झापा ११ विजयी

भूषण यादव

वीरगन्ज — झापा ११ ले विशाल गोल्डकपको लिग चरणअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा भारतको रोयल फुटबल क्लब सिलिगुडीलाई ४–२ गोलले पराजित गरेको छ । खेलको सुरुआतमै सिलिगुडीका खेलाडीले गरेका फल घातक सावित भएको थियो । फलबापत पाएको ‘फ्री किक’ र पेनाल्टीको सदुपयोग गर्दै झापा ११ ले अग्रता कायम गरेको थियो । 

झापा ११ विजयी

आठौँ मिनेटमा डी बक्स बाहिर पाएको फ्री किकलाई झापा ११ का आशिष चापागाईले सानदार तरिकाले गोल पोस्टभित्र छिराए । यसै गरी झापा ११ का शक्ति राईलाई सिलिगुडीका डिफेन्सका खेलाडीले लडाएपछि रेफ्रीले पेनाल्टी दिए ।

आशिषले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्दै टिमलाई बलियो स्थानमा पुर्‍याए । उक्त फलको सिलिगुडीका खेलाडीले कडा प्रतिवाद गरेका थिए । प्रतिवाद गरेबापत सिलिगुडीका गोलकिपरले पहेलो कार्डसमेत पाए । मध्याह्नसम्म सिलिगुडीका खेलाडी आक्रमक देखिए पनि गोल भने गर्न सकेका थिएनन् ।

दोस्रो हाफमा सिलिगुडीका खेलाडीले कडा प्रतिस्पर्धा गरेका थिए । ५६ औँ मिनेटमा सिलिगुडीका सिद्धान्त क्षत्रीले सानदार गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको केही बेरमै झापा ११ का खेलाडीले ‘काउन्टर एट्याक’ गर्दै टीमका लागि तेस्रो गोल गरे । झापाका शक्ति राईले सानदार गोल गरे । खेल सकिन १० मिनेट बाँकी रहँदा सिलिगुडीका ब्रयान राईले गोल गर्दै पुन टिमलाई प्रतिस्पर्धामा फर्काएका थिए । अन्तिम समयको खेलमा दुवै टिमले देखाएको आक्रमकताले खेलमा रोमाञ्च भरिदिएको थियो ।

तर, ८६ मिनेटमा झापाका मिलन राईले दिएको पासलाई सदुपयाग गर्दै विकेश लिम्बुले टिमका लागि चौथो गोल गरेपछि अधिकांश दर्शक प्याराफिट खाली हुन थालेका थिए । सोमबार मात्र पाँचथरमा फाल्गुनन्द गोल्डकपको उपाधि जितेको झापा ११ का खेलाडीहरू लामो यात्रा गरी मंगलबार विशाल गोल्डकपमा सहभागी भएका थिए । ‘१२/१३ घण्टा यात्रा गरेका खेलाडीहरूले आराम पाएका थिएनन्,’ झापा ११ का प्रशिक्षक सन्तोष गुरुङले भने, ‘खेलाडीहरूले सोचेभन्दा धेरै राम्रो प्रदर्शन गरे ।’

झापाका कप्तान मनोज प्रधानले सबै मिलेर खेलेकाले राम्रो नतिजा आएको बताए । रोयल क्लब सिलिगुडीका प्रशिक्षक सचिन्द्र धिमालले रेफ्रीको गलत निर्णयले खेल गुमाउनुपरेको आरोप लगाए । ‘निर्णय धेरै तलमाथि भए,’ उनले भने, ‘सही निर्णय भएको भए हार स्विकार्न सजिलो हुन्थ्यो ।’ रेफ्रीको निर्णयले विदेशी टीम निरुत्साहित हुन सक्ने उनले टिप्पणी गरे ।

कप्तान अलजल अन्सारीले पनि रेफ्री र सहयाक रेफ्रीले गलत निर्णय गरेको आरोप लगाए । दुई गोल गरेका झापा ११ का आशिष चापागाई म्यान अफ द म्याच घोषित भए । उनले पाँच हजार एक सयको पुरस्कार पाए । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टोली वीरगन्ज ११ ले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : माघ २, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?