कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खप्तड गोल्डकप : थ्री–स्टार उपाधिनजिक

मोहन बुढाऐर

धनगढी — काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको टोलीलाई २–० गोल अन्तरले हराउँदै रुस्लान थ्री–स्टार क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

खप्तड गोल्डकप : थ्री–स्टार उपाधिनजिक

बुधबार धनगढी रंगशालामा पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा थ्री–स्टार २ गोल गर्न सफल भयो । ६९ औं मिनेटमा रन्जन विष्टको क्रसमार्फत बुद्ध चेम्जोङको हेडर पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका रूपेश केसीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । ११ मिनेटपछि थ्री–स्टारले अर्को गोल थप्यो ।


८० मिनेटमा सुनील वलले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट फ्रिकिकमार्फत सानदार गोल गरे । विकास राईले रन्जन विष्टलाई फल गरेपछि थ्री–स्टारले फ्रिकिक पाएको थियो ।


निकै रोमाञ्चक बनेको प्रतिस्पर्धामा काँकडभिट्टा टिमले गोल गर्ने अवसर पाएन । थ्री–स्टारले अग्रता लिएपछि काँकडभिट्टा आक्रामक बनेको थियो । तर, थ्री–स्टारको रक्षापंक्तिले गोल गर्ने अवसर दिएन ।


यसअघि १४ औं मिनेटमा सुनील वलको कर्नरमा रन्जन विष्टको प्रहार रिबाउन्ड भएपछि अडामा डुम्बियाले गरेको प्रहार काँकडभिट्टाका गोलरक्षक दीप कार्कीले बचाए । २१ औं मिनेटमा थ्री–स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ५३ औं मिनेटमा थ्री–स्टारका रूपेश केसीको भली प्रहार दीप कार्कीले बचाए । अर्कोतर्फ काँकडभिट्टाका एन्जल गुरुङको प्रहार आकाशियो ।


उत्कृष्ट प्रदर्शन गरेका थ्री–स्टारका मिडफिल्डर सुनील वल खेलको म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

थ्री–स्टारका प्रशिक्षक उज्ज्वल मानन्धरले लिगको पीडा बिर्साउन मोफसलमा सुखद सुरुवात गर्न तत्पर रहेको बताए । थ्री–स्टार सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको थियो ।


नेपालकै सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब खेल्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाख पाउनेछ । विधागततर्फ उत्कृष्टले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : माघ ३, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?