२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बालबालिकालाई नि:शुल्क खोखो प्रशिक्षण

साना नानीले राम्रो सिके भने भोलिका दिनमा राष्ट्रिय खेलाडी बन्न सक्छन् । ठूलाहरू उमेर ढल्किँदै जाँदा अल्छी हुन्छन् ।
मधु शाही

दाङ — प्रशिक्षक उषा कुँवर भण्डारी धेरै बालबालिकामाझ खोखो खेल सिकाउन पाए दंग मान्छिन् । ‘खोखो खेल्न आए पुग्छ, शुल्क तिर्नुपर्दैन,’ उनले सुनाइन्, ‘खेल्न आउँछन् भनेरै सित्तैमा सिकाउँदै छु ।’ दाङ उपमहानरपालिका–१६ की २६ वर्षीया उषाले झन्डै ५ वर्षयता नि:शुल्क स्कुलस्तरीय खोखो प्रशिक्षण दिँदै आएकी छन् ।

बालबालिकालाई नि:शुल्क खोखो प्रशिक्षण

उनको खोखो यात्रा पनि स्कुलबाटै सुरु भएको हो । भारतमा अध्ययन गर्दा उनले स्कुलमै खोखो प्रशिक्षण पाइन् । नेपाल आएपछि कलेजस्तरीय खोखो प्रतियोगितामा सहभागी भइन् । त्यसपछि वडास्तरीय हँुदै जिल्ला र राष्ट्रिय स्तरको खेलाडी बन्न सफल भएको उषाले बताइन् । राष्ट्रियस्तरको खोखोमा उनले कांस्य पदक जितेकी छन् । मध्यपश्चिमकी कप्तान उषा विद्यार्थी खोखो सिक्नै भनेर आउनु आफ्ना लागि गौरवको पक्ष मान्छिन् ।


बालबालिकाले विद्यालयस्तरबाटै खेलको महत्त्व बुझ्न सके भविष्यमा परिपक्व हुन्छन् भन्ने अनुभव उषाले सिकेकी छन् । त्यसैले उनी आफैंले विद्यालयमा सिकाउने निधो गरेकी हुन् । दाङका विभिन्न ९ विद्यालयमा समय मिलाएर उनी प्रशिक्षण दिन पुग्छिन् । हिँडेरै स्कुल आउजाउ गर्छिन् । कहिलेकाहीं त गाडी चढ्ने भाडासमेत नभएको भोगाइ उनीसँग छ ।


खाजा के खाने भन्ने चिन्ता उनमा छैन । मात्रै बालबालिकाको खेल्ने समयतालिका बिराउनु हुन्न भन्ने उनको ध्यान छ । विवाहित उषाका श्रीमान् पनि खेलाडी नै हुन् । दुवै खेलाडी हुँदा घर खर्च चलाउन धौ–धौ परेपछि श्रीमान् रोजगारका लागि विदेश हानिए । उषा भने एक्लै आफ्नो खेल सीप देखाएर आत्मनिर्भर हुन चाहन्छिन् । ‘आर्थिक सहयोग गर्ने/नगर्ने स्कुलले बुझ्ने कुरा हो । मैले मागेकी पनि छैन । बालबालिकासँग सहयोग मागौं, खेल्न नआउने हुन् कि भन्ने डर लाग्छ,’ उषाले थपिन्, ‘मलाई खेल सिकाउने भोक छ । आफ्नो कला बाँड्ने अवसर त पाएकी छु ।’


उनी नि:शुल्क प्रशिक्षक बनेको ५ वर्ष पुग्यो । उनले सिकाएका स–साना नानीले खोखोमा राम्रो सम्भावना देखाउन थालेका छन् भने कतिपय राष्ट्रियस्तरका खेलाडी भइसकेका छन् । ‘ठूलाले भन्दा सानाले रमाइलो मान्दै सिक्छन्,’ उनले सुनाइन्, ‘त्यसैले स्कुलमै फोकस गरेकी छु ।’


२ देखि ५, ६ देखि ७ र ९ देखि १२ कक्षा गरी ३ चरणका विद्यार्थीको मनोभाव बुझेर खेल सिकाउने गरेको उनले बताइन् । यीमध्ये उषा साना कक्षामा पढ्ने बालबालिकाप्रति बढी आशावादी हुन्छिन् । उनीहरूलाई विशेष महत्त्वसाथ सिकाउने गर्छिन् । किनभने ठूला खेलाडी एक–दुई वर्षपछि खेल्न छाड्ने गर्छन् तर साना खेलाडी पछिसम्म खेलिरहन्छन् भन्ने उषाको अनभुव छ । ‘साना नानीले राम्रो सिके भने भोलिको राष्ट्रिय खेलाडी बन्न सक्छन्,’ उनले भनिन्, ‘ठूला खेलाडी उमेर ढल्किँदै जाँदा अल्छी हुन्छन् ।’ उनले सिकाएका केही युवा राष्ट्रिय स्तरमा पुगिसके ।


दाङमा नि:शुल्क खोखो प्रशिक्षण दिँदै आएकी उषा कुँवर । तस्बिर : मधु/कान्तिपुर


दाङ जिल्ला खेलकुद विकास समितिले दुई महिनाका लागि उनलाई क्षेत्रीय स्तरको खोखो खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । सन् २०१० मा आफूले भारतबाट खोखो खेल सिकेर आएको उनले बताइन् । नेपाल फर्केपछि उषाले विद्यार्थीमा आफ्नो सीप र ज्ञान हस्तान्तरण गर्न चाहिन् । स्कुलमा गइन् र नि:शुल्क प्रशिक्षणको चाँजोपाँजो मिलाइन् । खोखो सिकाउने नसामा उषाले घरको सम्बन्ध तीतो बनाउनुपर्‍यो ।


चुलो–चौको गर्न नभ्याउने, महिनामा तलब नल्याउने, बुहारी आचरण नदेखाउने भन्दै आफन्तले साथ दिन छाडे । घरबाट निकालिएकी उषा एक्लै बस्छिन् । तर, खोखो सिकाउन भने छाडेकी छैनन् । ‘अरूले के भन्छन् भनेर सुन्दिनँ,’ उनले भनिन्, ‘मलाई जे गर्दा आनन्द लाग्छ, त्यही गर्छु । खोखो नसिकाई बस्नलाई मनै मान्दैन ।’


उषाका विचारमा खोखो सस्तो खेल हो । दुईटा पोल र थोरै चुना भए खेल्न सकिन्छ । पछिल्लो समय खोखो खेलमा चासो देखाउने युवापंक्ति बढेको छ । यद्यपि सिकाउने मान्छेको भने कमी छ । त्यसैले उषाले विद्यालयमा शिक्षकको अभाव हुन नदिन नि:शुल्क खोखो सिकाउँदै आएको बताइन् । नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा खोखोमा सहभागिता जनाएको थियो । नेपालले महिला–पुरुष दुवैबाट कांस्य पदक जितेको थियो ।

प्रकाशित : पुस २८, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?