पुलिससँग च्याम्पियन मनाङ पराजित

मोहन बुढाऐर

धनगढी — लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिससँग च्याम्पियन मनाङ पराजित

अघिल्लो साता मात्र राजधानीमा सहिद स्मारक लिग जितेको मनाङलाई पुलिसले १–० ले स्तब्ध पार्‍यो ।


निकै प्रतिस्पर्धात्मक खेलको ६८ औं मिनेटमा पुलिसका नीरकुमार राईले गरेको प्रहार निर्णायक साबित भयो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई नीरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरेका थिए ।


पुलिसले छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । मनाङ सीधै बाई पाएर क्वाटरफाइनलमा पुलिससँग भिडेको हो । लिगमा मनाङसँग १–० को हारको बदला पुलिसले लिएको छ । ११ औं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्डबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे ।


२९ औं मिनेटमा तीर्थ रानाले २५ यार्डबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट वञ्चित भयो । ८० औं मिनेटमा मनाङका अब्दु करिमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । पराजित टोलीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताए । निर्णायक गोल गरेका नीरकुमारले खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।


पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीबीचको विजेतासँग खेल्नेछ । धाउफिन्स प्रतियोगितामा सहभागी हुन नेपाल आइसकेको जानकारी प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले दिए । सोमबार तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्रीस्टार भिड्दैछन् ।

प्रकाशित : पुस ३०, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?