२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विशाल गोल्डकप फुटबल : आर्मी उपाधि रक्षातिर

भूषण यादव

वीरगन्ज — त्रिभुवन आर्मी क्लबले यहाँ भइरहेको दोस्रो विशाल गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार झापा ११ लाई ६–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ । शनिबार हुने फाइनलमा साबिक विजेता आर्मीले ए डिभिजन प्रतिद्वन्द्वी हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । 

विशाल गोल्डकप फुटबल : आर्मी उपाधि रक्षातिर

खेलको सुरुआतदेखि अन्त्यसम्म आर्मीका खेलाडी हाबी रहे । दोस्रो मिनेटमै आर्मीका टंक बस्नेतको पासमा टेकबहादुर बुढाथोकीले सानदार गोल गरे । १२ मिनेट नबित्दै टेकबहादुरकै पासमा सन्तोष तामाङले अर्को गोल थपे ।


पहिलो हाफको २४ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको सुरुआतमै तीन गोल खाएपछि झापाका खेलाडी दबाबमा देखिए । मध्यान्तरसम्म आर्मी ३–० ले अगाडि रह्यो । झापाले दुईपल्ट मौका पाए पनि गोल गर्न सकेन । झापाको मिडफिल्ड र डिफेन्स कमजोर देखिएको थियो ।


दोस्रो हाफको १५ औं मिनेटमा आर्मीका विवेक बस्नेतको कर्नर प्रहार पेनाल्टी बक्सभित्र रोक्ने प्रयास गर्दा लक्ष्मण बेगाले आत्मघाती गोल गरेका थिए । त्यसको चार मिनेटमै आर्मीका कप्तान भरत खवासले पेनाल्टी बक्समा मिलाइदिएको पासलाई टेकबहादुरले हेडिङबाट गोल गरे । त्यति बेलासम्म आर्मी ५–० ले अगाडि थियो । दोस्रो हाफको २४ औं मिनेटमा झापाका आशिष चापागाईंले एक गोल फर्काए । खेल सकिन दुई मिनेट बाँकी रहँदा कप्तान भरतको पासमा विवेक बस्नेतले गोल गरेका थिए ।


दोस्रो हाफमा झापाका खेलाडी केही आक्रामक देखिएका थिए । झापाका विकेश लिम्बुले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको थियो । लिग चरणमा सिलिगुढीको रोयल फुटबल क्लबलाई पराजित गरेको झापाको खेलबाट दर्शक निराश बने ।

दुई गोल गरेका आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार १ सय रुपैयाँ प्राप्त गरे । गत आइतबार पाँचथरमा सम्पन्न फाल्गुनन्द गोल्डकप फाइनलमा झापाले आर्मीलाई २–१ ले पराजित गरेको थियो ।


झापाका प्रशिक्षक प्रवेश कटुवालले लगातारको खेलका खेलाडीले आराम नपाउँदा नतिजा सोचेजस्तो नआएको टिप्पणी गरे । ‘फिदिम खेलेर रातारात यात्रा गरी वीरगन्ज आयौं,’ उनले भने, ‘लगातारको खेलले खेलाडीमा थकान स्पष्ट देखियो । तर यति धेरै गोल खाइन्छ भन्ने लागेको थिएन ।’ केही खेलाडी मोटरसाइकलमै वीरगन्जसम्म आएको उनले सुनाए ।


आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफ्ना खेलाडीले रणनीतिअनुसार प्रदर्शन गर्दा नतिजा राम्रो आएको बताए । ‘सुरुमै गोल गरेर विपक्षीलाई दबाबमा राख्ने रणनीति थियो,’ उनले भने, ‘सुरुमै गोल खाएपछि विपक्षी अगाडि आउँछ अनि काउन्टर प्रहार गर्ने रणनीति थियो । भयो पनि त्यही, राम्रो अन्तरले जित्यौं ।’


शनिबार हुने दोस्रो संस्करण फाइनलमा आर्मीले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । विजेताले ५ लाख ५५ हजार ५५ र उपविजेताले २ लाख ७७ हजार ७७ रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ ।

प्रकाशित : माघ ४, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?