२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मनमोहन स्मृति क्रिकेट : सेमिफाइनल समीकरण पूरा

वेदराज पौडेल

इनरुवा — मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा जित निकाले पनि भारतको सुपौल टिम अभागी बन्यो । १ विकेटको पराजयका बाबजुद प्रदेश ७ नेट रनरेटमा अघि रहँदै सेमिफाइनलमा पुगेको छ । 

मनमोहन स्मृति क्रिकेट : सेमिफाइनल समीकरण पूरा

यसअघि प्रदेश ७ ले प्रदेश ५ लाई हराएको थियो । प्रदेश सातको प्लस ०.७४, सुपौलको ०.३८ रनरेट रह्यो । बुधबार इनरुवा खेल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा पराजित भए पनि रनरेटका आधारमा नतिजा आफ्नो पक्षमा पार्दै प्रदेश नम्बर ७ सेमिफाइनल पुग्ने चौथो टिम बन्यो । बिहीबार पहिलो सेमिफाइनल खेल प्रदेश ७ ले नेपाल पुलिससँग खेल्नेछ ।

विभागीय टिम नेपाल पुलिस र आर्मीसहित प्रदेश नम्बर १ ले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।

बुधबारको खेलमा प्रदेश नम्बर ७ ले दिएको १ सय ८५ रनको चुनौती भारतीय टिमले ३८ औं ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रतियोगितामा टिकिरहन सुपौलका लागि ३१ ओभरमा जित आवश्यक थियो ।

सुपौललाई जित दिलाउन सौरस गिल्लीले ४३ रनको योगदान गरे । सुमित मिश्राले २०, अजय सिंहले २८, एमडी इशाले अविजित २३ रन र विश्वजितले अविजित २० रन जोडे । प्रदेश ७ का शेर मल्लले १० ओभर बलिङ गर्दै ५३ रन दिएर ४ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ७ ले विपिन रावलको अर्धशतकको सहयोगमा १ सय ८४ रन जोडेको थियो ।

५४ बल खेलेका रावलले ५ चौका र १ छक्काको मद्दतमा ५३ रन बनाए । ४२ ओभरमा अलआउट हुनुअघि टिमको खातामा रोशन अधिकारीले २५, लोकेश बमले २२ र शेर मल्लले ११ रन जोडेका थिए । उसका अन्य ब्याट्सम्यान भारतीय बलरको सामु क्रिजमा टिक्न नसक्दा प्रदेश ७ सस्तैमा समेटिन पुगेको थियो । सुपौलका विश्वजितले ४ विकेट लिएका थिए ।

प्रकाशित : माघ ३, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?