कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

८ औं राष्ट्रिय खेलकुदः पूर्वाधारको चटारो

मधु शाही

बाँके — आठौं राष्ट्रिय खेलकुदको मिति नजिकिएसँगै भौतिक पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । नेपालगन्जलाई केन्द्र बनाएर प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा पूर्वाधार निर्माण भइरहेका छन् । 

८ औं राष्ट्रिय खेलकुदः पूर्वाधारको चटारो

नेपालगन्ज आयोजनास्थलको प्रमुख शहर भएकाले यहाँस्थित महेन्द्र रंगशालालाई पहिलो प्राथमिकता दिइएको छ । रंगशाला, फुटबल मैदान, आधुनिक प्याराफिट, पौडी पोखरी, सुटिङ हल, भारत्तोलन, एकेडेमी निर्माण भइरहेको छ । गत वर्षदेखि सरकारले उक्त काम जिम्मा दिएको थियो । मिति नजिकिँदा काम सक्ने चटारोमा खेलकुद परिषद् छ । यतिबेला नेपालगन्जलगायत विभिन्न स्थानका निर्माण कार्य रातदिन लागेर भइरहेका छन् ।


कुनै निर्माण कार्य ८० प्रतिशतसम्म मात्रै सम्पन्न भएका छन् । कहीं सुरु हुँदैछन्, जसले फागुनसम्म सम्पन्न हुन सक्ने अवस्था छैन । समय सकिन लागेपछि काम तीव्र पारिएको छ । हतारको निर्माण कार्यले आयोजना भइहाले पनि खेलाडीले सुविधा सम्पन्न तरिकाले खेल्न पाउने अवस्था न्यून देखिएको छ । निर्माणाधीन खेलकुद मैदान अनुगमनमा आएका राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव केशवकुमार विष्टले निर्माण कार्य समयमै सम्पन्न नहुँदा जे जति भएको छ, त्यसैमा खेल सुरु गर्नुपर्ने बाध्यता रहेको बताए ।


‘खेल्न सक्ने न्युनतम आधार निर्माण गर्नमा जोड दिएका छौं,’ उनले सम्बन्धित प्राविधिकलाई निर्देशन दिंदै भने, ‘रातदिन नभनेर काम गर्नुस् ।’ उनी अनुगमनको सिलसिलामा नेपालगन्ज, दाङलगायत स्थानमा पुगेका थिए । अनुगमनका क्रममा निर्माणाधीन खेलकुद मैदान सक्दो छिटो पूरा गर्न निर्देशन दिएका थिए ।


राष्ट्रिय खेलकुद मिसन पूरा गर्न ०७४ सालदेखि पूर्वाधार निर्माणको काम गर्ने जिम्मा आयोजकलाई दिइएको थियो । समयमा बजेट आइनपुग्दा काम सुरु गर्न नसकिएको राष्ट्रिय खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले बताए ।


‘समयमा बजेट निकासा नभएकाले ढिला भएको हो,’ उनले भने, ‘बजेट नआएपछि काम कहाँबाट सुरु गर्ने अन्योलमा परियो ।’ अहिले निकै चासोका साथ निर्माण कार्यमा लागेको उनले बताए । प्रदेशभरि विभिन्न जिल्लामा २७ विधाका खेल प्रतिस्पर्धाका लागि भौतिक पूर्वाधार निर्माणको कार्य भइरहेको छ ।


नेपालगन्जमा सुटिङ हल निर्माण कार्य सम्झौताअनुसार ९० प्रतिशत, फुटबल मैदान ७५ प्रतिशत, लमही क्रिकेट मैदान दाङमा ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको परिषद्ले जनाएको छ । त्यस्तै, बेलझुन्डीमा एथलेटिक्स ट्रयाक एन्ड फिल्ड निर्माणको कार्य पूरा भएको छ । अहिले प्याराफिट र ग्राभेलको काम सुरु गरिएको छ ।


कोहलपुरमा क्रिकेट मैदानको पिच निर्माण सम्पन्न भएको छ । नेपालगन्जमा पौडी पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवामा गत वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम सुरु गरिए पनि हालसम्म कुनै प्रगति नभएको ओलीले बताए ।

प्रकाशित : माघ २, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?