२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

खप्तड गोल्डकप : पुलिसको कम्तीमा १० लाख पक्का

मोहन बुढाऐर

धनगढी — संकटा क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै नेपाल पुलिस क्लब बिहीबार तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनल पुगेको छ ।

खप्तड गोल्डकप : पुलिसको कम्तीमा १० लाख पक्का

निर्धारित समयको खेल गोलरहित भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।


पुलिसले सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको संकटासँगको हार बदला लिएको छ । पुलिसले लिगको अन्तिम खेलमा संकटासँग २–१ ले पराजित भएको थियो ।


टाइब्रेकरमा पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तीर्थ राना र विक्रम धिमालले पेनाल्टीमा गोल गरेका थिए । संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले मात्र गोल गरे । सुवास गुरुङको प्रहार पुलिसका वैकल्पिक गोलरक्षक रोशन खड्काले बचाए ।


पुलिसले शनिबार उपाधिका लागि थ्रीस्टारको सामना गर्नेछ । मोफसलकै सर्वाधिक धनराशिको पुरस्कार भएको खप्तड गोल्डकप विजेताले २१ लाख र उपविजेता १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । पुलिसले फाइनल पुगेसँगै कम्तीमा १० लाख पक्का गरेको छ ।

फाइनल पुग्नका कडा प्रतिस्पर्धामा उत्रेका संकटा र पुलिसको खेल रोचक बन्यो ।


दर्शकबाट दुवै टिमले उत्तिकै साथ पाएको थियो । खेलको १३ औं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तीर्थ रानाको हेडर गोल हुनबाट बचेको थियो । संकटाले २७ औं मिनटमा गोल गर्ने अवसर गुमायो । सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले वान भर्सेस वानमा गरेको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले विफल पारिदिए ।


त्यस्तै ४२ औं मिनेटमा तेज तामाङको क्रसमा अभिषेकको प्रहारलाई गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट ड्राइभ दिँदै विफल पारेका थिए । दोस्रो हाफमा सशक्त आक्रमणमा उत्रेका दुवै टिम गोल गर्न असफल रहे । संकटाले ८० औं मिनेटमा अर्काे अवसर गुमायो । सुवास गुरुङको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधनले पन्चले बचाए । पाँच मिनेटपछि पुलिसका रवि पासवानको क्रसमा नीरकुमार राईको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

प्रकाशित : माघ ४, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?