कथा एम्पुटी फुटबलरको

कुशल तिमल्सिना

काठमाडौँ — विनोद मगरातीको जीवनमा २०७४, असोज २८ को दिन ठूलो वज्रपात बनेर आयो । जब वैदेशिक रोजगारीका क्रममा उनी साउदी अरेबियाको जेद्दामा दुर्घटनामा परे ।

कथा एम्पुटी फुटबलरको

काठमाडौं तारकेश्वर–२ साङलेखोलाका उनको साउदी पुगेको दुई सातामै सवारी दुर्घटना परेपछि एउटा खुट्टा काट्नुपर्‍यो । अर्को खुट्टा पनि पहिलेजस्तो भएन । सोचे, ‘अब जीवन सकियो ।’ पाँच वर्षे सन्तानका पिता विनोदले सुनाए, ‘६ महिनाजति त मेरो रोएरै बित्यो । साउदीको अस्पतालमा हुँदा नेपालबाट परिवारले फोन गथ्र्यो । म बोल्नै सक्दिनँथें ।’


तीन महिना साउदीमै उपचार गरी नेपाल फर्केपछि शिक्षण अस्पतालमा धाए । एक वर्षमा उनी हिँड्न सक्ने बने । ‘सुरुमा त म खुसी भएँ कि म जीवितै छु ।’ २७ वर्षीय विनोदले भने, ‘जब घाउ निको हुन थाल्यो बल्ल म होसमा आएजस्तो भएँ । एउटा खुट्टा (त्यो पनि कमजोर) लिएर यति लामो जीवन कसरी बिताउने ? झन्डै डिप्रेसनको सिकार भइसकेको थिएँ ।’


जसको कोही हुँदैन, उसको साथ भगवान् हुन्छ । त्यस्तै भयो । एक वर्षसम्म घरमै बसेर शारीरिकसँगै मानसिक रूपमा पिल्सिएका विनोदले मंसिर १७ को अन्तर्राष्ट्रिय अपांगता दिवसको प्रभातफेरीमा आफूजस्ता सयौं भेटे । तीमध्ये एक थिए, जुम्लाका मदनमान सिंह रोकाय । जो विनोदजस्तै एम्पुटी युवाको खोजीमा थिए । एम्पुटी अर्थात एक खुट्टा वा एक हात काटिएका ।

०००


चोट एकै, व्यथा फरक । स्याङजा मोहनडाँडा (भीरकोट नगरपालिका) का चेतनारायण खनाल ९ वर्षको हुँदा खेल्ने क्रममा लागेको चोट बेवास्था गर्दा दाहिने हात काट्नुपर्‍यो । खेल्ने–पढ्ने उमेरमा एउटा हात गुमाउनुपर्दाको पीडा उनी शब्दमा बयान गर्नै सक्दैनन् । ‘चोट लागेको भोलिपल्ट पोखराको मणिपाल अस्पताल ल्याउँदासम्म म बेहोस भइसकेको रहेछु । ३६ घण्टापछि होस आउँदा मेरो हात थिएन, धेरै रोएँ ।’ पुल्चोकको त्रिपद्य विद्याश्रम माविमा १० कक्षामा अध्ययनरत चेतनारायणले भने ।


१८ वर्षको उमेरसम्म उनले आफूलाई अपांग महसुस गर्नुपरेको छैन । हात काटिएको हो, मन काटिएको छैन र आँट काटिएको छैन । यस्तै आँट र हिम्मतले उनी एम्पुटी फुटबलमा जोडिएका छन् । एम्पुटी फुटबलको नियमअनुसार उनले गोलरक्षक हुन पाउँछन् । अरु पोजिसनमा खेल्ने छुट छैन ।

०००


सरकार र तत्कालीन नेकपा माओवादीबीचको १० वर्षे युद्धका क्रममा १७ हजार मानिस मारिए । जीवनभर चोट बोकेर मरेतुल्य जीवन व्यतित गरिरहेकाको तथ्यांक सरकारसँग नै छैन । विद्रोहीसँग हुने कुरै भएन । कोही बम विष्फोटमा परे त कोही गोली लागेर घाइते भए । अपांगता भए पनि फौजी जीवनमा रमाइरहेका सैनिकहरूले पनि जीवनको नयाँ लय भेट्टाएका छन् । तीमध्ये टोलीका कप्तान नेपाली सेनाका अमलदार मुकुन्दबहादुर ढुंगाना पनि हुन् । युद्धका क्रममा खुट्टा गुमाएको उनले करिब १५ वर्षपछि जीवनको नयाँ लय भेट्टाए ।

०००


दोलखाका २३ वर्षे सुजन कार्कीको अवस्था अझै दर्दनाक छ । ४ वर्षको छँदा सवारी दुर्घटनामा पर्दा उनको खुट्टा काटियो । जन्मजात सुन्न र बोल्न नसक्ने उनलाई जीवनको पूर्वाद्धमै अर्को नियतिले ठग्यो । नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत सुजनको परिवारमा दुई दाइ र दुई दिदीसहित ७ जना छन् । आमाबाहेक सबै अपांगता भएका । सबैले बोल्न र सुन्न सक्दैनन् । निम्नवर्गीय परिवारका लागि यो भन्दा कठोर नियति अरु के होला ।


फेसबुकबाट एम्पुटी फुटबलबारे जानकारी पाएका उनले त्यहीमार्फत सोसाइटीमा सम्पर्क गरे । अग्रपंक्तिमा उनको प्रदर्शन बेजोडको छ । तर, संचारको समस्याले टिमका अरु खेलाडीसँग तालमेल बिग्रिएको छ । उनको टोली रेड नेपाल प्रतियोगिताको फाइनलमा पुग्दा उनैको प्रदर्शन निर्णायक थियो ।

०००


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको पारा राष्ट्रिय च्याम्पियनसिप–२०७५ अन्तर्गत एम्पुटी फुटबल प्रतियोगिता ललितपुरमा शुक्रबार सुरु भएको छ । नेपाल एम्पुटी स्पोर्टस सोसाइटीले आयोजना गरेको प्रतियोगितामा सहभागी खेलाडीहरू फरक–फरक स्थानको प्रतिनिधित्व गरे । तर उनीहरूको पीडा एकै छ । सबैको एउटा खुट्टा काटिएको छ । गोलरक्षकको कम्तीमा एउटा हात छैन । गम्भीर दुर्घटनापछि बौरिएको नयाँ जीवन सार्थक बनाउने प्रयासको पहिलो खुटकलोमा छन् उनीहरू ।


के हो एम्पुटी फुटबल

‘एम्पुटी’ को नेपाली अर्थ काटिएको भन्ने हुन्छ । अर्थात हात वा खुट्टा काटिएको । दुर्घटना वा अन्य कारणले खुट्टा काटिएर अपांगता भएका युवालाई समेटेर खेलाइने फुटबल नै एम्पुटी फुटबल हो । गोलीगाँठाभन्दा माथि काटिएको र एउटा हात काटिएका व्यक्ति एम्पुटी फुटबल खेल्न योग्य हुन्छन् । हात काटिएकाले चाहिँ गोलरक्षक मात्र बन्न पाउँछन् । दुवै खुट्टा काटिएकाको हकमा एउटा कृत्रिम खुट्टा लगाएर खेल्न सकिन्छ ।


अन्तर्राष्ट्रिय नियमअनुसार एउटा टिममा गोलरक्षकसहित ७ खेलाडी हुन्छन् । गोलरक्षकबाहेकका खेलाडीले ‘एल्बो क्रचेज’ को सहाराले खेल्नुपर्छ । खेलका क्रममा नियोजित रूपमा ‘एल्बो क्रचेज’ को प्रयोग गर्न पाइँदैन ।


एम्पुटी फुटबल मैदान ६० मिटर लामो र ४० मिटर चौडा हुन्छ । ५० मिनेटको खेल हुन्छ, जसलाई २५/२५ मिनेटको दुई हाफ हुन्छ । बीचमा १० मिनेटको विश्राम हुन्छ । गोलरक्षकले पेनाल्टी एरियाबाट बाहिर निस्कन पाउँदैनन् । बाहिर निस्किएर बल छोएमा रातो कार्ड देखाइने छ भने विपक्षीलाई पेनाल्टी अवसर दिइनेछ ।


एम्पुटी फुटबल पारा खेलकुदभित्र पर्दैन । त्यसैले ओलम्पिक वा एसियाली खेलकुदजस्ता महादेशीय प्रतियोगितामा यो समावेश छैन । तर, सन् १९८४ देखि नै एम्पुटी फुटबलको विश्वकप आयोजना भइरहेको छ । पछिल्लो पटक सन् २०१८ मा मेक्सिकोमा विश्वभरका २३ टोलीसम्मिलित एम्पुटी फुटबल विश्वकपको उपाधि अंगोलाले जितेको थियो । टर्की उपविजेता र ब्राजिल तेस्रो भएका थिए ।


सामाजिक पारस्परिकता, आत्मसम्मान र आत्मविश्वास बढाउने तथा विशेष रूपले मनोरन्जन प्रदान गर्ने उद्देश्यले खोलिएको विश्व एम्पुटी फुटबल फेडेरेसन (वाफ) को सदस्यता नेपालले पाइसकेको छैन । वाफकै सदस्यताका लागि हो यो राष्ट्रिय प्रतियोगिता आयोजना भएको । यद्यपि वाफले नेपालमा पनि एम्पुटी फुटबल खेलिन्छ भनेर प्रमाणित गरिसकेको छ ।


जुम्लाका मदनमान रोकायको पनि एउटा खुट्टा छैन । बाँकेमा एउटा खुट्टाले साइकल चलाएर जीवनयापन गरिरहेका उनी एम्पुटी स्पोर्टस सोसाइटी नेपालका अध्यक्ष हुन् । ‘मेरा एक साथीले मेक्सिकोमा यस खेलबारे थाहा पाएछन् । उनले मजस्ता अपांगता भएकाका लागि सुहाउँदो हुन्छ भनेपछि बल्ल मैले यसबारे थाहा पाएँ,’ अध्यक्ष रोकायले भने, ‘पछि युट्युबमा खोजेर हेर्दा त वषौंदेखि यो खेल खेलिँदो रहेछ ।’


मदनमानले देशभरका २० जना आफूजस्तै व्यक्ति जम्मा पारेर खोलिएको सोसाइटी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको १ वर्ष पनि भएको छैन । ‘सुरुमा हामीलाई मनोवैज्ञानिक रूपमा खेलाडीलाई तयार पर्न कठिन भयो । उनीहरू आफ्नो पीडा सकेसम्म देखाउन नचाहने, अरुले केही भन्लान् भनेर सार्वजनिक हुन नचाहने,’ उनले एम्पुटी फुटबलको सुरुआती दिन सम्झिए, ‘मैले हरेकलाई भेटेर युट्युबमा खेल देखाएर बुझाएँ, खेल्न थालेपछि उनीहरू आफैं हौसिएका छन् ।’


प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद्ले ५० हजार रुपैयाँ बजेट दिएको छ । जसका कारण काठमाडौं आसपासमा रहेका एम्पुटी खेलाडीमात्रै समेटिएका छन् । ‘कैलाली, बाँके, सुर्खेतका टिम बजेटकै कारण समावेश गर्न सकिएन,’ अध्यक्ष रोकायले भने ।

सोसाइटीको अबको लक्ष्य विश्वकप खेल्नु हो । वाफ सदस्यता लिनु त्यसको पहिलो खुटकलो हो । अहिलेसम्म एम्पुटी फुटबलको राष्ट्रिय टिम बनेको छैन । ‘यो प्रतियोगितामार्फत हामी राष्ट्रिय टिम छनोट गर्छौं, एसियाली स्तरका प्रतियोगितामा सहभागी भई हामी २०२२ मा हुने एम्पुटी फुटबल विश्वकपका लागि तयारी गर्नेछौं ।’


दुर्घटनाबाट थलिएर अपांगता जीवन विताएकाहरू एम्पुटी फुटबलरहरूका लागि विश्व मञ्चमा आफूलाई प्रमाणित गर्ने उपयुक्त अवसर बनेको छ । हामीले कुरा गरेका सबै खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउने सपना सुनाए ।


गोलरक्षक चेतनारायणले राष्ट्रिय टोलीमा छनोट हुने लक्ष्य सुनाए । ‘अपांगता भएकै कारण मैले आफूलाई कहिल्यै कमजोर महसुस गरिनँ र छैन पनि,’ एसईई परीक्षा तयारीमा रहेका खनालले भने, ‘मेरो लक्ष्य एम्पुटी टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने हो । त्यसका लागि राष्ट्रिय टोलीमा पर्न मिहिनेत गर्छु, पढाइलाई पनि निरन्तरता दिनेछु ।’


मुकुन्दबहादुरलाई भने यस खेलबारे पहिल्यै जानकारी नभएकोमा पछुतो छ । २०६१ सालमा उदयपुरमा विद्रोहीको गोली लागेर एउटा खुट्टा गुमाएका उनले भने, ‘फौजीमा रहेर पनि देशको सेवालाई निरन्तरता दिन नसक्नुमा ग्लानी लागिरहेका बेला यो खेलले हामीलाई नयाँ उर्जा दिएको छ । लडाइँको मैदानबाट होइन फुटबलको मैदानबाट देशको सेवा गर्ने अवसर जुटेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उत्सुक छु ।’


सुरुआत भएको छ । देशैभरका एम्पुटीलाई समेटेर फुटबलप्रति प्रेरित गराउनु सोसाइटीको आगामी चुनौतिलाई सहज रुपमा स्वीकारेका छन्, अध्यक्ष रोकायले । ‘चार वर्षभित्र नेपाललाई विश्वकप खेल्ने सपना साकार पार्न धेरै गर्न बाँकी छ । हामीलाई सरकारी सहयोग अपरिहार्य छ,’ उनले भने ।

प्रकाशित : पुस २८, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?