विशाल स्मृति गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

भूषण यादव

वीरगन्ज — घरेलु टोली वीरगन्ज–११ लाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरी ए डिभिजन क्लब हिमालयन शेर्पा विशाल स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विशाल स्मृति गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

ए डिभिजन लिगमा सातौं भएको शेर्पा नकआउट प्रतियोगितामा यो सिजन पहिलो पटक फाइनलमा पुगेको हो ।


नियमित समयमा एक एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा खेलको नतिजा निर्धारण गरिएको थियो । जहाँ वीरगन्जमा दुई खेलाडीको प्रहार शेर्पाका गोलरक्षक किशोर गिरीले रोकेका थिए ।


झन्डै १८ वर्षपछि ठूला प्रतियोगिताको सेमिफाइनल खेलेको वीरगन्ज–११ ले अन्तिम समयसम्म ए डिभिजन क्लबलाई कडा चुनौती दिएको थियो । हालै ए डिभिजन लिग खेलेको शेर्पा टिमसामु वीरगन्ज अनुभवहीन देखियो ।


पेनाल्टीमा वीरगन्जका कृष्ण शाक्य, शिशास थापा, कृपाकान्त चौधरीले गोल गरेका थिए । अभय सिंह र रञ्जय चौधरीको प्रहार शेर्पाका गोलरक्षक गिरीले रोके । शेर्पाका विजय श्रेष्ठ, युट्रिच सिवी, प्याट्रिक गोहा, रवि थापाले गोल गरे । विश्वास श्रेष्ठको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।


यसअघि गोलरहित बनेको पहिलो हाफमा गोलका केही अवसर दुवैले गुमाएका थिए । यद्यपि उल्लेख्य घरेलु दर्शकको साथबाट हौसिएको वीरगन्जले पहिलो हाफमा शेर्पालाई दबाबमा राखेको थियो । वीरगन्जले पहिलो हाफमा गोलका उत्कृष्ट तीन अवसर खेर फालेको थियो ।


दोस्रो हाफमा पनि वीरगन्जले नै अग्रता बनायो । ५६ औं मिनेटमा कप्तान कृष्ण शाक्यको क्रसमा काजिम भुसारीले पेनाल्टी एरियाबाट उत्कृष्ट हेडर गोल गरेका थिए । अग्रता बनाएपछि वीरगन्ज रक्षात्मक बनेको थियो ।


केही मिनेट सम्हालिन नसक्दा वीरगन्जले जित हासिल गर्न सकेन । पाँच मिनेट थपिएको खेलको इन्जुरी समयमा शेर्पाका ड्याडी वुम्बो जुनियरले बराबरी गोल गरेपछि खेल पेनाल्टीमा पुग्यो । वीरगन्ज ११ का कृष्ण कार्की खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।


वीरगन्ज ११ का कोच मनोज भट्टराईले ‘ए’ डिभिजनमा खेल्ने टिमलाई आफ्ना खेलाडीले राम्रो टक्कर दिएको बताए । ‘पहिलो हाफमा जोसका साथ खेलेका हाम्रा खेलाडी दोस्रो हाफको २० मिनेटपछि थाके,’ उनले भने, ‘इन्जुरी टाइममा बराबरी हुनु दु:खद भयो ।’ वीरगन्जका कप्तान शाक्यले कम अनुभवका कारण हार्नुपरेको बताए ।


शेर्पाका प्रशिक्षक सुवास लिम्बूले वीरगन्जले कडा चुनौती दिएको स्विकारे । ‘पहिलो हाफमा हामी पूर्णत: कमजोर देखियौं, दोस्रो हाफमा रणनीति परिवर्तन गरेपछि केही सहज त भयो तर, गोल निस्कन अन्तिम मिनेटसम्म कुर्नुपर्‍यो ।’ शेर्पाले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।


आजको खेल

आर्मीविरुद्ध झापा–११

प्रकाशित : माघ ३, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?