१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

थ्रीस्टार सेमिफाइनलमा

मोहन बुढाऐर

धनगढी — रुस्लान थ्रीस्टार क्लब तेस्रो नेपाल आइस अन्तर्राट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चकारी प्रतिस्पर्धामा थ्रीस्टार ललितपुरकै च्यासल युवा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

थ्रीस्टार सेमिफाइनलमा

निकै रोमाञ्चक प्रतिस्पर्धाको अन्तिम तीन मिनेट समय बाँकी रहँदा थ्रीस्टारका लागि रूपेश केसीले निर्णायक गोल गर्ने अवसर पाए । उनले गरेको हेडर निर्णायक भयो । च्यासलका गोलरक्षक दिनेश थापामगरले सुनील बलको क्रसमा रूपेशको हेडर बचाउने प्रयास गरे पनि आफ्नै डिफेन्डर बाधक बने ।


खेलमा निर्णायक गोल गरेका थ्रीस्टारका रूपेश केसी आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतिस्पर्धामा दोस्रो हाफपछि दुवै टिम आक्रमण शैलीमा उत्रेका थिए । ५८ औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार अनन्तले ब्लक गरेपछि आएको रिबाउन्डमा सन्तबहादुर गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।


सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरेर बचाए । १९ औं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो ।


२८ औं मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टको भित्रिभागमा लाग्दै फर्कियो । ३९ औं मिनेटमा थ्रीस्टारका अनन्त तामाङले झन्डै २५ यार्डबाट गरेको प्रहार गोलरक्षकले सजिलै बचाए । ८१ औं मिनेटमा रञ्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्कियो ।


विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेका कारण नै जित हासिल गरेको बताए । थ्रीस्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । मंगलबार अन्तिम क्वाटरफाइनलमा सीएमजी क्लब संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्दैछ ।


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका दुवै टिम जितको खोजीमा थिए । लिगमा थ्रीस्टार तेस्रो र च्यासल आठौं स्थानमा रहेका थिए । लिगमा दुवै टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।


थ्रीस्टार बाई पएर क्वाटरफाइनलमा पुगेको थियो । च्यासल दिल्ली एफसीलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेको थियो । विदेशी खेलाडी अर्मान्ड मोएनको आगमनमा बलियो देखिएको च्यासललाई रोक्नुपर्ने चुनौती थ्रीस्टारलाई थियो । प्रतिस्पर्धामा थ्रीस्टारका खेलाडीले अर्मान्डलाई अन्तिम समयसम्म गोल गर्ने अवसर दिएनन् ।

प्रकाशित : माघ १, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?