिबल संघका केन्द्रीय सदस्य मंगल श्रेष्ठका अनुसार कर्णालीमा दुई भलिबल प्रशिक्षक भए पनि उनीहरूले अन्य पेशालाई महत्त्व दिएका छन् । प्रशिक्षकहरू राष्ट्रिय खेलकुद र सरकारी तलब खानमात्र केन्द्रित भएकाले दक्ष खेलाडी उत्पादन हुन नसकेको उनी बताउँछन् । ‘दक्ष प्रशिक्षक र प्रतिस्पर्धा नहुँदा खेलाडी पलायन हुने क्रम बढ्दो छ,’ उनले भने, ‘आर्थिक समस्याका कारण पनि खेलाडी टिक्न सकेका छैनन् ।’ उनका अनुसार कर्णालीमा खेलाडीको सम्मान नहुँदा पनि बाहिरी जिल्लाबाट भाडामा ल्याउनुपर्ने बाध्यता छ । उनले अझै पनि कर्णालीको खेल चन्दाका भरमा सञ्चालन चलिरहेको सुनाए ।


जिल्ला फुटबल संघ सुर्खेतका महासचिव गणेश कार्कीले प्रतिभा, पूर्वाधार, प्रशिक्षण, प्रतिस्पर्धा र पुरस्कारले खेलकुदको विकास गरेको बताए । ‘प्रदेश राजधानी सुर्खेतमै खेलमैदान नहुँदा अधिकांश प्रतियोगिता पेन्डिङमा छन्,’ उनले भने, ‘खेल प्रशिक्षक र पूर्वाधारकै अभावबीच पनि केही खेलाडी सक्रिय छन् ।’ कर्णाली प्रदेश सरकारले गत वर्ष रंगशाला निर्माणका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको थियो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । सुर्खेत रंगशालामा खेलभन्दा पनि मेला महोत्सव बढी हुने गरेको उनी बताउँछन् ।


चुली युवा क्लबका अध्यक्ष महेश जिसीले ५ वर्षअघि स्थापित क्लबले कर्णालीका सबै जिल्लाका खेलाडी सहभागी गराएको बताए । उनले खेलक्षेत्रमा राजनीति हाबी हुँदा पनि समस्या भइरहेको जनाए । बाहिरका खेलाडी ल्याउनु आफूहरूको बाध्यता रहेको उनी गुनासो गर्छन् ।


नेपाल भलिबल संघका सचिव तथा राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले अरु क्षेत्रको तुलनामा कर्णाली खेलक्षेत्रमा पछाडि परेको सुनाए । उनका अनुसार कर्णालीमा हुने अधिकांश खेलमा सुदूरका तीन दर्जन बढी खेलाडी विभिन्न टिमबाट समावेश हुने गरेका छन् । प्रदेश र स्थानीय सरकार खेलक्षेत्रको विकासमा गम्भीर हुनुपर्ने उनको जोड छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?